काठमाडौं । सत्तारुढ पाँच दलभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने विषयमा एकमत नभएपछि आज माघ २६ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गते सोमबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । माघ १६ गते बोलाइएको बैठक अन्तिम समयमा आएर बुधबारसम्मका लागि सारिएको थियो । मंगलबार सूचना जारी गरेर बैठक सारिएपछि एमसीसी यही संसद्मा पेश हुने वा नहुने भन्ने विषयमा द्विविधा उत्पन्न भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी बुधबारकै प्रतिनिधिसभा बैठकमा पेश गर्न चाहन्थे भने सत्ता सहयात्री नेकपा माओवादी केन्द्र र नेकपा एसलगायतका चार दल तत्काल एमसीसी पेश गर्ने पक्षमा छैनन् । संसद् बैठक पटक–पटक सार्नुलाई कतिपयले एमसीसी छल्न गरिएको प्रयासको रुपमा लिएका छन् ।
एमसीसी संसद्मा पेश गरेर पास नभएमा सत्ता गठबन्धन तोडिने आशंका छ । यद्यपि नेकपा एमालेले पनि आफ्नो दलबाट विभाजित भएर बनेको नेकपा एसका सांसदहरुलाई गैरसांसद भनिरहेको छ । उनीहरुलाई गरिएको कारबाही सदर वा सभामुखले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान राखेको छ ।
यसअघि सरकारले ल्याएका सबै विधेयक एमालेले संसद् अवरोध जारी राख्दा पनि पास गरिए पनि एमसीसी भने संसद् अवरोध हुने बेलामा पेस नगर्ने अडान सभामुख अग्नि प्रसाद सापकोटाले लिँदै आएका छन् । यद्यपि सभामुख सापकोटा संसदीय व्यवस्थाप्रति अनुदार छविका व्यक्ति हुन् । सापकोटामाथि काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । उनीमाथिको मुद्दा चलाउन मानव अधिकारवादी र अर्जुन लामाकी श्रीमतीले मंगलबार पनि माग गरेका छन् ।
एमालेले भने आफूले गरेको कारबाहीलाई सभामुखले साथ नदिएर एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख सापकोटालाई पदबाट हटाउनैपर्ने अडान लिएको छ । एमालेले १४ जना सांसद्को पद खारेज भएको सूचना सभामुखले टाँस्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने स्पष्ट अडान राखेको छ । सभामुख वा १४ जना सांसद हटेमा एमसीसीको बारेमा आफ्नो धारणा आउने एमालेले बताउँदै आएको छ ।
एमसीसी पास गर्न प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीको मुख्यालयलाई लेखेको पत्र सार्वजनिक भएपछि माओवादीभित्र पनि विवाद देखिएको छ भने देउवा र प्रचण्डको दुवैका आलोचना पनि भएको छ । एमसीसीको बारेमा छलफल गर्न माओवादीले भोलि माघ २७ गते बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकले एमसीसी र माओवादीको महासचिवको बारेमा टुंगो लगाउने अनुमान गरिएको छ ।
प्रचण्डले एमसीसीको बारेमा पार्टीको धारणा ल्याउने बताउँदै प्रधानमन्त्री देउवालाई संसद्को बैठक सार्न आग्रह गरेको बताइएको छ । सोही आग्रहअनुसार कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले सभामुखलाई आग्रह गरेपछि मंगलबार साँझ सूचना टाँस गरेर आज बुधबारको संसद् बैठक स्थगित गरिएको स्रोतको दाबी छ । यद्यपि मंगलबार साँझ संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको संसद् बैठक स्थगित गरिएको उल्लेख गरिएको छ । सूचनामा विशेष कारण भने खुलाइएको छैन ।
एमसीसीको नाममा अमेरिकाले नेपाललाई विद्युत् प्रसारणलाइन निर्माण र पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु–बाँके खण्ड स्तरोन्नतिका लागि झण्डै ६० अर्ब नेपाली रुपैयाँ अनुदान दिँदै छ । अमेरिकाले सित्तैमा दिने उक्त रकम लिन हुने/नहुने बारेमा नेपालमा राजनीतिक दलहरुबीच विवाद छ । सहयोग लिन हुने/नहुने बारेमा दलहरुले समयमै निर्णय लिन नसकेको कारण यो विषय थप गिजोलिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
- विश्व बजारमा गहुँ र मकैको मूल्य बढ्यो
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया