Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आयोजनाहरुको भौतिक प्रगति तथा पुँजीगत खर्च न्यून र निराशाजनक’

‘आयोजनाहरुको भौतिक प्रगति तथा पुँजीगत खर्च न्यून र निराशाजनक’


काठमाडौं, माघ २८
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्गले विकास निर्माणका आयोजनाहरुको अहिलेसम्मको भौतिक प्रगति तथा पुँजीगत खर्च साह्रै न्यून र निराशाजनक रहेको बताए । सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मतसम्भारसम्बन्धी वार्षिक समीक्षा एवं प्रगति गोष्ठीलाई सम्बोधन गर्दै उनले आयोजना निर्माणका कार्यलाई तीव्रता दिन सरोकारवाला निकायहरुलाई निर्देशन समेत दिए ।

‘हामी गम्भीर बन्न जरुरी छ । हामी जवाफदेही बन्न जरुरी छ । देशको अधिकांश भौतिक निर्माणका जिम्मेवारी हामीले लिएका छौँ । हाम्रो कामबाट मुलुक परिवर्तित हुने भएकाले हामी सबै जिम्मेवार हुनुपछ’, उनले भने । सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शून्यमा बस्न नसक्ने उनको भनाइ थियो । गोष्ठीमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्षित गर्दै मन्त्री नेम्वाङ्गले भने, ‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निकै गम्भीर बनाएको हुनसक्छ । हुनुपर्दछ भन्ने अनुमान गर्छु ।

हामीले कामका सबै क्षेत्रलाई हेर्नुपर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनैपर्छ ।’ राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु समयमा नसकिएको अवस्थामा पुनः म्याद थप नहुने उनले बताए । मन्त्री नेम्वाङ्गले रणनीतिक सडकहरुको मर्मतसम्भार गर्ने कार्य सानो भए पनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गरे । ‘सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासँग जोडिएका हु्न्छन् । जुन काम सानो भए पनि महत्वपूर्ण काम हो, क्षेत्र हो । काम हेर्दा सानो देखिन्छ तर त्यसले पार्ने दूरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ’, उनले भने ।

मुलुकभरका सबै उपभोक्तादेखि नीतिनिर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भीर रुपमा नियालिरहेकाले सडकको निर्माण, मर्मतसम्भारसँग सम्बन्धित जिम्मेवारी वहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गरे । उनले सडक मर्मतसम्भार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गरे ।

‘केही अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घटना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजीवन अस्तव्यस्त भयो भन्ने निकै चासो रह्यो । त्यसो भएका हुनुले यो क्षेत्र प्राथमिकतामा रहनुपर्छ । नयाँ बाटो निर्माण, कालोपत्रे त्यो सँगसँगै मर्मतमा ध्यान दिनु जरुरी छ’, उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया