Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफरार निगमका सीईओ भट्टराई आरआर क्याम्पसका विभागीय प्रमुखको सहयोगमा काम गर्दै

फरार निगमका सीईओ भट्टराई आरआर क्याम्पसका विभागीय प्रमुखको सहयोगमा काम गर्दै


काठमाडौं । प्रहरीको रेकर्डमा फरार सूचीमा रहेका नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराई कार्यालयमा नआई आफ्नो दैनिक काम भने गरिरहेको फेला परेको छ ।

भट्टराई १७ वर्षपहिले अदालतबाट दोषी ठहर भई कैद तोकिएर पनि राजनीतिक पहुँचकै भरमा नेपाल वन निगमका सीईओमा राजनीतिक नियुक्ति लिएका थिए । बझाङका भट्टराईको समाचार गत माघ १७ गते आर्थिक दैनिकमा प्रकाशित भएसँगै उनी लुकेर बसेका छन् ।

लुकेर बसेका भट्टराईले नेपाल वन निगममा भने आफ्नो भाइ अधिवक्ता समेत रहेको बताउने आरआर क्याम्पसका राजनीतिक शास्त्र विभागका प्रमुख महेश भट्टराईको सहयोगमा निगमको काम गर्दै आएका छन् । उनको भाइ महेश भट्टराईलाई निगमका कर्मचारीहरुले नै दैनिक कामको फाइल दिएर पठाउने र उनले फरार रहेका दाइको हस्ताक्षर गरेर पुनः ल्याइदिने कार्य हुँदै आएको स्रोतको दाबी छ ।

फरार सीईओ रामेश्वर भट्टराईलाई निगमको दैनिक कार्यमा सघाउने भाइ महेश भट्टराईलाई भने निगमका प्रशासन प्रमुख शिवा आले कार्कीलगायतले सहयोग गरिरहेको निगम स्रोतले नै दाबी गरेको छ । प्रशासन प्रमुख शिवा आले कार्कीले आर्थिक दैनिकका प्रतिनिधिसँग फरार सीईओ कसैको सम्पर्कमा नरहेको बताएकी थिइन् भने निगम स्रोतले नै फरार सीईओ भट्टराईको दैनिक कार्यमा उनै शिवा आले कार्कीले सहयोग गरिरहेको दाबी गरेको छ ।

त्यसो त प्रशासन प्रमुख शिवा आले कार्कीले सीईओ भट्टराईसँगको मिलेमतोमा नेपाल वन निगमको नियमावलीमा नै नभएको आवास खर्चदेखि लिएर सीईओको व्यक्तिगत खर्च व्यवस्थापनको लागि टिप्पणी उठाइदिई सहयोग गर्दै आएकी थिइन् ।

निगम स्रोतका अनुसार सीईओ भएर आएपछि भट्टराईले निगमलाई आफ्ना मान्छेका भर्तीकेन्द्र बनाएका थिए । फरार सीईओ भट्टराईले आफ्नै भाइ महेश भट्टराईको श्रीमती झापा घर भएकी लक्ष्मी सुवेदीलाई कानुनी परामर्शको रुपमा निगमा नियुक्ति दिलाएका थिए । त्यस्तै फरार सीईओ भट्टराईले नेपाल वन निगमको केन्द्रीय कार्यालयमा पदम प्रकाश खत्री, आफ्नो भतिजी करिना भट्टराई, लक्ष्मी बहादुर महर्जन र कमल बहादुर विष्टलाई नियुक्त गरेका छन् ।

भएका कर्मचारीहरुको समेत काम नभएको अवस्थामा आफ्नो शक्तिको आडमा फरार सीईओ भट्टराईले निगमको कार्यालय पथलैयामा सुवास अधिकारी र नौसाद आलम, भरतपुर कार्यालयमा सौगात सापकोटा, धनगढी कार्यालयमा करन सिंह गुर्धामी, अनिल बहादुर सिंह, बहिनी महिन्द्रा कुमारी भट्टराई, धर्मराज भट्टराई, पवन प्रकाश राना थारु, नरेश चौधरी र पदम राज जोशीलाई नयाँ नियुक्त गरेका हुन् ।

फरार सीईओ भट्टराईले निगमको नाममा विराटनगर, भरतपुर, धनगढी, महेन्द्रनगर तथा केन्द्रीय कार्यालयको जग्गा भविष्यमा के काम लाग्छ भनेर अध्ययन गर्न भनी आवश्यक नै नभएको काम गरी आर्थिक हिनामिना समेत गरेको निगम स्रोतको दाबी छ । यी ठाउँहरुमा भएको जग्गा अध्ययन गर्न प्रतिस्पर्धा नै नगराई ८० लाखको ठेक्का दिएका थिए ।

२० लाखभन्दा बढीको ठेक्का दिँदा सार्वजनिक खरिद नियमावलीअनुसार दिनुपर्ने भएपछि भट्टराईले एउटै व्यक्ति र समूहको चारवटा कम्पनीलाई विना प्रतिस्पर्धा ठेक्का दिएका हुन् । ठेक्का पाएका कम्पनीहरु एउटै व्यक्ति र समूहको रहेको र सीईओ भट्टराईले लिस्टिङमै टुक्राएर दिएको पाइएपछि मन्त्रालयले यस ठेक्कासँग सम्बन्धित कागजातहरु जफत गरेको छ भने काम नगर्न समेत ठेकेदारहरुलाई निर्देशन दिएको छ । काम नगर्न निर्देशन पाएको ठेकेदार कम्पनीले भने १३ लाखभन्दा बढी रुपैयाँ भुक्तान लिइसकेको निगम स्रोतले बतायो ।

निगमलाई आफ्नो अनुकूलको बनाउन फरार सीईओ भट्टराईले कर्मचारी सरुवा गरी आफ्ना बहिनी, बुहारी तथा भतिजीलाई निगममा नियुक्त दिलाएका थिए भने उनको यस्तो धन्दामा आफूलाई अधिवक्ता बताउने भाइ महेश भट्टराईले सहयोग गर्दै आएका थिए ।

फरार सीईओ भट्टराईले गत माघ १६ गते आर्थिक दैनिकको कार्यालयमा नै आएर समाचार नलेखी आफूसँग सहमति गर्न दबाब दिएका थिए । उनले आफन्तहरुलाई निगममा जागिर लगाइदिने, निगमका विज्ञापनहरु भन्दै प्रलोभन देखाएपछि आर्थिक दैनिकका प्रतिनिधिले कानुनको सम्मान गरी पालना गर्न सुझाव दिएका थिए ।

भाइ महेश भट्टराईसँग आर्थिक दैनिकको कार्यालयमा आएका फरार सीईओ रामेश्वर भट्टराईले समाचार लेखे आफू मान्छे मार्न समेत तयार रहेको उनकै भाइको अगाडि बताइरहँदा कानुनी वकालत पेशा गर्ने बताउने उनका भाइले सचेत रहन भन्दै धम्की दिएका थिए । सर्वोच्च अदालतका आधा न्यायाधीश र वकिलहरु आफ्नो पक्षमा रहेको र आफूले कानुुन बुझेको बताउँदै फरार सीईओ भट्टराईका भाइ महेश भट्टराईले समाचार लेखे आफूले पनि देखाइदिने धम्की दिएका थिए ।

समाचार प्रकाशित भएपछि फरार अवस्थामा नै निगमका केही कर्मचारीको सहयोगमा कार्यसम्पादन गर्दै आएको सूचनाका आधारमा प्रशासन प्रमुख समेत रहेकी शिवा आले कार्कीलाई बुझ्न आर्थिक दैनिकका प्रतिनिधिले बिहीबार पटक–पटक फोन सम्पर्क गर्दा समेत उनले उठाइनन् । निगम स्रोतका अनुसार अझै पनि फरार सीईओले तोक लगाएको भन्दै माघ १७ गतेको निर्णयहरु सम्बन्धित विभागहरुमा गइरहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया