Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१७ वर्षदेखि फरार निगमका सीईओलाई पक्राउ गर्न प्रहरीको आलटाल

१७ वर्षदेखि फरार निगमका सीईओलाई पक्राउ गर्न प्रहरीको आलटाल


काठमाडौं । सर्वोच्च अदालतबाट दोषी ठहर भई पक्राउ पुर्जी जारी भएका नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईलाई पक्राउ गर्न नेपाल प्रहरीले आलटाल गरेको छ ।

भट्टराईलाई प्रहरीले भेट्टाउन नसकेको फरार सूचीमा राखेर चुप लागेर बसेको छ । सीईओ भट्टराई भने काठमाडौंको बबरमहलमा रहेको सरकारी कार्यालय नेपाल वन निगममा सीईओ पदमा कार्यरत रहेका छन् । उनी दैनिक कार्यालय जाने गरेका छन् ।

उनी फरार अभियुक्त रहेकै समयमा राजनीतिक शक्तिका आडमा कानुनलाई नै नटेरी सीईओ बन्न सफल भएका थिए भने फरार अभियुक्त खुलेआम काठमाडौंको बबरमहलमा रहेको कार्यालयमा कार्य गर्दै आउँदा समेत प्रहरीले नदेखेझैँ गर्दै आएको छ ।

सीईओ भट्टराईले एसएलसी पास गराइदिने भन्दै दर्ता समेत नगरी २०५९ सालमा ललितपुरको जावलाखेलमा सगरमाथा एजुकेसन इन्स्टिच्युट खोलेर ८० जनाभन्दा बढी विद्यार्थीहरुसँग मोटो रकम उठाएर एसएलसी दिने समयमा इन्स्टिच्युट नै बन्द गरी भारत भागेका थिए । उक्त ठगीविरुद्ध पीडितहरु राजु विक्रम थापालगायत २८ जनाले ललितपुर जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका थिए ।

ठगीमा सीईओ भट्टराईसँगै कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं. ५ हसनपुर बस्ने याम तिवारी, धादिङ जिल्ला खाल्टे गाविस वडा नं. ३ घर भई हाल ललितपुर जिल्ला चापागाउँ गाविस वडा नं. २ कुशुलेचौर डेरा गरी बस्ने आकाश भन्ने मुरारी रिजाल र नवलपरासी जिल्ला अर्गली गा.वि.स. वडा नं. ८ घर भई काजिकामनपा वडा नं. २९ गल्कोपाखा बस्ने माधव गिरी समेतलाई पीडितहरुले मुद्दा हालेका थिए ।

ठगी मुद्दा जिल्ला अदालत ललितपुर हुँदै सर्वोच्च अदालतमा पुगेको थियो र सर्वोच्च अदालतका न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र चोलेन्द्र शमशेर जबराको २०६६ माघ २४ मा बसेको संयुक्त इजलासले त्यसअघि २०६३ मंसिर २४ गतेको पुनरावेदन अदालतले गरेको फैसला नै सदर गरेको थियो । पुनरावेदन अदालतले सो मुद्दामा मुख्य दोषी रामेश्वर भट्टराईलाई देखाउँदै दुई वर्ष कैद र दुई लाख ५७ हजार पाँच सय रुपैयाँ बिगो तिराउने फैसला गरेको थियो भने अन्य आरोपितहरुलाई माग दाबी नपुगेको भन्दै सफाइ दिएको थियो ।

ललितपुर जिल्ला तथा पुनरावेदन अदालतबाट २०६३ मंसिर २४ गते नै मुख्य दोषी ठहरिएर सजाय पाएका नेपाल वन निगमका सीईओ भट्टराई १७ वर्षसम्म पनि पक्राउ नपरेको विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीसँग जिज्ञासा राख्दा यस विषयमा संगठनले अध्ययन गरिरहेको र चाँडै नै पक्राउ पर्ने बताए ।

आर्थिक दैनिकको कार्यालयमा नै आएर मान्छे मार्न समेत आफू पछि नपर्ने भन्दै समाचार नलेख्न धम्की दिने सीईओ भट्टराई अहिले पनि नेपाल वन निगमको प्रमुख कार्यकारी अधिकृत पदमा कायम रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया