Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछ लाखको लगानीमा गोलभेँडा खेती सुरु

छ लाखको लगानीमा गोलभेँडा खेती सुरु


दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका ४ का सचिन चौलागाईंले करिब छ लाख रुपैयाँ लगानी गरी गाउँमै गोलभेँडा खेती सुरु गर्न लागेका छन् । गत वर्ष क्याप्सिकम खेती गरेका चौलागाईंले यो वर्ष भने गोलभेँडाखेती सुरु गर्न लागेका हुन् । सर्वमावी जिलुमा कृषिसम्बन्धी बाली विज्ञानमा डिप्लोमा गरेका चौलागाईं पढेको कुरालाई व्यवसायीका बनाउने उद्देश्यसहित कृषिमा लागेको बताउँछन् ।

गत वर्षदेखि कृषिमा लागेका चौलागाईंले क्याप्सिकम खेतीबाट पनि राम्रै आम्दानी गर्न सफल भएको सुनाए । भर्खरै २१ वर्ष लागेका उनले छ लाख लगानी गरेर चार रोपनीमा खेतमा खेती सुरु गर्न थालेका हुन् । गाउँका धेरैजसो युवा विदेश तथा सहरकेन्द्रित भए पनि उनलाई गाउँमै व्यावसायिक कृषिमा लगानी गरेर स्वदेशमै आत्मनिर्भर बन्न मन छ । कृषिमा लगानी गर्ने युवाहरूलाई आर्कषित गर्न राज्यले पनि लगानीमा सहुलियत दिनुपर्ने उनी बताउँछन् ।

उनले गतवर्ष नै टमाटर खेतीकै लागि कृषि ज्ञान केन्द्य्र रामेछाप र भीमेश्वर नगरपालिकाको कृषि शाखामा पटक–पटक अनुदान माग गरेका थिए । तर उनको माग सुनुवाइ नभएपछि आफैँले ऋण खोजेर गोलभेँडा खेतीको लागि चार रोपनी खेतमा २४ वटा टनेल निर्माण गरेको बताए । टमाटर खेतीको तयारी गर्दै गरेका सचिनलाई उनका मामा रमेश चौलागाईंले साथ दिएका छन् । मामा भान्जाले ५०÷५० प्रतिशत लगानी गरेर उनीहरूले आठ हजार उन्नत जातका गोलभेँडाका बिरुवा मगाएका छन् ।

गोलभेँडा खेती छोटो समयमै आम्दानी दिने र राम्रो उत्पादन दिने तथा सधैँ आवश्यक पर्ने हुँदा यसको खेती गर्न लागेको उनले बताए । फागुनमा रोपेको गोलभेँडा वैशाखमा बिक्री गर्न तयार हुने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया