Techie IT
×
गृहपृष्ठसमाचारराजस्वको दायरा बढाउन निरन्तर अनुसन्धान हुनुपर्ने महासंघको सुझाव

राजस्वको दायरा बढाउन निरन्तर अनुसन्धान हुनुपर्ने महासंघको सुझाव


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राजस्व वृद्धिका लागि दर्ता भएका करदतालाई मात्र थप करको भार सिर्जना गर्नुभन्दा राजस्वको दायरा विस्तारमा निरन्तर अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि राजस्व अनुसन्धान विभागले विशेष सहयोग गर्नुपर्ने महासंघको सुझाव छ ।

महासंघका पदाधिकारीहरू र राजस्व अनुसन्धान विभागका महानिर्देशकबीच सोमबार भएको छलफलमा महासंघले दर्ता नभई आर्थिक कारोबार गर्ने र अवैध पैठारी गर्नेहरूलाई राजस्वको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागले कार्य गर्नुपर्ने, आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा दर्ता भई कारोबार गर्ने र एक्जिम कोड लिई मालवस्तु निकासी पैठारी गर्नेहरूलाई सम्बन्धित निकायले नै अनुसन्धान गर्ने व्यवस्था गर्नुपर्ने सुुझाव दिएको थियो ।

यस्तै महासंघले भीसीटीएस प्रणालीमा आबद्ध भएपछि आएका मिसम्याचका समस्या निराकरण सरकारले गर्नुपर्ने, एकै जिल्लाभित्र मालवस्तु आपूर्ति गर्दा भीसीटीएस नलाग्ने व्यवस्था गर्नुपर्ने, भीसीटीएसलाई फेजअनुसार लागू गर्नुपर्ने सुझाव विभागलाई सुझाव दिएको छ । उद्योगी व्यवसायीको मानमर्दन हुनेगरी छापा मार्ने कार्य भएकाले छापा मार्दा कारण खुलाएर मात्र छापा मार्नुपर्ने, अनुसन्धानको निष्कर्षमा नपुगी सार्वजनिक गर्न नहुने, छापा हानेकै बखत उद्योगी व्यापारीले वारेसनामा दिने व्यवस्था गर्नुपर्ने, आवश्यक कागजपत्रको प्रतिलिपी लिई व्यापारिक स्थल सिलबन्दी गरेको २४ घण्टाभित्र सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा महासंघले जोड दिएको छ ।

छलफलमा विभागका महानिर्देशक पौडेलले करदातालाई अनावश्यक दुःख नदिने गरी र दोहोरोपना नहुने गरी राजस्व अनुसन्धान विभागले कार्य गरिरहेको जानकारी दिए । भीसीटीएस र राजस्व अनुसन्धानका प्रावधानहरूको सम्बन्धमा सबै प्रदेशहरूमा छलफल कार्यक्रम गर्ने र त्यसमा महासंघसँग साझेदारीका लागि उनले अनुुरोध समेत गरे । साथै उनले राजस्वसम्बन्धी सबै निकायहरूको बीचमा समन्वय गरी कार्य गर्ने समेत विश्वास दिलाए । छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र समिति सभापतिहरूलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया