Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभटमास र पाम तेलले थेगेको निर्यात व्यापार

भटमास र पाम तेलले थेगेको निर्यात व्यापार


काठमाडौं । कच्चापदार्थ आयात गरी निर्यात व्यापार धान्दै आएको मुलुकको व्यापार भने भटमास र पाम तेलले थेगेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ को प्रथम सात महिनाको अवधिमा नेपालको कुल निकासी ८८.३ प्रतिशतले वृद्धि भई एक खर्ब ३१ अर्ब ६६ करोड तथा कुल पैठारी ४२.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड पुगेको छ । उक्त निर्यात व्यापार बढ्नुमा भटमास, पाम तेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचालगायतका सामग्री रहेको केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रथम सात महिनाको अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः११.५ रहेकोमा आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः८.७ रहन आएको छ ।

यसैबीच उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, सूर्यमुखी तेल, ऊनी फेल्टका उत्पादन, जुस, अलैँची, चिया, कपडा, पश्मिना सल, कुकर र विरालोको आहार (डग च्यू) चाउ चाउ, फलाम तथा फलामका उत्पादनहरु, जडीबुटी, नेपाली हातेकागज, जुत्ता तथा रोजिन र रेजिन एसिड प्रमुखरुपमा रहेका छन् । समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा ८८.१२ प्रतिशतले वृद्धि भई ३६ अर्ब ८५ करोड पुगेको छ ।

यसैगरी समीक्षा अवधिमा पामतेलको निर्यातमा भारी वृद्धि भई ३४ अर्ब १६ करोड पुगेको छ । समीक्षा अवधिमा यार्न (पोलिष्टर, सुती तथा अन्य)को निर्यातमा ५५.१६ प्रतिशतले वृद्धि भई सात अर्ब पाँच करोड पुगेको छ । यसैगरी परम्परागत नेपाली निर्यातजन्य वस्तु ऊनी गलैँचाको निर्यातमा समीक्षा अवधिमा २१.७० प्रतिशतले वृद्धि भई पाँच अर्ब आठ करोड पुगेको छ । त्यसैगरी जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा १९.५७ प्रतिशतले वृद्धि भई चार अर्ब ८० करोड पुगेको छ ।

सात महिनामा प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सूर्यमुखी तेल)को निर्यात नेपालको कुल निर्यातमा ५५.९ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखा परेको छ । यस अवधिमा यी वस्तुहरुको कुल निर्यात ७३ अर्ब ६५ करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पामतेल तथा सूर्यमुखी तेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २७.९९, २५.९५ र २.०१ प्रतिशत रहेको छ ।

पछिल्ला केही महिनाहरुमा सूर्यमुखी तेल पनि नेपालको प्रमुख निकासीयोग्य वस्तुको पहिचान स्थापित गर्दै समीक्षा अवधिमा यस वस्तुको निर्यात दुई अर्ब ९४ करोड पुगेको छ । यसैगरी नेपालको अर्काे परम्परागत निर्यातजन्य वस्तु तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा २६.४९ प्रतिशतले वृद्धि भई चार अर्ब ३० करोड पुगेको छ । यसैगरी अर्को प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा १८.७१ प्रतिशतले वृद्धि भई दुई अर्ब ९४ करोड पुगेको छ । समीक्षा अवधिमा जुसको निकासीमा ४९.३१ प्रतिशतले वृद्धि भई दुई अर्ब ९१ करोड पुगेको छ । समीक्षा अवधिमा कुकर र बिरालोको आहार (डगच्यू)को निर्यातमा ३७.६३ प्रतिशतले वृद्धि भई एक अर्ब ४२ करोड पुग्न गएको छ ।

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यातमा समीक्षा ३८.२८ प्रतिशतले ह्रास आई दुई अर्ब ६४ करोडमा सीमित हुनपुगेको छ । यसैगरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा २८.७७ प्रतिशतले ह्रास आई दुई अर्ब आठ करोडमा सीमित हुनपुगेको छ ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ११३.० प्रतिशतले वृद्धि भई एक खर्ब छ अर्ब ३६ करोड पुगेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७१.४२ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षका सो हिस्सा बढेर ८०.७९ प्रतिशत पुगेको छ । नेपालको निर्यातमा ५५.९ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरुको निर्यात भारतमा नै भइरहेकोले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, इटाली, जापान, क्यानडा, चीन, नेदरलेण्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् ।

त्यस्तै, पैठारीतर्फ समग्रमा सात महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ९३.५ प्रतिशतले वृद्धि भई एक अर्ब ५५ अर्ब ५४ करोड पुगेको छ । यसैगरी समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनहरुको आयातमा २१.० प्रतिशतले वृद्धि भई एक खर्ब ११ अर्ब ८१ करोड, मेसिनरी तथा पार्ट्समा ४२.७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ४९ करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा २९.९ प्रतिशतले वृद्धि भई ६९ अर्ब १५ करोड, कच्चा भटमास तेलको आयातमा ८९.० प्रतिशतले भई ३९ अर्ब ६७ करोड, दूरसञ्चारका सामग्रीको आयातमा २६.७ प्रतिशतले वृद्धि भई ३६ अर्ब ४४ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरुमा १६.५ प्रतिशतले वृद्धि भई ४० अर्ब १४ करोड पुगेको छ । समीक्षा अवधिमा अन्नको आयातमा ३.४ प्रतिशतले वृद्धि भई ५० अर्ब ५३ करोड पुगेको छ । कच्चा पामतेलको आयातमा भारी वृद्धि भई २९ अर्ब २२ करोड पुगेको छ ।

यसैगरी समीक्षा अवधिमा औषधिको आयातमा २०६.१ प्रतिशतले वृद्धि भई ४८ अर्ब ७५ करोड पुगेको छ । खोपको आयात भारी मात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इण्डोनेसिया, युएई, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, युक्रेन, मलेसिया, थाइलेण्ड र ब्राजिल रहेका छन् ।

समीक्षा अवधिमा भौतिक संरचना निर्माणका सामग्रीहरु जस्तै फलाम, स्टिल तथा तिनका सामानहरु, आल्मुनियम, तामाजस्ता वस्तुहरुको आयातमा भएको वृद्धिले मुलुकको विकासमा सकारात्मक योगदान दिएको देखिन्छ । यसैगरी मुलुकका लागि अति आवश्यक औद्योगिक कच्चापदार्थहरु जस्तै कच्चापाम आयल, कच्चा भटमासको तेल, कच्चा सूर्यमुखी तेल, पोलिथिन ग्य्रानुअल, रबर, रसायनजस्ता वस्तुहरुको आयात उल्लेख्य रुपमा भएको छ ।

समीक्षा अवधिमा औद्योगिक क्रियाकलाप अभिवृद्धिमा मुख्य भूमिका खेल्ने क्यापिटलगुड्स (मशिनरी तथा पार्ट्स)को आयातमा वृद्धि हुँदा यस्तो आयातले दीर्घकालमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । यसैगरी समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातमा वृद्धि भए पनि पेट्रोलियम पदार्थको अधिकांश आयात औद्योगिक उत्पादन, मालवस्तु ढुवानी तथा सार्वजनिक यातायातमा खपत भइरहेको सन्दर्भमा यी वस्तुहरुको आयातले पनि मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण योगदान दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया