Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको महत्वपूर्ण योगदान’

‘शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको महत्वपूर्ण योगदान’


काठमाडौं, माघ २७
ललितपुरको सैंबु, बुङ्गमतीमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयले आइतबार स्वर्ण महोत्सव मनाएको छ । ५० वर्ष पुगेको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण उत्सव मनाएको विद्यालयका शिक्षक टंक आचार्यले जानकारी दिए । स्वर्ण उत्सवको प्रमुख अतिथि रहेका उपराष्ट्रपति नन्द बहादुर पुनले विद्यालयले ५० वसन्त पार गरेकोमा विद्यालय परिवारको प्रशंसा गरेका छन् ।

‘सामुदायिक विद्यालयले मुलुकको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ’, उनले भने, ‘मुलुकमा रहेका अन्य विद्यालयहरु पनि आर्दश सौल जस्तो गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ । आर्दश सौल गुणस्तरीय शिक्षाका लागि नमुना विद्यालयको रुपमा रहेको हुदाँ यसको सिको अन्य विद्यालयले समेत गर्नु आवश्यक छ ।’ आगामी दिनमा निजी विद्यालयबाट विद्यार्थीहरु अध्ययनका लागि सामुदायिक विद्यालयमा आउने खालको वातावरण बनाउनुपर्नेमा उनले जोड दिन मुलुकभरका विद्यालयलाई आग्रह गरे ।

कार्यक्रममा सांसद पम्फा भुसालले मुलुकको विकासको लागि शिक्षा अपरिहार्य रहेको बताइन् । मुलुकको विकासको लागि शिक्षा अत्यन्त आवश्यक रहेको भन्दै हालको शिक्षालाई परिमार्जन गरी अघि बढ्नु आवश्यक भएको बताईन् । हरेक विद्यालयमा इलोक्ट्रोनिक पुस्तकालय, विषयअनुसारको प्रयोगशाला, शिक्षक/शिक्षिकाको लागि उपयुक्त सेवा सुविधा लगायतको उचित व्यवस्थापन हुनुपर्ने उनले बताइन् । आदर्श सौलले यति लामो समयसम्म उपत्यकाको मात्र नभएर अन्य जिल्लाका बालबालिकालाई शिक्षा प्रदान गरेर जुन योगदान गरेको छ त्यो अत्यन्त प्रशंसानीय रहेको उनले बताइन् । आदर्श सौलको आजको दिनसम्म आइपुग्नुमा स्वर्गीय पूर्णबहादुर खड्का र २७ वर्षसम्म प्रधानाध्यापकको रुपमा कार्यरत स्वर्गीय भीम प्रसाद सापकोटाको योगदान अविस्मरणीय रहेको छ । प्रधानध्यायपक सरोजभक्त आचार्यले बालबालिकाको सुनौलो भविष्यको आधार भनेको गुणस्तरीय शिक्षा भएको बताए ।

विद्यालयका अध्यक्ष बाबुकृष्ण महर्जनले आदर्श सौलले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिँदै आएको बताए । हाल आदर्श सौलमा अध्यापन गरिरहेका शिक्षकहरु केशव शर्मा तथा निरोज श्रेष्ठले आफूहरुले विद्यार्थीको चाहनाअनुरुप शिक्षा प्रदान गर्न सकेको बताए । शर्माले आफूलाई परिष्कृत गर्दै विज्ञान र प्रविधि युगका विद्यार्थीलाई व्यावहारिक ढंगबाट शिक्षा प्रदान गर्ने गरेको बताए । यस्तै श्रेष्ठले कक्षाकोठामा मात्र अध्ययन कार्यलाई सीमित नगरी बाह्य तथा प्रयोगात्मक ढंगबाट शिक्षा प्रदान गरेको बताए । शिक्षिका नीरु पाण्डे खत्रीले विद्यार्थीको भावना बुझेर पढाउने गरेको बताइन् । विद्यार्थीको चाहनाअनुरुप मल्टिमिडियाको प्रयोग गरी बुझ्ने तरिकाले पढाउने गरेको बताइन् ।

शिक्षिका ममता शाक्य, ललिता विष्ट, सविना मर्हजन, रुपा महर्जन लगायतका शिक्षिकाहरुले भौतिक, आर्थिकलगायतको अभावको बीचमा पनि गुणस्तरीय शिक्षा दिन सफल भएको बताए । २०२६ साल माघ २६ गते स्थापना भएको सो विद्यालय आइतबार ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रममा ललितपुर क्षेत्रका राजनीतिक नेतृत्व, सामाजिक व्यक्तित्व तथा पूर्व तथा वर्तमान शिक्षक/शिक्षिका तथा आर्थिक सहयोग प्रदान गर्ने व्यक्ति, उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया