Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभीमदत्तमा सहरी सडकको निर्माण सुस्त गतिमा

भीमदत्तमा सहरी सडकको निर्माण सुस्त गतिमा


कञ्चनपुर । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगरमा निर्माणाधीन सडकको काम कछुवा गतिमा चल्दा स्थानीयहरूले सास्ती भोगिरहेका छन । भीमदत्त नगरलाई आधुनिक सहर बनाउने लक्ष्यअनुसार सडक निर्माण सुरु गरिएको थियो । निर्माण सम्झौता भएको डेढ वर्ष हुँदा पनि हाल २७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

सम्झौताको म्याद सकिन अब ५ महिना मात्रै बाँकी छ । निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको भीमदत्त नगरपालिकाका इन्जिनियर गोरख बहादुर सिंहले बताए । ‘अहिले २५/२६ प्रतिशत मात्रै काम भएको छ, निर्माण कम्पनीले ढिलासुस्ती गरेको देखिन्छ,’ उनले भने, ‘कोरोनाका कारणले पनि निर्माणमा ढिलाइ भएको हुनसक्छ ।’ अहिले भने निर्माण कम्पनीले तीव्र गतिमै काम गरिरहेको उनले बताए । ‘पछिल्लो समय निर्माणको गति ठीकै छ,’ उनले भने, ‘ठेक्का भएको केही महिना कामको गति सुस्त नै थियो ।’

सडक निर्माणको जिम्मा जेडआईईसी–लामा जेभीले पाएको छ । निर्माण कम्पनीले १४ किलोमिटर सडक, २७ किलोमिटर फुटपाथ र २२ किलोमिटर ढल (नाली) निर्माण गर्नेगरी सम्झौता गरेको हो । यस्तै उक्त कम्पनीले भीमदत्तका छवटा सडकमा काम गरिरहेको छ । भाँसी–रौटेला सडक, नापी कार्यालय हुँदै वन कार्यालय जोड्ने सडक, ट्राफिक चोक–अस्पताल, भगतपुर सडक, भानुचोकदेखि मदनचोक, एयरपोर्ट रोड, आँखा अस्पताल हुँदै पार्क जोड्ने सडक, निम्बुखेडा जाने सडक र आर्दश टोलमा सडक निर्माण भइरहेको छ ।

कोरोनाका कारणले निर्माणमा ढिलाइ भएको जेडआईईसी–लामा जेभीका इन्जिनियर भुपेन्द्र सिंहले बताए । ‘करिब ६ महिना कोरोनाका कारणले काम हुन पाएन’, उनले भने, ‘अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको छ, फेरि कोरोना बढिरहेको छ, यसले केही समस्या गरेको छ ।’ कामदार नपाउँदा निर्माणमा ढिलाइ भइरहेको उनले बताए ।

‘कोरोनाका कारणले भारतीय कामदार ल्याउन पाएका छैनौँ’, उनले भने, ‘अहिले नेपाली र भारतीय गरी ४०÷४२ जना मात्रै कामदार छन् ।’ कोरोनाको जोखिम कम भए तोकिएकै समयमा काम सक्ने उनको दाबी छ । ‘कोरोनाको संक्रमण कम भयो भने हामी तोकिएकै समयमा काम सक्छौँ’, उनले भने, ‘पाँच महिनामा सबै काम सक्नेगरी निर्माण गरिरहेका छौँ ।’ दुई सडकमा कालोपत्रे गर्ने तयारी भइरहेको उनले बताए ।

‘प्रशासन र मालपोत कार्यालयअगाडिको सडकमा कालोपत्रे गर्ने तयारीमा छौँ’, उनले भने, ‘नाली निर्माणको काम पनि अन्तिम चरणमा छ ।’ जेडआईईसी–लामा जेभीले महेन्द्रनगर बजार क्षेत्रका सडक निर्माणको समेत जिम्मा पाएको छ । उक्त सडकहरूको काम भने सुरु भएको छैन् । ‘बजार गल्लीपछाडिका सडक निर्माणको जिम्मा पनि हामीले पाएका छौँ’, उनले भने, ‘ती सडकहरूको काम २÷३ महिनामै सकिन्छ, त्यहाँ थोरै काम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया