Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व प्रमुख खनालमाथिको आक्रमणमा सशस्त्र प्रहरी विवादित

राजस्व प्रमुख खनालमाथिको आक्रमणमा सशस्त्र प्रहरी विवादित


विराटनगर । गत हप्ता राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुखमाथि तस्करीको लाइन चलाउनेले कार्यकक्षमै भौतिक आक्रमण गरेपछि कार्यालय सुरक्षारार्थ खटिएको सशस्त्र प्रहरी नै तस्करसँगको सेटिङमा चलेको बताउन थालिएको छ ।

लामो समयदेखि सन्तोष यादवले खाद्यवस्तु, चिनी र सूर्ती भारतदेखि तस्करी गरी नेपाल ल्याउने र सशस्त्र प्रहरी प्रादेशिक कार्यालय प्रदेश १ उनको रक्षाकवच भएर बस्नेगरेको घटना बाहिरिएको हो । सन्तोष यादवले सशस्त्र प्रहरीका सई गणेश खड्काको सामुन्ने नै कार्यालय प्रमुख तिर्थराज खनाललाई हातपात गरेका थिए । खड्कालाई सशस्त्र प्रहरी बल प्रदेश नम्बर १ कार्यालय सुनसरीका घुमुवा हुन् । यसरी कार्यालयको सुरक्षादेखि कार्यरत कर्मचारीको समेत सुरक्षामा खटिएको प्रहरीकै सामुन्ने एक व्यक्तिबाट हातपात गर्ने मनोबल कहाँबाट प्राप्त भयो भन्ने प्रश्न यतिबेला उब्जिएको छ । खड्का सशस्त्र प्रहरी १ नम्बर प्रदेश कार्यालय बराह बाहिनीको मुख्यालय पकली सुनसरीमा कार्यरत रहेको रहस्य खुलेको छ । उनी सशस्त्र प्रहरी प्रदेश १ नं. का डीआईजी कमल गिरीका सादा पोशाकका अत्यन्तै विश्वासिला ‘घुमुवा’ प्रहरी भएको दाबी स्रोतले गरेको छ ।

पछिल्लो समय अनुसन्धान कार्यालय सुनसरीको प्रमुखमा तिर्थराज खनालको नियुक्ति भएपछि सुनसरीमा सशस्त्र प्रहरीको मिलेमतोमा सीमा क्षेत्रमा खुलेआम तस्करी भइरहेको गुनासो स्थानीयले गर्न थालेपछि प्रमुख खनाल आफैँ गस्तीमा जाने गरेपछि तस्कर हतोत्साहित भएको बताइएको छ । त्यसै कारण सशस्त्रका सादा पोसाकका सई खड्काले तस्करका नाइके यादवलाई लिएर राजस्व अनुसन्धानका प्रमुख खनालसँग रकमको ‘डिल’ गर्न कार्यालय पुगेपछि कार्यालय प्रमुखमाथि नै हातपात भएको स्रोतले बताएको छ । कार्यालय प्रमुख खनालमाथि भएको आक्रमणको बेला सशस्त्रका सई खड्का रमिते बनेको कारणबाट पनि तस्करसँग सशस्त्र प्रहरी कार्यालय प्रदेश १ को राम्रो सेटिङ रहेको कुरा पुष्टि हुने दाबी पनि स्रोतले गरेको छ ।

यस्तै घटनापछि पक्राउ गरी थुनामा राख्ने आदेश गरेको राजस्व कार्यालयबाट यादवलाई खड्काले आफ्नै जवानीमा थुनामुक्त गरी आदेशअनुसारको हाजिर गराउने भन्दै बुझेर लगेको पाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरी आफैँले आवश्यक परेको बेला हाजिरी गराउने सर्तमा तस्कर यादव बुझी लगेपछि हाल यादव फरार छन् । यादव फरार भएसँगै डीआईजी कमल गिरीको तस्करसँग हुनेगरेको सेटिङ छताछुल्न बन्न पुगेको हो । अहिले सुनसरीको घुक्सी, श्रीपुर, लौकही, साहेबगञ्ज, अमडुवा, कप्तानगञ्जलगायतका नाकाहरूबाट व्यापकरुपमा तस्करी हुँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया