Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदराजको ठगी धन्दामा सरकारी निकाय मौन

दराजको ठगी धन्दामा सरकारी निकाय मौन


काठमाडौं । अलिबाबाबाट लगानी जुटाएर केमु दराज कम्पनी प्रालिको नाममा २०७३ फागुन १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपालमा सञ्चालन भएको इ–कसर्म कम्पनी दराजले निरन्तर ठगी गर्न थालेपछि उपभोक्ताहरु आक्रोशित भएका छन् ।

स्रोतका अनुसार कालोधनलाई सेतो धनमा रुपान्तरण गर्नकै लागि अनलाइन सपिङको नाममा दराज खोलेर लगानी भित्र्याएको भन्ने देखाउन यस्तो व्यापार गरिएको हो । नेपालमा कालोधनलाई सेतो धन बनाउन लगानीको रुपमा ल्याउन सहज कानुनी व्यवस्था भएकोले विभिन्न देशबाट लगानीको रुपमा त्यस्ता पैसा आउने गरेको र यसैको फाइदा उठाउँदै दराजले समेत नेपालमा व्यापार सुरु गरेको स्रोतले बतायो ।

नेपालमा अनलाइन व्यापार गर्नको लागि र त्यस्ता व्यापारको अनुगमन गर्नको लागि पर्याप्त कानुनीसँगै राज्यको संरचना समेत नभएको मौका छोपी दराजले लगानी भित्र्याएको भन्दै आफ्नो कालोधनलाई औपचारिक माध्यमबाट सेतो बनाउन लागेको स्रोतको भनाइ छ ।

यसका लागि दराजले वाणिज्य विभाग, आन्तरिक राजस्व विभाग, वकिलका साथै केही मिडियाहरुलाई समेत प्रभावमा पारेको स्रोतले बतायो । सेटिङ्गकै कारण आफ्नै नीतिअनुसार व्यापार गर्न पाएको दराजको खुलेआम ठगी धन्दामा सरकारी निकाय मौन छ । दराजको ठगी धन्दा निरन्तर जारी हुनथालेपछि उपभोक्ताहरु भने आक्रोशित हुनथालेका छन् ।

दराजमार्फत विभिन्न कम्पनीका सामानहरु छुट्टाछुट्टै बिक्रेताहरुले आफ्नो आफ्नो दररेटमा बिक्री गर्दछन् भने आफ्नो सामान बेचेर दराजलाई बिक्री गर्ने प्लेटफर्म उपलब्ध गराएबापत निश्चित रुपैयाँ कमिसनको रुपमा दिने गर्दछन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुँदा अनलाइन विज्ञापन गर्ने, सफ्टवेयर डेभलपमेन्ट गर्ने र कार्गो गर्ने भनी उद्देश्य राखेको दराजले अनलाई व्यापार गरी राजस्व छल्दा समेत आन्तरिक राजस्व विभाग बेखबरजस्तै बनेर बसेको छ ।

जुन व्यापार गर्ने हो सोहीअनुसार कम्पनीमा दर्ता हुँदा समेत उद्देश्य राख्नुपर्ने तथा व्यापारअनुसार विभिन्न सरकारी निकायमा समेत दर्ता भई अनुमति लिनुपर्नेमा दराजले आफ्नो कम्पनीको उद्देश्यविपरीत कार्य गरेको तथा वाणिज्य विभागमा समेत दर्ता नगरेको स्रोतको भनाइ छ ।

दराजको ठगी धन्दाबाट आजित भएका उपभोक्ताहरुले वाणिज्य विभागमा विभिन्न मितिमा उजुरी गरे पनि वाणिज्य विभागकै मिलेमतोमा त्यस उजुरीमाथि कुनै छानबिन भएको छैन ।

वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटेर लुकाई छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्न नपाइने उपभोक्ता संरक्षण ऐन २०७५ को कसुर र सजायसम्बन्धी व्यवस्थाको दफा ३८ को उपदफा ‘ङ’ भन्दा बाहिर गएर दराजले कार्य गर्दै आएको छ । खुलेआम देशको ऐन कानुनविपरीत हरेक दिन दराजले कार्य गर्दा समेत केही उपभोक्तावादीहरुको साथै आन्तरिक राजस्व विभागका केही उच्च कर्मचारीका र नाम चलेका वकिलका साथै केही मिडियाहरुको समेत संरक्षण पाएको दराजलाई कारबाही हुनसकेको छैन ।

दराजको ठगी धन्दाविरुद्ध यतिबेला सामाजिक सञ्जालहरुमा समेत व्यापक गुनासोहरु देखिएको छ । भनेको सामान भनेको मितिमा नल्याइदिने र ल्याए पनि सामानलाई दराजको पेपरले बन्द गरेको हुँदा तत्काल हेर्न नमिल्ने र भुक्तानी गरी पठाइसकेर हेर्दा आफूले भनेको सामानभन्दा गुणस्तरहीन भएको कमसल सामान पाउने गरेकोले उपभोक्ताहरुले आक्रोश पोखेको देख्न सकिन्छ ।

भिन्न सामान पाएपछि फिर्ता गर्न र तिरेको भुक्तानी सहज पाउन समेत कठिन हुने गरेको उपभोक्ताहरुको भनाइ छ । ‘यसको उजुरी गरे पनि छानबिन नहुने रहेछ’, एक उपभोक्ताले भने, ‘सबै मिलेर खाएका छन् अनि किन उपभोक्ता नलुटून् ।’ यस विषयमा दराजको तर्फबाट धारणा बुझ्न मिडिया हेरिरहेकी सलिना नकर्मीलाई फोन सम्पर्क गर्दा उनले फोन उठाइनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया