Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएभरेष्ट बैंकले ग्रिनलाइनको धितोमा रहेको सम्पत्ति लिलाम गर्न निकाल्यो सूचना

एभरेष्ट बैंकले ग्रिनलाइनको धितोमा रहेको सम्पत्ति लिलाम गर्न निकाल्यो सूचना

ग्रिनलाइन सेन्टरलाई कर्जा दिने अन्य तीन बैंकले कर्जाको सावाँब्याज कसरी उठाउने ?


काठमाडौं । एभरेष्ट बैंकले ग्रिनलाइन सेन्टरको नाउँमा बैंकको लाजिम्पाट शाखामा धितो कायम रहेको सम्पत्ति लिलाम गर्ने भएको छ । लिलामको लागि बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेको छ ।

बैंकका अनुसार ग्रिनलाइन सेन्टरका सञ्चालकहरु अभिषेक अग्रवाल, अमित अग्रवाल, ओम प्रकाश अग्रवाल, उषा अग्रवाल र आरती धिराइयाले बैंकको लाजिम्पाट शाखाबाट हाइपोथिकेसन कर्जा लिएका थिए । तर लामो समयसम्म उक्त कर्जा भुक्तानी नगरेको, कर्जा तिर्न आउनको लागि बैंकले पटक–पटक लिखित तथा मौखिकरुपमा ताकेता गर्दा पनि ऋणी अग्रवाल परिवार सम्पर्कमा नआएको भन्दै नियमसंगतरुपमा कर्जाको सावाँ, ब्याज उठाउनको लागि लिलामी प्रक्रिया सुरु गरेको जानकारी दिएको छ । बैंकका अनुसार कर्जा चुक्ता गर्न आउनको लागि बैंकले पहिलोपटक २०७८ पुस २९ गते ऋणीको नाउँमा ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । तर पनि ऋणी सम्पर्कमा नआएपछि बैंकले २०७८ फागुन २६ गते दिउँसो २ बजे बैंकको लाजिम्पाट शाखामा ग्रिनलाइन सेन्टरको नाउँमा धितो कायम रहेको सम्पत्ति लिलाम गर्नको लागि सार्वजनिक सूचना जारी गरेको हो ।

बैंकले जारी गरेको सूचनाअनुसार अभिशेक अग्रवाल, पत्नी आरती धिराइयाको नाउँमा संयुक्तरुपमा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नं ३३ स्थित कित्ता नं ३८७० को क्षेत्रफल १७७.०१ वर्गमिटरको घरजग्गा तथा अन्य सम्पूर्ण सम्पत्तिहरु, उषा अग्रवाल र ओम प्रकाश अग्रवालको नाउँमा कामनपा वडा नं ३३ स्थित कित्ता नं ५ मा रहेको जग्गा र उक्त जग्गामा रहेको सम्पूर्ण पक्की घरहरु तथा अन्य सामग्रीहरु, अमित अग्रवालको कामनपा वडा नं २ मा रहेको सुरज आर्केडको चौथो तल्लाको कोठा नं ४ मा रहेको धारा, बिजुली तथा कोठाका सम्पूर्ण सामानहरु, प्याक गरिएका विभिन्न ब्राण्डका मदिराहरु, ड्याट्सन गो गाडी एक थान र ओम्नी कार्गो भ्यान एक थान समेत लिलाम गर्नको लागि बैंकले सार्वजनिक सूचना जारी गरेको हो ।

काठमाडौंको जमलमा रहेको ग्रिनलाइन सेन्टरमा एभरेष्टसहित चारवटा बैंकहरुको ८० करोड रुपैयाँ रहेको छ । एभरेष्ट बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले उक्त कम्पनीलाई चालू पुँजी शीर्षकमा कर्जा दिएको र कर्जा लिएका कम्पनीका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाललाई चारवटा बैंकको झण्डै ८० करोड रुपैयाँ कर्जा दिएका हुन् ।

राष्ट्र बैंक स्रोतका अनुसार उक्त कम्पनीलाई मेगा बैैंकले २४ करोड, ग्लोबल आईएमई बैंकले सात करोड, एभरेष्ट बैंकले २० करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ३० करोड रुपैयाँ कर्जा दिएको देखिएको छ । ग्रिनलाइन सेन्टरले ब्राण्डेड रक्सीहरुको व्यापार गर्दै आएको र त्यही व्यापारलाई देखेर बैंकहरुले पर्याप्त मात्रामा धितो नै नलिईकन चालू पुँजी शीर्षकमा कर्जा दिएको देखियो, राष्ट्र बैंक स्रोतले भनेको छ । अनुसन्धानका क्रममा एभरेष्ट बैंकले भने चालू पुँजी शीर्षकमा कर्जा दिए पनि ग्रिनलाइन सेन्टरको कम्पनीको घर नै धितो राखेर कर्जा दिएको देखियो, सोही आधारमा उक्त कर्जा प्रकरणमा एभरेष्ट बैंकलाई कर्जा उठाउनको लागि पर्याप्त धितो रहे पनि अन्य तीनवटा बैंकलाई भने कर्जा उठाउन समस्या हुने देखिएको छ ।

कम्पनीका सञ्चालक अग्रवाल परिवार केही समय फरार भएपछि आफ्नो कर्जा असुरक्षित भएको ठान्दै २०७८ पुस २१ गते नै एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रिनलाइन सेन्टरको गोदाममा छापी मारी सिल गरेका थिए । अहिले भने उक्त कम्पनीलाई कर्जा दिने ग्लोबल आईएमई बैंक र मेगा बैकले पनि ग्रिनलाइन सेन्टरमा कर्जा चुक्ता गर्नको लागि सूचना टाँस गर्दै सिल गरेका छन् ।

राष्ट्र बैंक स्रोतका अनुसार ऋणी ग्राहक फरार भएपछि बैंकले गत पुस २२ अग्रवालद्वयलाई खोजी गरिपाऊँ भन्दै केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध महाशाखा मीनभवन, महानगरीय प्रहरी परिसर काठमाडौं आदिमा जाहेरी दर्ता गराएका थिए । बैंकहरुले जाहेरी दर्ता गरेपछि अग्रवालद्वयबाट आफूहरु पनि ठगिएको भन्दै उजुरी दिन विभिन्न व्यक्तिहरु आएको सीआईबी स्रोतले बताएको छ । सीआईबी स्रोतका अनुसार बैंकहरुको ८० करोड रुपैयाँ डुबाएका अग्रवालद्वयले घरजग्गा बेचेर तिर्ने भन्दै केही, उद्योगी, व्यवसायी र सर्वसाधारणहरुबाट समेत झण्डै एक अर्ब रुपैयाँ ठगेर फरार भएको देखिएको छ ।

Open photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया