Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो


काठमाडौं । जहानियाँ राणा शासनको अन्त्य गरी नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । सैनिक मञ्च टुँडीखेलमा शनिबार विशेष समारोहको आयोजना गरी ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको हो ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरू तथा उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ ब्यानर अंकित दुईवटा हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शिर उचाली…’सहित देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धुन र ब्यान्ड प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश तथा संघीय तहको निर्वाचन गर्ने बताए । निर्धारित मितिभित्रै निर्वाचन गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन् आवश्यक रहेको उनले बताए । साथै उनले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिए । विसं २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको राजनीतिक क्रान्ति नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्व राख्ने क्रान्ति रहेको भन्दै उनले यसैको जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई देशले लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेको बताए । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासन अन्त्य भई जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नाका लागि विसं २००७ फागुन ७ गते प्रजातन्त्रको घोषणा भएको उल्लेख गरे ।

‘वास्तवमै हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । राजनीतिकरूपमा मुलुकले ठूलो फड्को मारेको छ । यसका लागि विसं २००७ को राजनीतिक क्रान्तिदेखि २०४६ र २०६२/६३ सालको जनआन्दोलनसम्मको ठूलो भूमिका रहेको छ’, उनले भने, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, जुनस्तरको नागरिक हकअधिकारको उपभोग गर्न पाउने स्थितिमा छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ यो सबै सात सालको क्रान्तिको जगमा उभिएर भएको हो ।’

साथै उनले सात सालको राजनीतिक क्रान्तिकै जगमा टेकेर संविधानसभाबाट नेपाली जनताले चाहेजस्तो संविधान निर्माण गरी त्यसैअन्तर्गत मुलुकमा शासन व्यवस्था सञ्चालन भएको बताए । मुलुकले युगान्तकारी राजनीतिक परिवर्तन गरेको र अब यसलाई संस्थागत गर्दै अघि बढ्न जरुरी भएकाले सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो रहेको उल्लेख गरे । सहिदका अधुरा सपना पूरा गर्ने र हाम्रा पुर्खाले देख्न र भोग्न चाहेको नेपाल बनाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता र आर्थिक तथा सामाजिक अधिकार उपभोग गर्नसक्ने समतामूलक समाज निर्माण गर्नु सबैको राष्ट्रिय दायित्व भएको बताए ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका संरचना र पूर्वाधार नवनिर्माण र पुनर्निर्माणको कार्य पूरा हुन नपाउँदै कोभिड–१९ को महामारीको प्रकोपलाई सामना गर्न परिरहेको जनाउँदै उनले यसले नेपालीको जीवन र अर्थतन्त्रमा ठूलो असर गरेको बताए । कोभिड–१९ को प्रकोपलाई नियन्त्रण गर्न सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको र यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको उनको भनाइ थियो । सरकारले स्वास्थ्य पूर्वाधार सेवा विस्तार र सुदृढीकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको उनले जानकारी दिए । साथै उनले सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिटै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया