Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच लाखसम्मको ऋण लिनअनलाइन आवेदन दिन सकिने

पाँच लाखसम्मको ऋण लिनअनलाइन आवेदन दिन सकिने


काठमाडौं । अबदेखि ग्राहकहरुले अनलाइनमार्फत नै कर्जाको लागि आवेदन दिनसक्ने भएका छन् । राष्ट्र बैंकले शुक्रबार विद्युुतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन २०७८ जारी गरेपछि ग्राहकहरुले यस्तो सुविधा पाउने भएका हुन् ।

राष्ट्र बैंकले मार्गदर्शनमार्फत भनेको छ, ‘पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ । विद्युतीय भुक्तानीका माध्यमहरु विशेषगरी रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीए), इन्टर बैंक फण्ड ट्रान्सफर, पेमेन्ट कार्ड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता विद्युतीय कारोबारसँग सम्बन्धित पूर्वाधारहरुको विकास र विस्तारले विद्युतीय भुक्तानीको प्रयोगमा व्यापकता ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ । ग्राहकको भौतिक उपस्थितिविना नै वित्तीय सेवा प्रवाहको माग बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको आवेदनदेखि कर्जा प्रवाह गर्नेसम्मको प्रक्रियालाई सहजीकरणको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ (दोस्रो संशोधन, २०७३ समेत) को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (जसलाई यसपछि विद्युतीय कर्जा भनिएको छ) सम्बन्धी मार्गदर्शन तर्जुमा गरी लागू गरिएको राष्ट्र बैंकले भनेको छ ।

विद्युतीय कर्जासम्बन्धी मार्गदर्शनको मूल उद्देश्य सूचना प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई छिटो छरितो, सरल र सहजरुपमा कर्जा प्रदान गर्ने तथा कर्जाको असुली कार्यलाई सहजीकरण गर्नु रहेको र यसबाट ससाना रकममा प्रवाह हुने कर्जाको लागत कम भई पारदर्शी रुपमा कर्जा विस्तारमा सहयोग पुग्ने विश्वास लिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ । भौतिक उपस्थितिविना प्रविधिमा आधारित भई कर्जासँग सम्बन्धित सेवा प्रवाह हुने भएकाले सेवा प्रवाह गर्ने संस्था र सेवाग्राहीको श्रम, समय र लागत आदिमा बचत हुने र यदाकदा देखिने महामारीको समयमा स्वास्थ्य सतर्कता अपनाई कर्जा प्रवाह गर्न सहयोग पुग्ने विश्वास राष्ट्र बैंकले गरेको छ । साथै यसबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले नवीनतम प्रविधिको प्रयोग गरी सम्भावित ग्राहक र बैंक तथा वित्तीय संस्थाहरुहरुबीचमा सम्पर्क स्थापना गराई कर्जा प्रवाहमा सहजीकरण गर्नसक्ने अपेक्षा गरिएको छ । यसका अतिरिक्त विद्युतीय कर्जासम्बन्धी मार्गदर्शनका मूलभूत उद्देश्यहरु विद्युतीय कर्जा प्रणालीको विस्तार गरी त्यसप्रति सेवाग्राहीलाई अभ्यस्त बनाउने, औपचारिक कर्जा प्रवाहको प्रक्रियालाई सरलीकृत गर्ने, ग्राहकको कर्जा आवश्यकताको बढ्दा अपेक्षा पूरा गर्ने, कर्जा प्रवाहमा सर्वसाधारणको पहुँचको अभिवृद्धि गर्ने र कर्जा प्रवाहको लागत कम गर्ने उद्देश्य राष्ट्र बैंकको छ ।

विद्युतीय कर्जामा राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरु संलग्न रहन सक्नेछन् । विद्युुतीय कर्जा प्रवाह गर्न सम्भावित ऋणीबाट कर्जा आवेदनदेखि कर्जा असुलीसम्मका कार्यहरुमा सहजीकरण गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरुले अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रतिनिधिकोरुपमा संलग्न गराउन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा तलबी खाता रहेका वा पेशागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम पाँच लाख रुपैयाँसम्म र अन्य ग्राहकको हकमा दुई लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सक्नेछन् । साथै कर्जा प्रदान गर्दा, फिर्ता भुक्तानी गर्दा एकै पटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी प्रवाह गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबाट यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्नेछन् । आवेदन प्राप्त भएपश्चात् बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्यांक विभिन्न स्रोतहरुबाट विद्युतीय माध्यममार्फत नै प्राप्त गर्नुपर्नेछ । कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए, नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्युतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनुपर्नेछ । स्वीकृत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुपर्नेछ ।

मार्गदर्शनअनुसार ग्राहकलाई विद्युतीय कर्जा उपयोग गर्दा लाग्ने शुल्कको बारेमा कर्जा प्रवाह गर्नुअघि नै स्पष्ट जानकारी दिनुपर्नेछ भने ग्राहकसँग कर्जा सेवाशुल्क तथा तेस्रो पक्षलाई बुझाउनुपर्ने शुल्कबाहेक अन्य शुल्क लिन पाइनेछैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया