Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता


काठमाडौं । इजरायल सरकारले नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने प्रतिबद्धता जनाएको छ । नेपालका साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्यका छोराछोरीहरूलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डीसीईयो डा. नवराज सिम्खडा र डीसीईयो झलेन्द्र भट्टराईसँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । उनले नेपाली साना किसान सदस्यहरूको जीवन रूपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रूपान्तरणमा खेलेको भूमिकाले आफूहरूलाई खुसी लागेको बताए । नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यहरूलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको उनले बताए ।

नेपालबाट प्रशिक्षार्थीका रूपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्यायन गरेर फर्केका धेरै युवाहरू अहिले व्यवसायी बनिरहेका छन् । भेटमा नेपाल कृषि सहकारीका अध्यक्ष पाठकले नेपालका युवाहरूलाई इजरायलले प्रशिक्षार्थी विद्यार्थीका रूपमा अवसर दिएर नेपालका किसानहरूलाई ठूलो गुन लगाएको बताए । नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विद्यार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको उनको भनाइ थियो । इजरायलमा प्रयोग भएको नवीनतम प्रविधिलाई नेपालमा भित्र्याउन यस कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवा किसानहरूलाई समेट्दै यो कार्यक्रममलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । इजरायले प्रदान गरेको यो अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याकलगायतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको पाठकले बताए ।

इजरायलबाट सीप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक एक करोडबराबरको तरकारी बिक्री गरिरहेका छन् । धादिङकै नौबीसेका देवराज आचार्यले पनि उदाहरणीय तकारी खेती गरिरहेका छन् । यसैगरी तनहुँको बाख्रा फार्म, रूपन्देहीको सृजना चौधरीले गरेको माछापालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्मलगायत धेरै युवाहरूको कृषि तथा पशुपालनमा गरेको काम हेर्नलायक रहेको अध्यक्ष पाठकले बताए । इजरायली प्रविधिको सहयोगमा अहिले नेपालमा धेरै युवाहरू व्यवसायी बनिसकेका छन् ।

यस कार्यक्रमलाई नियमित गर्ने र थप कोटा बढाउने राजदूत गोडरले बताएका छन् । होडर यसअघि पनि नेपालका लागि इजरायली राजदूत भइसकेका थिए । नेपाल मामिलाबारे राम्रो जानकारी राख्ने राजदूत हानान गोडरकै अग्रसरतामा नेपालका साना किसानका छोराछोरीहरूलाई १० महिने प्रशिक्षार्थी कामदारका रूपमा इजरायल पठाउने कार्यको थालनी भएको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया