Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसम्भाव्यता अध्ययनपछि मात्रै धौवादी खानीमा निजी क्षेत्र प्रवेश

सम्भाव्यता अध्ययनपछि मात्रै धौवादी खानीमा निजी क्षेत्र प्रवेश


काठमाडौं, माघ २८
आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको सरकारले धौवादी फलाम खानीमा निजी क्षेत्रलाई समावेश गर्ने तयारी गरेको छ । सरकारले खानीको सम्भाव्यता अध्ययनपछि निजी क्षेत्रलाई समावेश गर्ने तयारी गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले निजी क्षेत्रले सम्भाव्यता अध्ययनपछि मात्रै प्रवेश पाउने बताइन् । ‘सरकारले यसअघि नै सरकारी स्वामित्व ५५ प्रतिशत र निजी क्षेत्रको स्वामित्व ४५ प्रतिशत रहने बताउँदै आएको छ’, उनले भनिन्, ‘सोहीअनुरुप नै हामी अघि बढेका छौँ । निजी क्षेत्र ल्याउने विषयमा मोडालिटी तयारी अन्तिम चरणमा पुगेको छ ।’

सम्भाव्यता अध्ययन भने नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा गर्ने मन्त्रालयले जानकारी दिएको छ । निजी क्षेत्र समावेश गर्ने विषयमा प्रबन्धपत्र समेत निर्माण गरिसकेको मन्त्रालयले जनाएको छ भने पछिल्लो समय खानी तथा भूगर्भ विभागले पुनः फलाम परीक्षणको लागि सो क्षेत्रमा भेटिएका पदार्थहरु चीन पठाएको छ ।

विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले केही महिनाअघि फलाम भए/नभएको परीक्षण गर्ने चीनको छेन्दुमा रहेको फलाम प्रशोधन प्रयोगशालामा पदार्थ पठाएको बताए । ‘पहिलो चरणमा १३ सय किलोग्राम पदार्थ परीक्षणका लागि छेन्दु प्रयोगशालामा पठाएका थियौँ’, उनले भने, पछिल्लो समय भने पाँच हजार केजी पदार्थ परीक्षणका लागि पठाएका छौँ । रिपोर्ट समयमा नै आउँथ्यो तर चीनमा देखापरेको कोरना भाइरसका कारण केही समस्या भएको छ ।

नवलपुर मुसीकोट गाविस वडा नम्बर ५ मा रहने सो खानी उत्खननको क्रममा स्थानीय प्रभावित हुनसक्ने विभागले जनाएको छ । करिब एक सय घरजति प्रभावित हुन सक्ने विभागका एक अधिकारीले बताए । उनले भने, ‘उनीहरुको चाहनाअनुरुप सो स्थानबाट अन्यत्र जान पनि सक्छन् अथवा त्यही पनि बस्न सक्छन् । खानी उत्खननको क्रममा स्थानीयलाई कुनै समस्या हुँदैन ।’

सो खानीबाट प्रतिदिन आठ सय टनका दरले ३० वर्षसम्म फलामा निकाल्न सकिने मन्त्रालयले बताउँदै आएको छ । सरकारले चालू आर्थिक वर्षको लागि एक अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले हाल अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेको जानकारी दिएको छ । ‘धौवादी फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ । धौवादी फलाम खानी लिमिटेड नाममा कार्यालयमा दर्ता भएको छ’, उनले भने, ‘कम्पनी ऐन, २०६३ अनुरुप सो नाममा कम्पनी दर्ता गराएका हौँ ।’

गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले नवलपुरको धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरेको थियो । कम्पनीको जारी पुँजी चार अर्ब र अधिकृत पुँजी दश अर्ब रुपैयाँ रहनेछ । काठमाडौँस्थित भूगर्भ विभाग परिसरभित्र यस कम्पनीको कार्यालयसमेत स्थापना गरिएको छ । कम्पनीको अध्यक्षमा उद्योग मन्त्रालयका सह–सचिव शोभाकान्त पौडेल रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँग फलाम उत्खननलाई तीव्रता दिएको विभागले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया