Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई वर्षमा फेरियो विद्यालयको शैक्षिक गुणस्तर

दुई वर्षमा फेरियो विद्यालयको शैक्षिक गुणस्तर


सुबास बस्नेत
दोलखा, माघ २९
दोलखाको सदरमुकाम चरीकोटदेखि करिब ३० किलोमिटर दूरीको उत्तरी दुर्गम क्षेत्रमा रहेको खारे माध्यमिक विद्यालयले छोटो समयमा विद्यालयको शैक्षिक सुधार गर्न सफल भएको छ । दुर्गम भेगमा रहेको एउटा सिङ्गो गाउँलाई समेटेर निर्माण भएको उक्त विद्यालयले तीन वर्षअघिसम्म एसईईमा प्राय निल जाने गरेको थियो ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेमा रहेको खारे माध्यमिक विद्यालयको शैक्षिक अवस्था खस्कँदै गएपछि सो भेगका अभिभावक चिन्तित र विद्यालयप्रति आक्रोशित थिए । दुई वर्ष पहिले सितापाइला मावि जफेका शिक्षक नरेन्द्र महतको प्रधानाध्यपकको रूपमा खारे माध्यमिक विद्यालय सरुवा भयो । विद्यालयको शैक्षिकस्तर शून्य, विद्यालयका भौतिक संरचना भताभुङ्ग, अनुशासनविहीन विद्यार्थी देखेर सुरुमा महतलाई दिक्क लाग्यो । विद्यालयमा हाजिर भएपछि उनले अभिभावक भेला गरे र विद्यालयको शैक्षिक सुधार गर्न अभिभावक, शिक्षकसँग छलफल चलाए । विद्यालयमा विभिन्न नियम बनाए । विद्यालयको शैक्षिक सुधारसगै भौतिक संरचना निर्माण गर्ने अठोट लिए ।

विद्यालयको पठनपाठनमा कडाइ गर्न थाले पनि सधैँ निल जाने विद्यालयले २०७४ को एसईई परीक्षामा धेरै विद्यार्थीलाई एसईई परीक्षामा पास गराउन सफल भयो । गत वर्षको एसईई परीक्षामा जिल्लाकै उत्कृष्ट १० विद्यालयमा आफ्नो विद्यालय पर्न सफल भएको प्रअ महतले बताए । अहिले उक्त विद्यालय गौरीशंकर गाउँपालिकाभित्रकै उत्कृष्ट विद्यालय घोषण भएको छ । शैक्षिक पाटोमा क्रमशः सुधार हुँदै आएपछि विद्यालयको भौतिक सुधार गर्नतर्फ लागेको प्रअ महतले बताए ।

जिल्ला आयोजना कार्यान्वयन इकाइको करिब साढे दुई करोड बजेटमा चारवटा विद्यालय भवन निर्माण भएका छन् । विद्यालय भवन निर्माणसगै एक सय ९० जना विद्यार्थीको लागि पठनपाठनमा सहजता आएको छ । १५ लाख अनुदानमा पक्की शौचालयको पनि निर्माण भइरहेको उनले बताए । महत सो विद्यालयमा प्रअ भएर आएपछि विद्यालयको मुहार नै फेरिएको स्थानीय सायर विकले बताए । सायरका अनुसार विगत वर्षको एसएलसी तथा एसईई परीक्षामा शून्य नतिजा ल्याउने विद्यालयले गत बर्ष तीन दशमलव ४५ जीपीए नतिजा ल्याएर पालिकाभित्रकै उत्कृष्ट सम्मान थाप्न सफल भएको छ ।

विद्यालयले अहिले विद्यार्थीलाई होस्टेल राखेर तीन समयमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयले अभिभावकको मागअनुसार रात्री कक्षा, दिवा कक्षा र बिहानको कक्षा गरी तीन समय अध्यापन गराइरहेको विद्यालयले जनाएको छ । विद्यालयमा हाल ५ थान कम्प्युटर, डिजिटल सूचना बोर्ड, सीसीटीभीलगायत सम्पूर्ण विज्ञान प्रयोगशालाहरू राखिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया