Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअख्तियारको निर्देशनविपरीत नेपालीको नाममा कम्पनी स्थापना गरी गैरकानुनी रुपमा होर्डिङ बोर्डको धन्दा

अख्तियारको निर्देशनविपरीत नेपालीको नाममा कम्पनी स्थापना गरी गैरकानुनी रुपमा होर्डिङ बोर्डको धन्दा


काठमाडौं । ललितपुर महानगरपालिकाभित्र होर्डिङ बोर्ड राख्न दोहोरो सम्झौता गरेको एउटा संस्थाले सम्झौताविपरीत कार्य गरेको पाइएको छ । प्रवाह मिडिया प्रालिले आकाशेपुलमा विज्ञापन गर्ने सम्बन्धमा महानगरपालिकासँग गरेको १३ बुँदे करारनामाविपरीत होर्डिङ बोर्ड राखेको पाइएको हो ।

२०७५ कात्तिक ११ गते भएको उक्त सम्झौता महानगरपालिका र नेपाली नागरिक छविलाल दाहालबीच भएको देखिए पनि त्यसको पर्दापछाडिको सञ्चालक बलिस्टर शुक्ला रहेको पाइएको छ ।

नरेफाँटमा कार्यालय रहेको प्रवाह मिडियासँग सम्झौता भएको देखिए पनि कुपण्डोल छेउमा वाग्मती लिंकरोडमा रहेको एनडीएमएस मिडियाको कार्यालयबाट उक्त मिडियाले देशभर गर्ने कार्य सञ्चालन गर्ने गरेको छ । विस्तारवादी भनिएको भारतका नागरिकको कार्यालयमा कारिन्दाका रुपमा रहेर कम्पनी मालिक र उनका आसेपासेले कार्य गर्नुले सबैलाई आश्चर्य चकित बनाएको छ ।

ती दुई पक्षबीच रिङरोडअन्तर्गत ग्वार्को र धापाखेलमा निर्माण भएको आकाशेपुलमा डिजिटल बोर्ड निर्माण गरी विज्ञापन गर्ने करारनामा, बोर्डको डिजाइन वातावरणमैत्री र सहरी सुन्दरता झल्किने गरी बनाइने उल्लेख छ । २०८० कात्तिक १४ गतेसम्म कायम रहने उक्त करारनामा मिडियाले यसअघि नै उल्लङ्घन गरिसकेको छ ।

सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले २०७७ असार १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मापदण्ड बनाई प्रतिस्पर्धा हुने गरी मात्र सो किसिमका कार्यहरु गराउन निर्देशन प्राप्त भएबमोजिम सडक विभागबाट मापदण्ड निमार्णकार्य लगभग अन्तिम चरणमा पुगेको हुँदा हाललाई उक्त मापदण्ड स्वीकृत नभइन्जेल सडक विभागअन्तर्गतका सडकहरुमा सूचनामूलक व्यावसायिक विज्ञापन राख्ने अनुमति दिन नसकिने जानकारी गराएको थियो । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ कात्तिक ११ गते यस सम्बन्धमा सडक विभाग र काठमाडौं महानगरपालिकालाई अत्यन्त जरुरी गोप्यपत्रमार्फत आयोगको निर्णय जानकारी गराएको थियो ।

आयोगले पठाएको उक्त पत्रमा आफ्ना तीनवटा निर्णय उल्लेख गरेको छ । पहिलो निर्णयमा काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सडक किनारहरुका निजी कम्पनीहरुलाई यात्रु प्रतीक्षालय निर्माणको स्वीकृति दिनुअघि यात्रु प्रतीक्षालय आवश्यकता हुने स्थानहरुको पहिचान, उपयुक्त डिजाइन उपलब्ध गराइने सुविधाहरुलगायतका विषयहरुका एक अध्ययन गर्ने/गराउने भनिएको छ । उक्त पत्रको दोस्रो बुँदामा उक्त अध्ययन समेतको आधारमा सार्वजनिक सडक किनारमा निर्माण गरिने यात्रु प्रतीक्षालयको उचित डिजाइन तथा मापदण्ड तयार गरी अधिकारप्राप्त अधिकारीबाट स्वीकृत गर्ने/गराउने भनिएको छ । त्यसैगरी तेस्रो बुँदामा स्वीकृत मापदण्डको अधीनमा रही आफ्नै खर्चमा यात्रु प्रतीक्षालय निर्माण तथा सम्भार गर्न इच्छुक कम्पनीहरु वा व्यक्तिहरुबीच पर्याप्त प्रतिस्पर्धा गराई प्रचलित कानुनबमोजिम सोलार बत्ती समेतको सुविधा भएको यात्रु प्रतीक्षालय निर्माण तथा सम्भार गर्ने/गराउने भनिएको छ ।

ललितपुर महानगरपालिकाको हकमा पनि अख्तियारको त्यही निर्देशन लागू हुने हो तर नेपालीको नाममा खोलिएको कम्पनीका मालिकलाई कारिन्दा बनाएर होर्डिङ बोर्ड राख्ने नाममा भएको सम्झौता र अख्तियारको निर्देशनलाई समेत धोती लगाएर भारतीय व्यापारीले मनपरी ढंगले जताततै फ्लेक्सबोर्ड राख्दा पनि त्यसलाई रोक्ने र कारबाही गर्ने आँट कुनै निकायबाट हुनसकेको छैन ।

Open photo

लगानीकर्ता शुक्लाले कम्पनीका नामधारी नेपालीलाई खटाएर कारबाही गर्ने निकायलाई समेत धम्क्याउने र आफूअनुकूल वातावरण बनाउने गर्दै आएका छन् । यस सम्बन्धमा के भएको भनी बलिस्टर शुक्लासँग सम्पर्क गर्दा उनले ललितपुरमा फ्लेक्स बोर्ड राख्न अनुमति भएको बताए । ‘फ्लेक्स बोर्ड राख्ने अनुमति नभएको भए ललितपुर महानगरले च्यातिहाल्थ्यो नि’, शुक्लाले भने, ‘काठमाडौंमा फलेक्स बोर्ड राख्न नपाए पनि ललितपुरमा भने जहाँ जसरी पनि फ्लेक्स बोर्ड राख्न मिल्ने र यसमा महानगरपालिकाकै समर्थन रहेको छ ।’ उनले फ्लेक्स बोर्डको बारेमा थप जानकारीको लागि आफूले सम्झौता गरी लिगेको प्रवाह मिडियालाई फोन गर्न आग्रह गरे । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया