नागढुंगा सुरुङमार्गको काम ४५ प्रतिशतभन्दा बढी सकियो
गाडी गुड्ने मुख्य सुरुङको काम तीव्र
काठमाडौं । नेपालको सडक यातायातमा एउटा ऐतिहासिक विकासको रुपमा हेरिएको ‘नागढुंगा सुरुङमार्ग’को काम ४५ प्रतिशतभन्दा बढी सकिएको छ । सडक विभागका अनुसार करिब एक किलोमिटर गाडी गुड्ने मुख्य सुरुङ खन्ने काम सकिएको छ । गत आइतबार नै सुरुङमार्ग आयोजनाले २६ सय ८८ मिटरमध्ये नौ सय ७० दशमलव २० मिटर मुख्य सुरुङ खन्ने काम सकिएको जनाएको थियो । त्यसपछि पनि दिनरात काम भइरहेको कारण करिब एक एक किलोमिटर मुख्य सुरुङको काम सकिएको छ । साथै मुख्य सुरुङको फिनिसिङ्ग गर्ने काम पनि सुरु भएको छ ।
आयोजनाका अनुसार मुख्य सुरुङको कुल २६ सय ८८ मिटरमध्ये पूर्व अर्थात् काठमाडौं तर्फबाट चार सय ८७ दशमलव ४० मिटर र पश्चिमतर्फ धादिङको सिस्नेखोलाबाट चार सय ८२ दशमलव ८० मिटर खन्ने काम सकिएको छ । उक्त काम ३६ दशमलव एक प्रतिशत हो ।
मुख्य सुरुङभन्दा इभ्याकुएसन टनेल अर्थात् पछि गाडी चल्न थालेपछि इमर्जेन्सी कामको लागि सञ्चालन गरिने सुरुङको काम भने धेरै सकिएको छ । इभ्याकुएसन टनेलको काम ५३ दशमलव तीन प्रतिशत सकिएको छ । अहिले उक्त सुरुङ मुख्य सुरुङ खनेपछि निस्किने माटो ढुंगा निकाल्न प्रयोग भइरहेको छ । मुख्य सुरुङको फिनिसिङको काम थालेपछि उक्त इभ्याकुएसन टनेलको प्रयोग बढ्नेछ । उक्त सुरुङ काठमाडौंतर्फबाट सात सय ९० मिटर र धादिङतर्फबाट पाँच सय ७३ मिटर खनिएको छ । उक्त सुरुङको कुल लम्बाइ २५ सय ५७ मिटर रहेकामा १३ सय ६३ मिटर खनिएको छ । यही गतिमा काम भएमा तोकिएको मितिअगावै सुरुङको काम सकिने अपेक्षा गरिएको छ ।
यस्तै, एक सय २६ मिटर लामो वर्किङ अडिटको काम यसअघि नै पूरा भइसकेको छ भने क्रस प्यासेज अर्थात् मुख्य सुरुङ र इभ्याकुएसन टनेल जोड्ने सुरुङको काम भने ४३ दशमलव ४० मिटर खनिएको छ । उक्त सुरुङको लम्बाइ एक सय २८ मिटर छ । त्यसमध्ये पूर्वतर्फ २७ दशमलव ८५ मिटर र पश्चिमतर्फ १५ दशमलव ५५ मिटर गरी कुल ४३ दशमलव ४० मिटर अर्थात् ३३ दशमलव नौ प्रतिशत काम पूरा भएको छ ।
मेन टनेल, इभ्याकुएसन टनेल, वर्किङ्ग अडिट र क्रम पास गरी कुल ५४ सय ९९ मिटरमध्ये पूर्वतर्फ १३ सय पाँच दशमलव २५ मिटर र पश्चिमतर्फ ११ सय ९७ दशमलव ३५ मिटर गरी २५ सय दुई दशमलव ६० मिटर अर्थात् ४५ दशमलव पाँच प्रतिशत सकिएको छ । इभ्याकुएसन टनेलको काम भने अब ११ सय ९४ मिटर मात्र बाँकी छ । बाहिरी काम धेरै सकेर सुरुङको काममा मात्र जनशक्ति केन्द्रित गरिएको कारण सुरुङको कामले तीव्रता लिएको सडक विभागका उपमहानिर्शेक तथा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख रामहरी पोखरेलले जानकारी दिए ।
सुरुङमार्गलाई तीव्रता दिएको आयोजनाले काठमाडौंतर्फको पहुँचमार्गको काम पनि धमाधम गरिरहेको छ । मुआब्जाको काम सकेर सुरुङको पूर्वी भागबाट कलंकी–नागढुंगा सडकको बलम्बुमा उक्त सडक जोडिनेछ । सो स्थानमा फ्लाई ओभर पनि निर्माण हुनेछ । अहिले फ्लाई ओभर निर्माण गरिने स्थानबाटै सडकको काम भइरहेको छ ।
२०७७ पुस ८ गतेबाट सुरुङमार्ग खन्न थालिएको थियो । त्यसअघि सुरुङ खन्नका लागि तयार पार्नुपर्ने पूर्वाधारका लागि धेरै समय खर्च गर्नुपरेको थियो । गत वर्षको पुसदेखि भने नागढुंगाको पहाडभित्र मेसिन, विष्फोटक पदार्थ प्रयोग गरेर सडक बनाउन खोतल्ने कार्य जारी छ । सुरुङमार्ग आयोजनाले भूगर्भका प्राविधिक र बाहिरका मानवनिर्मित अवरोध छिचोल्दै सुरुङमार्गको काम चौबीसै घण्टा बिहान, दिउँसो र राति नभनी गरिरहेको छ । यो योजना २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगाको काठमाडौंतर्फ टुटिपाखामा शिलान्यास गरेका थिए । सुरुङमार्ग निर्माणको जिम्मा प्रतिस्पर्धाबाट जापानको हाज्मा–आन्दो जेभीले पाएको थियो । सुरुङ्ग खन्नुअगाडिको पूर्वाधारका काम, मुआब्जा विवाद, विष्फोटका पदार्थ आयातमा ढिलाइ, कोभिड महामारीलगायतको कारण १४ महिना पछि मात्र सुरुङको काम सुरु भयो ।
उक्त योजनाको काम सक्न सरकारले ८६ दिन म्याद थप गरिदिएको छ । उक्त थप म्यादसहित जुलाई २२, २०२३ अर्थात नेपाली मितिअनुसार विक्रम सम्वत् २०८० साल साउन ६ गते शनिबारदेखि ‘नागढुंगा सुरुङमार्ग’ सञ्चालनमा आउनेछ । ‘सम्झौताअनुसार जापानी कम्पनीले ‘नागढुंगा सुरुङमार्ग’बाट २६ अप्रिल २०२३ मा गाडी सञ्चालन गर्ने अवस्थामा नेपाल सरकारलाई दिनुपर्ने थियो ।
‘कोभिडको कारण सरकारले नै काम रोकेकाले उक्त म्यादमा ८६ दिन थप गरिदिएको हो । यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठडमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २ दशमलव ३ किमि र धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर लामो पक्की सडक (पहुँचमार्ग) बनाउनुपर्नेछ । सुरुङमार्गको प्रयोगले थानकोटबाट १० मिनेटमा सिस्नेखोला पुग्न सकिन्छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया