Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वमन्त्री श्रेष्ठविरुद्ध चार करोड ४५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

पूर्वमन्त्री श्रेष्ठविरुद्ध चार करोड ४५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले पदीय दुरुपयोग गरेर अकूत सम्पत्ति कमाएको अभियोगमा श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले उनीविरुद्ध चार करोड ४५ लाख २७ हजार छ सय ६६ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । श्रेष्ठ २०७० मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा बनेको चुनावी सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुदमन्त्री थिए । नेपाल सरकारका पूर्वसचिव समेत रहेका श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरेयता अकूत सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ । आयोगका अनुसार पूर्वमन्त्री श्रेष्ठ २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भई २०६४ माघ ८ गते अनिवार्य अवकाश पाएका थिए । यस्तै, त्यसअघि उनी शिक्षक पदमा २०२६ चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरेको आयोगले जनाएको छ । आयोगका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेयता पूर्वमन्त्री श्रेष्ठको कुल आय छ करोड ९० लाख १६ हजार छ सय २७ रुपैयाँबराबर रहेको देखिन्छ । सो अवधिमा उनले कुल ११ करोड ३५ लाख ४४ हजार दुई सय ९४ बराबर खर्च गरेका छन् । यस आधारमा चार करोड ४५ लाख २७ हजार छ सय ६६ रुपैयाँबराबरको खर्च तथा लगानीको स्रोत नखुलेको आयोगले जनाएको छ ।

शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीजस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको पुष्टि भएको आयोगको भनाइ छ । सोही आधारमा आयोगले श्रेष्ठविरुद्ध चार करोड ४५ लाख २७ हजार छ सय ६६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो । गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढे बढाएको चल/अचल सम्पत्ति घर, जग्गातर्फ बैंक मौज्दात गरी ६८ लाख ५० हजार नौ सय ५३ रुपैयाँ समेत रोक्का राखी जफत गर्न र अपुग बिगो तीन करोड ७६ लाख ७६ हजार सात सय १३ रुपैयाँ र सोको कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितको नाममा रहेको घर जग्गा जमिन रोक्का राख्नका लागि आयोगले माग गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै आयोगले पूर्वमन्त्री श्रेष्ठको श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घर समेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुल गर्न माग गरिएको छ । आयोगले उनीसहित श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठलाई प्रतिवादी कामय गरी निजहरुको नाममा रहेको घर जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न माग दाबी गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया