Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग प्रवेश गराउन गाह्रो भएको सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान

उद्योग प्रवेश गराउन गाह्रो भएको सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान


काठमाडौं । सम्भाव्यता अध्ययन भएको २० वर्ष भइसक्दा पनि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को विकास हुनसकेको छैन । सन् २००० मा सम्भाव्यता अध्ययन तथा सन् २००४ मा भने सिमरा, पाँचखाल र नुवाकोटमा प्राधिकरण स्थापना गर्ने निर्णय गरेको नेपाल सरकारले २००८/००९ को बजेटमार्फत धनुषा, धनगढी र जुम्लामा प्राधिकरण स्थापना घोषणा गरेको थियो ।

त्यसपछि मुलुकका विभिन्न १४ स्थानमा प्राधिकरण स्थापना गर्ने घोषणा गरेको थियो । तर, हालसम्म एउटा सेजले पनि पूर्णता प्राप्त गर्नसकेको छैन । एकातर्फ सेजले पूर्णता प्राप्त गर्न नसक्नु अर्कोतर्फ उद्योगहरु प्रवेश गर्न अरुचि देखाउनुको बाबजुद पनि प्राधिकरणले उद्योग स्थापनाका लागि भैरहवा सेज र सिमरा सेजमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ । विशेष गरी सेजमा पूर्वाधारको विकास नहुँदै उद्योगीहरुलाई प्रस्ताव पेश गर्न आग्रह गर्नु निर्यात मापदण्ड र कर्मचारीतन्त्रको कार्यशैलीका कारण उद्योगीहरु आउन चाहेका छैनन् । सेजमा उत्पादन भएका वस्तुहरुमध्ये ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने बाध्यकारी व्यवस्था छ भने यसअघि ७५ प्रतिशत रहेको थियो ।

यसैबीच कैयौँ वर्ष ट्रान्सफर्मर उपलब्ध नहुँदा अलपत्र परेको भैरहवा सेजमा ५० वटाभन्दा बढी प्लट प्रदान गर्न सकिने प्राधिकरणले जनाएको छ । त्यसमध्ये हालसम्म बढीमा पाँच वटा प्लटहरु मात्र प्रयोगमा आएका थिए । उक्त अवस्था पनि अहिले छैन । शक्ति मिनरल्सले भैरहवा सेजमा आफ्नो उत्पादन गरी निर्यात गरेकोमा उक्त उद्योग समेत बाहिरिने तयारीमा छ ।

सिमरा सेज अर्थात् सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रमा समेत उद्योगीहरु आउन इच्छुक देखिएका छैनन् । ६८ वटा प्लटहरु रहेको सिमरा सेजमा गार्मेन्ट प्रशोधन उद्योगलाई प्रमुख प्राथमिकतामा राखे पनि ती उद्योगहरुले रुचि देखाएका छैनन् । अमेरिकाले १० वर्षसम्म नेपाली गार्मेन्टलाई शून्य भन्सार गरेको कारण सेजमा गार्मेन्ट उत्पादनलाई प्राथमिकतामा राखे पनि उद्योग आउनसकेका छैनन् । गार्मेन्ट उद्योग आउन नसकेपछि अन्य उद्योगलाई खुला गरेको सिमरा सेज पनि प्रभावकारी बन्नसकेको छैन । भैरहवा र सिमरा सेजको विकासमा सरकारले चासो नदिएको भन्दै स्वयं प्राधिकरणका कर्मचारीहरु सेज खारेज गरिदिए हुने प्रतिक्रिया दिँदै आएका थिए । भैरहवा, सिमरापछि पाँचखाल सेजमा रुख कटान तथा भवन निर्माणको प्रक्रिया अघि बढाउने भने पनि त्यसो हुनसकेको छैन ।

यसैबीच प्राधिकरणले गत साता भैरहवा तथा सिमरा सेजभित्र उद्योग स्थापना तथा सञ्चालन गर्न चाहने उद्योगी र लगानीकर्ताहरुलाई विशेष आर्थिक क्षेत्र ऐन, २०७३ (पहिलो संशोधन) को दफा ८ तथा विशेष आर्थिक क्षेत्र नियमावली, २०७४ (पहिलो संशोधन) को नियम २४ अनुसार प्राधिकरणसमक्ष प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

उद्योग छनोट ‘उद्योगलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, २०७८’ अनुसार गरिने र उद्योगहरुको क्लस्टेरिङ गरी प्लट उपलब्ध गराउने समेत प्राधिकारणले जनाएको छ । विशेष आर्थिक क्षेत्रले उपलब्ध गराउने भौतिक पूर्वाधारहरुमा भने आन्तरिक सडक, विद्युत्, पानी, ढल, पेट्रोल पम्प, धर्मकाटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बीमा आदि रहेका छन् । भैरहवा सेजमा ब्लक ‘ए’ भित्र भित्र ४५ वटा प्लट र सिमरा सेजअन्तर्गत ब्लक ‘ए’ भित्र ६८ वटा प्लटहरु उपलब्ध गराउने भएको छ । भू–बहाल .(भाडा) मासिक २० रुपैयाँ तथा भू–बहाल अवधि बढीमा ३० वर्ष, कानुनमा व्यवस्था भएबमोजिम थप गर्न सकिनेछ । इच्छुकहरुले प्रस्ताव ३० फागुनभित्र दिनुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया