Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयस्तो छ सेञ्चुरी र हङकङमा दर्ता रहेको ग्यालेक्सी नेटवर्कबीचको सम्बन्ध

यस्तो छ सेञ्चुरी र हङकङमा दर्ता रहेको ग्यालेक्सी नेटवर्कबीचको सम्बन्ध

बैंकले नै तोकिदिएको थियो श्रेष्ठलाई ग्यालेक्सीसँगको सबै कारोबार हेर्ने जिम्मा


काठमाडौं । रमेशकुमार श्रेष्ठ सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुुख सञ्चालन अधिकृत हुुन् । बैंकले उनलाई केही हप्ताअघि मात्र आफ्नो सहायक कम्पनी सेञ्चुरी क्यापिटल लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत बनाएर बैंकबाट अलग गराएको छ ।

यसरी बैंकमा प्रमुख सञ्चालन अधिकृत रहेका श्रेष्ठलाई क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत बनाएर लानुको पछाडि बैंकसँग जोडिएका धेरै कारणहरु रहेकाछन् । श्रेष्ठलाई बैंकमा नै राख्दा विवाद बढ्न सक्ने र नियमनकारी निकाय समेतले कारबाही गर्न सक्ने डर र आशंकाकै कारण श्रेष्ठलाई सेञ्चुरीले आफ्नो सहायक कम्पनी सेञ्चुरी क्यापिटलमा लगेर सेफ ल्याण्डिङ गरेको दाबी स्रोतले गरेको छ । श्रेष्ठ नाताले बैंक सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठका ज्वाइँ भएको तथ्य खुुलेको छ । सोही कारण श्रेष्ठ अध्यक्ष राजेशका विश्वासपात्र हुन् । यही विश्वासकै आधारमा श्रेष्ठले हुण्डीको किङ भनेर चिनिने हङकङमा दर्ता रहेको ग्यालेक्सी नेटवर्कसँग अनधिकृतरुपमा कारोबार गर्ने गरेको तथ्य श्रेष्ठ स्वयंले सम्प्रेषण गरेको इमेल ठेगानाबाट देखिएको छ ।

No description available.

ग्यालेक्सी नेटवर्क कुमारी बैंकका सञ्चालक कृष्ण ज्ञवालीको संलग्नतामा हङकङमा दर्ता रहेको कम्पनी हो । यो कम्पनीमा कृष्णका अतिरिक्त जगन्नाथ ज्ञवाली, पम्फा ज्ञवाली आदिको सेयर लगानी छ । रेमिट्यान्स र हुुण्डी कारोबारको लागि यो समूहको नेपालमा एडभान्स मनी ट्रान्सफर पनि छ, जसको केन्द्रीयकार्यालय काठमाडौंको चाइनाटाउनमा छ । राष्ट्र बैंकले विदेशी विनिमय ऐनविपरीत कारोबार गरेको भन्दै पटक–पटक ग्यालेक्सी र एडभान्सलाई कारबाही गरिसकेको छ । यसरी रेमिट्यान्स कारोबारमा धेरै नै विवादमा पर्दै आएको ग्यालेक्सी नेटवर्कमा सेञ्चुरी कमर्सियल बैंकका प्रमुख सञ्चालन अधिकृत रमेश कुमार श्रेष्ठ बिजनेस डेभलपमेन्ट म्यानेजर रहेको खुलेको छ । यसका अतिरिक्त श्रेष्ठ राम्रो रेमिटका पनि संस्थापक सेयरधनी हुन् । राम्रो रेमिटमा सेञ्चुरी बैंककै अध्यक्ष राजेश श्रेष्ठ र रण बहादुर श्रेष्ठ सञ्चालक हुुन् । यो कम्पनीमा सेञ्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवनकुमार भट्टराईकी श्रीमती र रमेश कुमार श्रेष्ठकी श्रीमती नबिना श्रेष्ठको नाउँमा प्रमुख सेयर लगानी छ ।

No description available.

स्रोतका अनुसार सेञ्चुरी कमर्सियल बैंक र मरिससमा दर्ता रहेको एमएम रेमिट रेमिट्यान्स कारोबारको लागि सम्झौता भएको थियो । पछि सेञ्चुरीले आफ्नो आधिकारिक इमेलमार्फत नै हङकङमा दर्ता रहेको ग्यालेक्सी नेटवर्कलाई चिनाएको थियो । त्यतिबेला सेञ्चुरीको तत्कालीन व्यवस्थापन समूहमा जीवनकुमार भट्टराई, रमेश कुमार श्रेष्ठ नै थिए । स्रोतका अनुसार त्यही समूहले ग्यालेक्सी र एमएम रेमिटबीच सम्झौता गराएको थियो ।

सम्झौता अनुरुप ग्यालेक्सी र एमएम रेमिटबीच कारोबार भएको थियो । ग्यालेक्सीसँगको कारोबार सेञ्चुरी बैंकको पुतलीसडक शाखाले गर्ने गरेको थियो भने त्यसको सम्पूर्ण व्यवस्थापन रमेश कुमार श्रेष्ठले गर्ने गरेको दाबी स्रोतले गरेको छ । तर पछि कारोबारमा विवाद देखियो । एमएम रेमिटले सेञ्चुरीलाई छ करोड रुपैयाँ दिनु देखियो भने एमएम रेमिटले ग्यालेक्सीसँग १६ करोड रुपैयाँ लिनु देखियो ।

No description available.

त्यही विवाद हुँदा एमएम रेमिटले सेञ्चुरीले भनेको आधारमा ग्यालेक्सीसँग कारोबार गरेको, त्यो कारोबार सेञ्चुरी बैंककै पुतलीसडक शाखाबाट भएको र अहिले आएर ग्यालेक्सी चिन्दैंनौं, त्यो काम सेञ्चुरीको पुरानो व्यवस्थापनले गरेको, नयाँ व्यवस्थापनले त्यो कामको जिम्मा लिँदैन भनेपछि एमएम रेमिट, ग्यालेक्सी नेटवर्क र सेञ्चुरी कमर्सियल बैंकबीच विवाद उत्पन्न भएको हो ।

स्रोतका अनुसार सेञ्चुरी बैंकको सिस्टममा ग्यालेक्सीसँगको कारोबार छैन, किन कि त्यो कारोबार बैंकले बाठो भएर आफ्नो सिस्टममा समाविष्ट नै गरेन । तर आधिकारिक इमेलमा भने बैंकले ग्यालेक्सीसँग गरेको कारोबारको प्रशस्त मात्रामा रेकर्ड रहेको छ । जसलाई बैंकले मात्र चाहेर डिलेट गर्न सक्दैन, स्रोतले भनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया