Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार८८.३० प्रतिशतले निर्यात बढ्दा पनि ११ खर्बको आयात

८८.३० प्रतिशतले निर्यात बढ्दा पनि ११ खर्बको आयात

पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय प्रयोग बढाउन जोड


काठमाडौं । उच्च निर्यात र न्यून आयात हुँदा हरेकलाई व्यापारमा फाइदा पुग्छ । तर, न्यून निर्यात र उच्च आयात हुँदा भने व्यापारमा घाटा हुन्छ । यहीअनुसार अहिले नेपालको व्यापार भइरहेको छ । नेपालको व्यापार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा पनि घाटामा छ । कारण हो न्यून निर्यात र उच्च आयात ।

भन्सार विभागको तथ्यांकअनुरुप चालू आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा निर्यात ८८.३० प्रतिशतले वृद्धि भई एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ पुगेको छ । प्रमुख निर्यातजन्य सामग्रीमा भटमासको तेल, पाम तेल, यार्नलगायतका सामग्री छन् । माघ मसान्तसम्मको अवधिमा प्रशोधित भटमासको तेल ३६ अर्ब ८५ करोड ५३ लाख रुपैयाँ, प्रशोधित पाम तेल (न्यून कच्चा पदार्थसहित) ३४ अर्ब १५ करोड ५५ लाख रुपैयाँ, जुटबाट बुनिएको कपडा पाँच अर्ब ३५ करोड ६९ लाख रुपैयाँ, यार्न तीन अर्ब नौ करोड ३५ लाख रुपैयाँ, कार्पेट (गलैँचा) पाँच अर्ब सात करोड ९७ लाख रुपैयाँ, पश्मिना एक अर्ब ७० करोड ६६ लाख रुपैयाँ र अलैँची दुई अर्ब ६४ करोड ३० लाख रुपैयाँबराबरको निर्यात गरिएको छ । गत आर्थिक वर्षको उक्त अवधिमा भने ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ थियो ।

त्यस्तै, माघ मसान्तसम्ममा आयात व्यापारमा ४२.७८ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । आयातजन्य प्रमुख सामग्रीहरुमा भने पेट्रोलियम पदार्थ, भटमास, खाना पकाउने एलपी ग्यास, पामलगायतका सामग्री छन् । उक्त अवधिमा डिजेल ७२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ, भटमास ३९ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ, एलपी ग्यास ३४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ, पेट्रोल ३३ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ, कच्चा पाम २९ अर्ब २२ करोड १९ लाख रुपैयाँ, एमएस बिलेट २९ अर्ब ८६ करोड १९ लाख रुपैयाँ, मोबाइल २५ अर्ब ६२ करोड २९ लाख रुपैयाँ, कोइला १९ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ, सुन २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ, चाँदी १२ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ र सनफ्लावर १२ अर्ब ३७ करोड १९ लाख रुपैयाँको आयात गरिएको छ ।

पेट्रोलियम पदार्थको उच्च आयात हेर्दा विद्युत्को उत्पादन बढे पनि उपभोग हुन नसकेको देखिन्छ । पेट्रोलियम पदार्थको उच्च आयात रोक्न विद्युत् प्रयोग अपरिहार्य भए पनि त्यसो हुन नसकेको देखिन्छ । उच्च आयातलाई प्रतिस्थापन गर्न विद्युतीय प्रयोग बढाउने प्रयास राज्य, नागरिक सबै तह–तप्काबटा भएमा व्यापारघाटा समेत घट्ने जानकारहरुको भनाइ छ । यसैबीच गत आर्थिक वर्षको सोही अवधिमा आयात व्यापार आठ खर्ब तीन अर्ब ६४ करोड रुपैयाँ थियो ।

उच्च आयातका कारण सात महिनाको अवधिमा व्यापार घाटामा समेत बढेको छ । माघ मसान्तसम्मको अवधिमा व्यापारघाटा ३८.४५ प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । दैनिक भान्सामा प्रयोग हुने सामग्रीदेखि, पेट्रोलियम पदार्थ, मेसिनरी सामग्री, सुनचाँदीलगायतका सामग्री आयात हुँदा व्यापारघाटा बढ्न गएको जानकारहरु बताउँछन् । यसले गर्दा उच्च आयात हुँदा मुलुकले अन्य मुलुकहरुसँगको व्यापारमा घाटा व्यहोर्नुपरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापारघाटा सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ थियो ।

माघ मसान्तसम्मको अवधिमा कुल वैदेशिक व्यपार ४६.४३ प्रतिशतले वृद्धि भई १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार आठ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ थियो । यसैबीच माघ मसान्तसम्मको अवधिमा नेपालले एक सय ५२ भन्दा बढी मुलुकसँग व्यापार गरेको छ भने त्यसमध्ये ९० प्रतिशतभन्दा बढी मुलुकसँगको व्यापारमा घाटा व्यहोरेको विभागको तथ्यांकले देखाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया