Techie IT
×
गृहपृष्ठसमाचारफुटबलका पूर्वकप्तान हरि खड्काको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली ठहर

फुटबलका पूर्वकप्तान हरि खड्काको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली ठहर


काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको बिहीबारको इजलासले खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

यस्तै अदालतले खड्कालाई पाँच हजार रूपैयाँ जरिवाना सुनाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध नक्कली प्रमाणपत्र बनाएर नेपाल प्रहरीमा बढुवा भएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगका अनुसार खड्काले पेस गरेको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको थियो । आयोगका अनुसार खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए)को प्रमाणपत्र पेस गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । पछि उनी १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए भने छ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए । उनको प्रमाणपत्रको विषयमा विवाद आएपछि भने उनले राजीनामा दिएका थिए ।

आयोगका अनुसार खड्काले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र माध्यमिक शिक्षा परिषद् वाराणसी, उत्तर प्रदेशबाट जारी भएको थियो । उक्त प्रमाणपत्र नक्कली रहेको दाबीसहित आयोगले खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र १० देखि २० हजार रूपैयाँसम्म जरिवाना सजाय माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया