Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२५ व्यवसायीलाई सीआईपी अवार्ड

२५ व्यवसायीलाई सीआईपी अवार्ड


प्रवीण राउत
काठमाडौं, माघ २९
सरकारले एक विदेशीसहित २५ जना उद्योगी तथा व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) अवार्ड प्रदान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राजधानीमा आयोजना गरेको सीआईपीको सम्मान एवम सुशोभन समारोह कार्यक्रममा १३ विधामा सम्मानित २५ जना व्यवसायीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे ।

उनले नेपालको नेपालको वाणिज्य क्षेत्रमा योगदान बढाउने निर्यातकर्ता, लगानीकर्ता, रोजगारदाता गरी २५ जना व्यवसायीहरुलाई अवार्ड प्रदान गरेका हुन् । मन्त्रिपरिषद्ले गत कात्तिक २९ गते निर्यातकर्ता, लगानीकर्ता, रोजगारदाताहरुलाई सीआईपी अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप अवार्ड वितरण गरिएको मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्यालले बताए ।

अवार्ड प्राप्त गर्नेमा तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम पाँच वस्तुहरुको सबैभन्दा बढी वस्तु निकासी गर्ने व्यवसायीहरु धागोतर्फ रामचन्द्र संघाई, उनी गलैँचातर्फ दोर्जे ग्याल्सेन लामा, तयारी पोशाकतर्फ राहुल मान शाक्य, पश्मिना सलतर्फ सूर्य कुमार गुरुङ्ग, ऊनी फेल्टका उत्पादनतर्फ रविन श्रेष्ठ सिन्या रहेका छन् ।

भारततर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निर्यातकर्ताहरु हरकिरत सिंह बेदी, दिव्यराज सापकोटा, युक्ति गोल्छाले अवार्ड प्राप्त गरेका छन् भने चीनतर्फ रकमको आधारमा प्रथम दोस्रो र तेस्रो स्थान हासिल गर्ने निर्यातकर्ता तथा उद्योगीहरुमा पेम्बा दोर्जे शेर्पा, विश्वराज बस्नेत, मछिन्द्र पाण्डेले समेत अवार्ड प्राप्त गरेका छन् ।निर्यातकर्तासँग दोहोरो नपर्ने गरी नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ता गोपी प्रसाद कँडेल रहेका भन्दै अवार्ड प्रदान गरिएको छ ।

निर्यातकर्तासँग दोहोरो नपर्ने गरी वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य र जडीबुटी क्षेत्रका वस्तुहरुको सबैभन्दा बढी निर्यात गर्नेमध्ये प्रत्येक क्षेत्रबाट एक/एक जनामा कृषिजन्यतर्फ सुजन कुमार श्रेष्ठ, जडीबुटीतर्फ निर्वाण कुमार चौधरीले अवार्ड प्राप्त गरेका छन् । निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तातर्फ राजलक्ष्मी गोल्छाले अवार्ड हात पारिन् भने

सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ताको रुपमा दीपेश प्रधानले अवार्ड प्राप्त गरे । उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने) उत्पादनमूलक उद्योगका उत्कृष्ट व्यवसायीमा विदेशी नागरिक शु कुवाङ तथा सबैभन्दा बढी रोजगारी सिर्जना गरेकोमा पवन कुमार गोल्यानले अवार्ड प्राप्त गरे ।

बैंकिङ्ग प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनीका व्यवसायी चन्द्रप्रसाद ढकाल तथा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायी सुरेश लाल श्रेष्ठले समेत अवार्ड प्राप्त गरे । यता युवा उद्यमी/व्यवसायीहरुमध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने महिलामा सुनिता शेर्पा तथा पुरुषमा अक्षय गोल्यानलाई अवार्ड प्रदान गरियो ।

निर्यात व्यापरका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेखय योगदान पु-याएका नेपाल उद्योग वाणिज्य महासंघ –एफएनसीसीआई) की अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरलाई समेत अवार्ड प्रदान गरिएको छ ।

सम्मानितहरुलाई प्रमाणपत्र तथा सुनको जलपसहितको ब्याज प्रदान गरिएको थियो । सम्मानित व्यवसायीहरुले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग सहज भेटघाट गर्न पाउने, विमानस्थलमा रहेका विशिष्ट कक्ष (भीआईपी) प्रयोग गर्न पाउने, सार्क भिसा सिफारिस, सरकार तथा निजी क्षेत्रबाट हुने कार्यक्रममा निमन्त्रण हुने विदेशमा हुने कार्यक्रममा सहभागी हुन पाउनेलगायतको सुविधा पाउने सचिव अर्यालले बताए । २०७३ यता सीआईपी हुन नसकेकोमा आगामी वर्षहरुमा भने निरन्तर हुने उनले बताए । ‘प्रत्येक दुई/दुई वर्षमा अवार्ड कार्यक्रम हुने भने पनि २०७३ यता हुनसकेको थिएन’, उनले भने, ‘आगामी वर्षमा भने निरन्तर हुनेछ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सरकार निजी क्षेत्रलाई पर्ने असहज अवस्थालाई हटाएर अघि बढ्ने बताए । ‘मुलुकको उद्योगमा लगानी गर्ने, व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्नेलगायत विषयमा निजी क्षेत्रलाई असहज अवस्था भएमा त्यसको समाधान सरकारले गर्छन्’, उनले भने, ‘नियम, कानुनमा समस्या भए सरकारलाई भन्नुहोस् हामी समाधान गरेर अघि बढ्न तयार छौँ । उद्योग दर्तादेखि लिएर सञ्चालन तथा निर्यात लगायतको विषयमा सरकार सहयोग गर्न तयार छ ।’

एफएनसीसीआईकी अध्यक्ष राणाले सरकारबाट प्राप्त अवार्डले व्यवसायीहरुमा हौसला प्रदान गरेको बताइन् । उनले सरकारको समृद्ध नेपाल सुखी नेपाली अभियानलाई निजी क्षेत्रले आत्मसात् गर्दै अघि बढेको बताइन् ।

मुलुकको आर्थिक विकासको लागि सुशासन आवश्यक : प्रम
यसैबीच, सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकले राजनीतिक स्थिरतापछि आर्थिक विकास चाहेको बताए । उनले मुलुकमा राजनीतिक उपलब्धिहरु हासिल गर्नको लागि संविधान निर्माण भएको बताए । ‘राजनीतिक परिवर्तनलाई संस्थागत गर्न संविधानको निर्माण गरेको छौँ’, उनले भने, ‘अबको समय भनेको आर्थिक परिवर्तन हो । आर्थिक विकास, समृद्धि हो ।’

उनले मुलुकको आर्थिक विकास, समृद्धि आर्थिक सुशासनबाट मात्र सम्भव हुने बताउँदै उद्योगी व्यवसायीले नियम, कानुनमा रहेर काम गर्नुपर्नेछ । काम गर्ने खण्डमा असहज अवस्थामा काम गर्नु पर्ने भएमा, नियम कानुनले छेकेमा त्यसलाई सरकार सच्याउन तयार भएको उनले बताए । ‘उनले व्यवसायीहरुलाई मुलुकमा उद्योग सञ्चालन गरी उपभोग्य वस्तुको उत्पादन वृद्धि गर्न, निर्यात वृद्धि गर्न, आयात प्रतिस्थापन गर्न तथा धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया