Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ कसुर मुद्दाका फरार व्यक्तिहरु पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिहरु पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महानगरीय अपराध महाशाखा मीनभवनले बैंकिङ कसुर मुद्दाका दुई जना फरक फरक प्रतिवादीहरुलाई पक्राउ गरेको हो । सोमध्ये सीआईबीले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका ३४ वर्षीय सुदिप थापालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार पक्राउ परेका थापाले दिएको चेक बाउन्स भएको मुद्दामा उच्च अदालत पाटनले २०७८ मंसिर १२ मा २० लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजाय हुने फैसला गरेको थियो । सोपश्चात् फरार रहेका प्रतिवादी थापालाई सीआईबीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालत पठाइएको सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार २०७६ फागुनमा थापाले दिएको प्राइम कमर्सियल बैंकको चेक बाउन्स भएपछि पीडितले थापाविरुद्ध प्रहरीले जाहेरी दिएका थिए ।

यसैगरी महाशाखाले पनि बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार बारा जिल्लाका साबिक अमरपट्टी गाविस वडा नं ४ परिवर्तित पञ्चरौता नगरपालिका वडा नं ८ घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने रामएकवाल चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो ।

महाशाखाका अनुसार चौधरी बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी हुन् । चौधरीलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको महाशाखाले जनाएको छ । चौधरीउपर वि.सं. २०७७ चैत २१ गतेको फैसलाले आठ लाख ७५ हजार रुपैयाँ जरिवाना र चार दिन कैदको सजाय हुने ठहर भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया