Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजारमा खाद्य स्वच्छताको अभाव कायमै

बजारमा खाद्य स्वच्छताको अभाव कायमै


काठमाडौं । ललितपुरको भैँसीपाटीमा बस्दै आएका २३ वर्षीय जनक बडुवाल दैनिक मह खाने गर्छन् । जाडो महिनामा शरीरमा तातो प्रदान गर्ने भन्दै पुस, माघको समयमा बढी मात्रामा मह प्रयोग गर्दै आएका बडुवालले अहिले पनि दैनिक मह खाने गरेको बताए । ‘गर्मी बढेपछि मह कम गर्ने गरेकोमा आजभोलि पनि चिसो नहटेको कारण महको मात्रा घटाएको छैन’, उनले आर्थिक दैनिकसँग भने, ‘म बिहान दिनहुँ दुई चम्चा मह खान्छु ।’ तर उनलाई आफूले प्रयोग गर्ने महका साथै अन्य दैनिक उपभोग्य सामग्री शुद्ध छ भन्ने विश्वास नै छैन । उनले थपे, ‘मेरो चाहनाअनुरुप र शरीरलाई आवश्यकअनुरुप म दैनिक उपभोग्य सामग्रीहरु दूध, मह, दाल, सागसब्जीलगायतका सामग्रीहरु प्रयोग गर्छु तर ती सामग्री सबै शुद्ध र स्वास्थ्यवद्र्धक छन् जस्तो लाग्दैन ।’

उनले भनेजस्तै पछिल्लो समय शुद्ध मह भनेर उत्पादन तथा बिक्रीवितरण गर्ने अधिकारीहरुलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले निगरानीमा राखेको छ । विभिन्न सञ्चारमाध्यम, नागरिकहरुले बजारमा पाइने महको उत्पादन तथा बिक्रीवितरण स्वास्थ्यवद्र्धक नभएको गुनासो आएपछि विभागले निगरानीमा राखेको हो । उक्त कार्यका लागि विभागका अधिकारीहरुले प्रहरीसँग सहकार्य गरी अघि बढेको पाइन्छ भने हाल २९ वटा महका नमूनाहरु संकलन भई विश्लेषण तथा निरीक्षण अनुगमन कार्य जारी समेत राखेको छ ।

त्यति मात्र नभई खाद्यान्न/दलहन, तेल तथा घ्यूजन्य पदार्थ, दूधजन्य पदार्थ, पिउने पानीलगायतका दैनिक उपभोग्य सामग्रीहरु खानयोग्य नहुँदा बजारमा खाद्य स्वच्छता कायम हुन नसकेको स्वयं विभागले स्वीकार गर्दै आएको छ । यसैबीच, चालू आर्थिक वर्षको छ महिनाको अवधिमा खाद्यान्न/दलहन, तेल तथा घ्यूजन्य पदार्थ, दूधजन्य पदार्थ, पिउने पानीलगायतका नौ सय वटा नमूनाहरुको विश्लेषण परीक्षण भएकोमा ७४ वटा (८.२२ प्रतिशत) नमूनाहरुको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको विभागले जनाएको छ । सोमध्ये खाद्यान्नका २२ वटा, प्रशोधित पिउनेपानीका १५ वटा, फल तथा सागपातजन्य पदार्थका ११ वटा, दूध तथा दुग्धजन्य पदार्थका पाँचवटा, तेल तथा घ्यूजन्यका तीनवटा, चियाकफीका तीनवटा, मसला पदार्थका दुईवटा, मासु तथा मासुजन्य पदार्थका एउटा र दाना पदार्थका चारवटा र अन्य खाद्यपदार्थका आठ वटा नमूनाहरु उपभोग्य योग्य नभएको पाइएको हो ।

उक्त अवधिमा खाद्य तथा दाना बजार र उद्योग निरीक्षण अनुगमन गरी ऐन नियमानुसार एक हजार दुई सय ८७ वटा नमूनाहरु गरी कुल दुई हजार एक सय २४ वटा नमूनाहरु संकलन भएको थियो । छ महिनाको अवधिमा संकलित नमूनाहरुमध्ये खाद्यान्न/दलहनजन्यका दुई सय ८४ वटा, तेल तथा घ्युजन्यका एक सय ४९ वटा, फल तथा सागपातजन्य पदार्थका एक सय एक वटा, मसलाका ८० वटा, चिया कफीको ३६ वटा, दूध तथा दुग्धजन्य पदार्थका १५ वटा, प्रशोधित पिउने पानीका ३९ वटा, गुलियो पदार्थका ३३ वटा, कन्फेक्सनरीका १२ वटा, मासु तथा मासुजन्य पदार्थका १० वटा, नुनका १२ वटा र अन्य खाद्य पदार्थ ५७ वटा र दाना पदार्थ ७२ वटा गरी कुल नौ सयवटा नमूनाहरुको विश्लेषण गरिएको विभागले जनाएको छ । विभागले खाद्य ऐन २०२३ अनुरुप दैनिक उपभोग्य सामग्रीहरुको नमूना संकलन गरी त्यसको विश्लेषण गरी आवश्यक कारबाही अघि बढाउने गरेको छ । त्यस्तै, दानाहरुको हकमा भने दाना पदार्थ ऐन २०३३ लागू गरी आवश्यक प्रक्रिया अघि बढाउने गरेको छ ।

सोही क्रममा चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा दैनिक उपभोग्यवस्तुहरुको उत्पादन तथा बिक्रीवितरण गरेको आरोपमा मुद्दा समेत दायर गरेको पाइन्छ । उक्त अवधिमा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा ११ थान मुद्दासहित कुल ३८ थान मुद्दाहरु विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी गराए ।

प्रवक्ता महर्जनका अनुसार दायर गरिएका मुद्दामध्ये दूध तथा दुग्धपदार्थका १३ वटा, मसला पदार्थको पाँचवटा, प्रशोधित पिउने पानीको पाँच वटा, खाद्यान्न एवम दलहन तथा सोबाट बनेको पदार्थ पाँच वटा, चियाको चारवटा, मह, सोयासस, तेलको क्रमशः एउटा र दाना पदार्थको तीनवटा मुद्दा जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा दायर गरिएको हो । उक्त उपभोग्य सामग्रीहरु दूषित, न्यून गुणस्तर, अनुज्ञापत्र नलिईकन कारोबार गरेको, स्पष्ट लेबल विवरण नराखिएको र खाद्य ऐन नियम उल्लङ्घन गरी उत्पादन तथा बिक्रीवितरण गरेको आरोपमा मुद्दा दायर गरिएको उनले जानकारी गराए ।

त्यति मात्र नभई सडकपेटी, गाडालगायतका खुल्ला स्थानमा राखी व्यापार गर्ने गर्दा समेत खाद्य स्वच्छता नहुने उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ । एकतर्फ सफा खाद्यान्नको अभाव अर्कोतर्फ मिसावट र चर्को महंगीले गर्दा सर्वसाधारणहरु सदैव मारमा पर्ने गरेको उनीहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया