Techie IT
×
गृहपृष्ठसमाचारखानेपानीको चुहावट नियन्त्रण र महसुल बक्यौता उठाउन निर्देशन

खानेपानीको चुहावट नियन्त्रण र महसुल बक्यौता उठाउन निर्देशन


काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले महसुल बक्यौता उठाउन संस्थानका व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका हुन् । यस्तै उनले आगमी खानेपानी सेवा पनि निःशुल्क गर्न आफूले पहल गरिरहेको बताए । हरेक नेपालीलाई निःशुल्क खानेपानीको सेवा विस्तार तत्काल सम्भव नभए पनि सरकारले न्यून शुल्कमा खानेपानी वितरण कार्य कार्यान्वयनमा ल्याउने प्रतिबद्धता उनले जनाए ।

मन्त्री चौधरीले खानेपानीको शुल्क निर्धारण आयोग केही दिनमै गठन गरिने जानकारी समेत दिए । मन्त्री चौधरीले आयोगले खानेपानीको व्यावहारिक र सर्वसुलभ शुल्क निर्धारण गर्ने गरी सुझाव दिने विश्वास व्यक्त गरे । संस्थानले मुलुकका २३ वटा नगर क्षेत्रमा मात्र सेवा दिइरहेको भन्दै विस्तारको लागि निर्देशन समेत दिए । संविधानले हरेक नेपालीलाई स्वच्छ र शुद्ध खानेपानीको पहुँचलाई मौलिक हकको रूपमा पत्याभूति गरेकाले ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा ल्याइने उनको भनाइ छ । खानेपानीको गुणस्तरीय सेवा देशव्यापी पु-याउने मन्त्रालयको लक्ष्य भइरहेको बेला काभ्रेमा संस्थानले स्थापना गरेको कारखानाबाट जारमा मिनरल वाटर उत्पादन र वितरण गर्ने कार्य बन्द गर्न नहुने बताए ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानीको महसुल प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्न, विगतका सबै आर्थिक वर्षको लेखापरीक्षण गर्न, ४५ प्रतिशत खानेपानीको चुहावट घटाएर १५ प्रतिशतमा झार्न, पारदशी, मितव्ययी र उत्तरदायी भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । उनले खानेपानीका सफल आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण हुँदै जाने र घाटामा गएका खानेपानीका आयोजनाको दायित्व संस्थानले बेहोर्दै जाँदा संस्थानको भविष्य धराशायी हुने बताए । संस्थानले उत्पादन गरेको जारको पानी उत्पादनको मात्रा बढाउने र सबै मन्त्रालय तथा सरकारी कार्यालयलाई बिक्री गर्नुपर्ने सुझाव दिए । संस्थानको कर्मचारी युनियनका प्रतिनिधि समिर पण्डितले करार सेवा, ज्यालादारी कर्मचारी संस्थानमा धेरै रहेको भन्दै संस्थानको विनियम परिवर्तन गरी आन्तरिक प्रतिस्पर्धाबाट एक पटकको लागि स्थायी गर्नुपर्ने माग गरे । पण्डितले भरतपुर, हेटौंंडा र धरानजस्ता सफल खानेपानी योजनाहरू हस्तान्तरण हुने तर घाटामा गएका आयोजना भने संस्थानले दायित्व लिने परम्पराले सस्थान कमजोर हुनसक्ने बताए ।

संस्थान सञ्चालकसहितका अध्यक्ष गुणखर भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चालक समितिकी सदस्य नीरकुमारी कुँवर, संस्थानका महाप्रबन्धक ईश्वर प्रसादलगायतले संस्थानले चालू आर्थिक वर्षमा संस्थानको सुधारका लागि भएका कार्यको विवरण जानकारी गराएका थिए । सो अवसरमा संस्थानका अवकासप्राप्त कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यस्तै गत आर्थिक वर्षमा सबैभन्दा धेरै बिलिङ गर्ने पाँचवटा खानेपानी शाखहरू धनगढी, विराटनगर, बुटबल, गौसाला, हेम्जा र भद्रपुरलाई पुरस्कृत गरियो । त्यस्तै, संस्थानका उत्कृष्ट कर्मचारीहरू रिक्तबहादुर भुजेल, शान्तिकुमारी ज्ञावली, राममाया घलान, शान्ति श्रेष्ठ, रत्नप्रसाद चौधरीलगायतलाई पुरस्कृत गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया