Techie IT
×
गृहपृष्ठसमाचारसरकारद्वारा सुपारी आयातको कोटा वितरण

सरकारद्वारा सुपारी आयातको कोटा वितरण


विराटनगर । सरकारले सुपारी आयातको कोटा वितरण गरेको छ । सुपारी आयात बन्द गरेको सरकारले कोटा निर्धारण गरी हाल खुला गरेको हो । गत माघ १० गतेको मन्त्रिपरिषद्को बैठकले गुट्खा उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थको नाममा २५ हजार टन सुपारीसहित १५ हजार टन मरिच र १५ हजार टन मटर आयात खुला गर्ने निर्णय गरेको पाइएको हो ।

माघ १० गते नै मन्त्रिपरिषद् निर्णयबाट सुपारी आयातको निर्णय गरिएको भए पनि पछिल्लो समय उद्योगले सोझै सुपारी आयात गर्न नसक्ने जनाउ दिएपछि उक्त निर्णय सार्वजानिक गरिएको थिएन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त निर्णय सच्याउँदै फर्मका नाममा पनि आयात अनुमति दिने निर्णय भएपछि मात्रै सुपारी, मटर र मरिच आयातको सरकारी निर्णय सार्वजनिक भएको हो । देशमा २२ वटा गुट्का उद्योग उद्योग विभागमा दर्ता कायम भएका छन् । हाल सञ्चालनमा रहेको श्रीराम टोबाको, उपकार गुट्खा र देउती गुट्खाको नाममा मात्र सुपारी आयात गर्न दिँदा २५ हजार टन सुपारी आवश्यकताभन्दा बढी आयात हुने देखिएपछि सरकारले आफ्नो निर्णय सच्याउँदै ट्रेडिङ फर्ममार्फत पनि सुपारी आयात गर्नसक्ने निर्णय गरेको हो ।

उद्योगलाई आयात अनुमति दिने निर्णय कार्यान्वयन गर्न नसकिने देखिएपछि सरकारले नै निर्णय सच्याएर ती उद्योगले दिएको सिफारिसमा आएका ट्रेडिङ फर्मका नाममा पनि सुपारी आयातको अनुमति दिने काम विभागले अघि बढाएको थियो । व्यवसायी स्रोतका अनुसार मन्त्रिपरिषद्ले विराटनगरका सुपारी व्यवसायी र भैरहवाका सुपारी व्यवसायीको नाममा दर्ता कायम रहेका फर्मलाई कोटा तोकेरै आयात अनुमति दिने निर्णय गरेपछि यो सुपारी आयातको विषय थप पेचिलो बनोको छ । सरकारको निर्णयअनुसार उपभोक्ताहित संरक्षण विभागलाई कानुनी प्रक्रिया पु-याएर मन्त्रिपरिषद्बाट निर्णय भएका फर्म र उद्योगलाई सुपारी आयात गर्न दिने भन्नेसम्मको व्यवस्था मिलाउन पछिल्लो समय सरकारबाट निर्देशन नै भएको सुपारी व्यवसायीको दाबी छ ।

स्रोतका अनुसार यो पटक राजपत्रमा समेत सूचना प्रकाशित नगरी आयात खुला गर्न मिल्ने गरी सरकारले निर्णय गरेको छ । मन्त्रालयले केही दिनभित्रैमा विभागबाट सुपारी कोटा निर्धारण भएका ट्रेडिङ फर्मलाई बोलाएर प्रतिकेजी ४० रुपैयाँसम्म अतिरिक्त शुल्क असुल गरी अनुमति दिन लागेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार आन्तरिक राजस्व कार्यालय नयाँ सडकबाट २०७३/०७४ मा काठमाडौँ महानगरपालिका वडा २२ ठेगाना र अनिता लामाको नाममा दर्ता भएको एनी एन्जल्स बिजनेस प्रालिलाई धेरैजसो सुपारी आयातको कोटा दिने सरकारी निर्णय भइसकेको छ । लामाको नाममा दर्ता कायम भएको उक्त फर्मकोे प्यान नम्बर ६०५९५७२३१ रहेको छ । तर उनी को हुन् र कुन सुपारी व्यवसायीले उक्त प्यान नम्बरको फर्म सञ्चालन गरिरहेको छ भन्ने कुराको रहस्य भने खुल्न सकेको छैन । यसरी सुपारीको आयात खोल्ने आवरणमा उद्योग देखिए पनि त्यसका पछाडि विराटनगर र भइरहवाका सुपारी कारोबारी नै रहेको व्यवसायी स्रोतले दाबी गरेको छ ।

देशमा अहिले सञ्चालनमा रहेका उद्योगले वार्षिक १० हजार टनभन्दा बढी सुपारी खपत नै गर्न नसक्ने सुपारी व्यापारीको भनाइ छ । भारतमा भन्दा सुपारीको भन्सार नेपालमा कम भएकाले त्यसैको फाइदा उठाएर सुपारी व्यवसायीले इन्डोनेसियाबाट ल्याएको सुपारी नेपाल ल्याएर भारत पठाउने गरिएको दाबी पनि सुपारी व्यवसायीको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया