Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपति चुरे कार्यक्रममा चरम भ्रष्टाचार

राष्ट्रपति चुरे कार्यक्रममा चरम भ्रष्टाचार

छ जिल्ला हेर्नुपर्ने हाकिम मन्त्रीको पीए


काठमाडौं । तराईलाई मरुभूमि हुनबाट जोगाउनको लागि सरकारले उच्च प्राथमिकता दिँदै राष्ट्रपतिको नाम जोडेर तराई जोगाउन स्थापना गरेको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यादेशलाई लात हान्दै समिति कार्यान्वयन इकाइ जनकपुरका कार्यालय प्रमुख उपसचिव रामबालक यादव आफ्नो महत्वपूर्ण भूमिकालाई बिर्सेर वनमन्त्री रामसहाय प्रसाद यादवका निजी सचिवको भूमिकामा रहेर कार्य गर्दै आएका छन् ।

मन्त्रालयका पुराना कार्यअनुभव भएका उपसचिवहरुलाई लत्याएर गत कात्तिकमा उपसचिव बढुवा भएका रामबालक यादव वनमन्त्रीकै चाहनामा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाइ जनकपुरमा कार्यालय प्रमुखको जिम्मेवारी दिएको लामो समय भए पनि उनले आफ्नो कार्यालयको कामलाई अन्धाधुन्ध छोडेर सहायक भूसंरक्षण अधिकृत काशीराम यादवलाई मौखिक रुपमा निमित्तको जिम्मेवारी दिएर उनी भने मन्त्रीको अघिपछि लागेर हिँड्ने गरेका छन् ।

वन मन्त्रालयमा मन्त्रीलाई नै मैले चलाउने हो भन्ने गरेका रामबालक यादवको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिप्रतिको गैरजिम्मेवार कार्यमा वनमन्त्री रामसहाय प्रसाद यादवको समेत नैतिक समर्थन हुँदा सो कार्यालयमार्फत हुने गरेका कार्यहरु लथालिंग हुनपुगेको हो ।

वनमन्त्री रामसहाय यादवसँग नातामा दाजुभाइ पर्ने भएकै कारण कनिष्ठ उपसचिवलाई छ जिल्ला हेर्ने कार्यालय प्रमुख बनाएर पठाइएकोमा उनी त्यहाँ नियमित कार्यालय सञ्चालन गरेर नबसी एक जना अधिकृतलाई मौखिक रुपमा कामको जिम्मेवारी लगाई आफू वनमन्त्री रामसहाय प्रसाद यादवको निजी सचिवको रुपमा सिंहदरबारमा काम गरी बसेर आफ्नो कार्यालय जनकपुरकोे दैनिक कामकाज समेत फाइल काठमाडौंमा नै मगाई हेर्ने र मौखिक निर्देशन दिने गरेका छन् । मन्त्रीकै आडमा रामबालक यादवले वन सचिव तथा वन विभागका महानिर्देशकलाई समेत नटेरी कार्य गर्ने गरेका छन् ।

‘उनी कार्यालय प्रमुख नियुक्त भएको मितिले हालसम्म बढीमा १० दिनजति मात्र जनकपुर आफ्नो कार्यालयमा बसेकोले कार्यालय सञ्चालन गर्न समेत समस्या भएको छ’, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य शशी कुमार शर्माले भने, ‘कार्यालय प्रमुख नै कार्यालय नआउने हुँदा काम समेत अड्किएर बसेका छन् भने भएका कामहरुको समेत भुक्तानी हुनसकेको छैन ।’

शर्माका अनुसार हप्ताको अन्तिम बार शुक्रबार प्लेनमा जनकपुर जाने र आइतबार बिहान वनमन्त्रीको निजी सचिवको जिम्मेवारी पूरा गर्न काठमाडौं हिँड्ने गरेका छन् ।कार्यालय प्रमुख नै गैरजिम्मेवार भएपछि कार्यालयको जिम्मेवारी भएका सहायक भूसंरक्षण अधिकृत काशीराम यादवले कार्यालय प्रमुख रामबालक यादवसँग मिलेमतो गरी टुक्रे उपभोक्ता समिति बनाएर खोलामा तार जाली लगाउने तथा नाममात्रको नदी किनारमा हुने वृक्षरोपण गरेर बालुवामा पानी हालेजस्तो कार्य गरी आर्थिक हिनामिना गरेको कुरा अख्तियारले पटक–पटक काटेको पत्रले समेत पुष्टि गर्दछ ।

कार्यालयको निमित्त प्रमुखको मौखिक जिम्मेवारी पाएपछि कमाउ धन्दामा लागेका सहायक भूसंरक्षण अधिकृत काशीराम यादवले आफ्नो कमाउ धन्दामा साथ नदिएकै कारण कार्यालय स्थापनादेखि कार्य गर्दै आएका इन्जिनियर काशिराम शाह, सबइन्जिनियर लालबाबु ठाकुर तथा ड्राइभर गंगा श्रेष्ठ समेतको करार थप नगरी तथा नेपाल सरकारकै स्थायी दरबन्दी भएका सबइन्जिनियर रामेश्वर शाहलाई जिम्मेवारी नदिएर सहोदर दाइ महावीर यादव र नातामा भाइ पर्ने आशिष कुमार यादवलाई मंसिर २० गतेदेखि सबइन्जिनियर करारमा नियुक्त गरी अघि भएका कमसल कामहरुको कागजपत्र तयार गर्न लगाएको समितिका सदस्य शशी कुमार शर्माले बताए ।

यस्तै कार्यालय प्रमुख रामबालक यादवको नातामा भतिज पर्ने धिरेन्द्र कुमार यादवलाई समेत मंसिर २० गतेदेखि नै लागू हुने गरी विज्ञको रुपमा नियुक्त गरिएको सदस्य शर्माले बताए ।उनका अनुसार काशिराम यादवले महोत्तरीको खयरमारामा समेत नदी नियन्त्रणका लागि भएको तटबन्ध जीपीएस पोइन्टभन्दा आफूलाई फाइदा हुने उपभोक्ता समिति बनाउन मिल्ने ठाउँमा गरेका छन् । आफ्नै दाजुभाइलाई ओभरसियर नियुक्ति दिलाएर काशीराम यादवले यस्ता कार्यहरु निरन्तर गर्ने गरेका छन् भने सो कार्यालयको प्रमुख आफ्नो निजी सचिव रामबालक यादव भएकैले वनमन्त्री रामसहाय प्रसाद यादवले समेत समर्थन गरेका कारण यसमा मन्त्रीको समेत मिलेमतोको आशंका गरिएको छ ।

शर्माका अनुसार धनुषा, सर्लाही, रौतहट, सिन्धुली, काभ्रे तथा महोत्तरी कार्यक्षेत्र भएको यस कार्यालयको वार्षिक बजेट २३ करोड रहेको र अहिलेसम्म दुईदेखि तीन प्रतिशतमात्र कार्य भएको छ ।कार्यालय प्रमुख मन्त्रीको निजी सचिव भएर कार्यालयको जिम्मेवारी नलिने तथा निमित्तको जिम्मेवारी पाएका काशीराम यादव ठेक्कापट्टामै लिप्त भएकै कारण अख्तियारलाई समेत नटेरी कार्य गर्दै आएका छन् ।

कार्यालयमार्फत हुने गरेको काममा भ्रष्टाचार भएको भन्दै अख्तियारको बर्दिबासको कार्यालयमा समेत गत माघ १६ गते उजुरी परेको छ भने निमित्तको जिम्मेवारी पाएका काशीराम यादव आफ्नो अख्तियारमा समेत सेटिङ रहेको र यसमा आफूलाई कसैले केही गर्न नसक्ने बताउँदै आएका छन् ।

अख्तियारको बर्दिबासको कार्यालयमा परेको उजुरीमा भुक्तानीको ५० प्रतिशत पनि कार्य नभएको, हरिवन नगरपालिका वडा नंं ५ मा ६४ हेक्टरमा वृक्षरोपण गर्ने भनेको भए पनि जग्गा २० हेक्टर मात्र रहेको र पूरै काम भएको भन्दै १४ लाख २४ हजार भुक्तानी गरेको, हरिवन नपा वडा नं. १ मा ६४ हेक्टरमा वृक्षरोपण गर्ने भनेको भए पनि जग्गा १५ हेक्टर मात्र जग्गा रहेको र त्यहाँ पनि पूरा काम भएको भन्दै १४ लाख ४४ हजार भुक्तानी भएको तथा वन अधिकृत देव पुजन यादवलाई जिम्मेवारी तोकिएको पुनर्दाह धनुषाधाम जाने बाटोको सडक छेउमा ३० हेक्टरका वृक्षरोपण गरेको भनी सात लाख ४८ हजार भुक्तानी लिएको तर जग्गा आठ हेक्टर मात्र रहेको तथा श्रम दान समेत कम देखाई बढी भुक्तानी गरेको लगायतका कुराहरु उल्लेख गरी अख्तियारमा उजुरी परेको हो ।

यसअघि पनि सिन्धुलीको कमलाईमाई नगरपािलका, हरिहरपुरी गाउँपालिका तथा मरिन गाउँपालिका सञ्चालित वातावरण संरक्षण कार्यक्रममार्फत विनियोजन भएको बजेट एकतर्फी रुपमा कुनै पनि विज्ञ तथा कार्यालयका सिनियर कर्मचारीहरुको सहभागिताविना नै कार्यक्रम गरी ठूलो मात्रामा आर्थिक चलखेल भएको, लक्षित वर्गले मागेको आर्थिक पारदर्शिताको हिसाब पेश नगरेको भन्ने उजुरीको सम्बन्धमा कार्यालयको रायसहित पेश गर्नु भनेर अख्तियारले २०७७ असोज २५ गते काटेको पत्रको समेत जवाफ दिइएको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया