Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरमा फेरि फस्टायो अवैध भारुको कारोबार

विराटनगरमा फेरि फस्टायो अवैध भारुको कारोबार


विराटनगर । नेपाल राष्ट्र बैंकले भारतिय रूपैयाँ कारोबारमा कडाइ गर्न थालेपछि प्रदेश १ को राजधानी विराटनगरमा भने भारु र मोरुको अवैध कारोबार ह्वात्तै बढ्न पुगेको छ । विराटनगर बजारमा च्याउजस्तै उम्रन पुगेका भारु मोरु सटही काउन्टरहरूले राष्ट्र बैंकको पछिल्लो निर्देशनको अवज्ञा गर्दै खुलेर भारुमोरुको कारोबार गर्न थालेका हुन् । विराटनगर बजारलगायत सुनसरी, झापा र मोरङमा गरी तीन दर्जनभन्दा बढी भारु मोरु सटही काउन्टरले नेपाल राष्ट्र बैकबाट कारोबारको इजाजत पाएका छन् । यस्तै यहाँका विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले समेत भारुको कारोनबार गर्दै आएका छन् ।

विराटनगर बजार र भारतीय बजारको दूरी छ किलोमिटरभित्रमा पर्ने हुँदा विराटनगरको रानि र मिल्स एरियामा सञ्चालन भएका मनीचेन्जरहरू भारतीय बजारमा रहेको भारतीय रुपैया बोकेर विराटनगर बजारका मनीचेन्जरहरूमा खुलेआम भारु र मोरुको कारोबार गरिरहेका छन् । एउटा मनीचेन्जरले सय रुपैयाँ भारुबराबर नेपाल राष्ट्र बैंकले एक सय ६० रुपैयाँ १५ पैसा बिक्रीदर तोकेको भए पनि अहिले बजारमा एक सय ७५ देखि एक सय ९० रुपैयाँसम्म लिनेगरेका छन् ।

विराटनगर बजारमा मनीचेन्जर सञ्चान गर्दै आएका एक व्यवसायीले नेपाल राष्ट्र बैंकले मनीचेन्जरलाई कारोबार गर्ने इजाजत दिए पनि भारु उपलब्ध गराउन नसकेको कारण भारुको अवैध कारोबार बढेको बताए । भारतीय बजारमा महँगोमा भारु किनी सस्तोमा बेच्न नसक्ने भएपछि व्यवसायीले बाध्य भएर महँगोमा भारु बेचेको उनको भनाइ छ । अवैध भारुको कारोबार हटाउन राष्ट्र बैंकले गर्ने आफ्नो अनुगमनमा ब्यापक कडाइ गर्नुपर्ने उनी बताउँछन् ।

अहिले राष्ट्र बैंकले मनीचेन्जरको अनुगमन गरे पनि अनुगमन टोली आउँदै छ भनेर राष्ट्र बैंकमा रहेकै एउटा सञ्जालले मनीचेन्जरहरूलाई अग्रीम जानकारी गराउने गरेका कारण यहाँ सञ्चालित मनीचेन्जरको मनोबल बढ्दै गएको उनको भनाइ छ । जसले गर्दा अवैद्य कारोबार गर्ने मनीचेन्जरदेखि व्यावसायिक प्रतिष्ठानहरू सर्तक भएर आफ्नो कारोबार शून्यमा रेको रेकर्ड अध्यावधिकका साथ नेपाल राष्ट्र बैंकको अनुगमन टोलीलाई देखाउने गरेका छन् ।

विराटनगरमा लामो समयसम्म मनीचेन्जरको कारोबार गरी स्थान परिवर्तन गर्दै केही व्यवसायीहरूले आफ्नो सञ्जाल बढाउन भारतका विभिन्न सहरमा अवैद्य हुण्डीको कारोबार समेत सञ्चालन गरिरहेको उनले बताए । स्रोतका अनुसार पछिल्लो समय राष्ट्र बैंकले मनीचेन्जरलाई भारु उपलब्ध नगराएको भन्दै राष्ट्र बैंकलाई आफ्नो कारोबार बन्द रहेको जानकारी मनीचेन्जर व्यवायीहरूले दिएका छन् । तर तिनै व्यवसायी बन्द गरेको मनीचेन्जरबाट अवैद्य हुण्डीको कारोबार गर्दै खुलेआम भारु र मोरुको कारोबार गरिरहेका छन् ।

यस्तै अवस्था रहीरहेमा अहिले विराटनगरमा बढ्दै गएको अवैद्य भारु र मोरुको कारोबारले भोलिका दिनमा विशाल रूप लिने व्यसायीहरूले नै बताउन थालेका छन् । यसरी दिन प्रतिदिन वैध वा अवैधरूपमा फस्टाउन थालेको भारु मोरुको व्यवसायलाई नियन्त्रण गर्नुपर्ने यहाँका सरोकारवालाहरू बताउँछन् । अवैध कारोबारलाई समयमै प्रशासनले नियन्त्रण गर्न पहल गर्नुपर्ने यहाँका उद्योगी तथा व्यवसायीहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया