Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन्दर यातायातका अध्यक्ष परराष्ट्रमन्त्रीको नाममा असुली धन्दामा !

सुन्दर यातायातका अध्यक्ष परराष्ट्रमन्त्रीको नाममा असुली धन्दामा !


काठमाडौं, फागुन १
ठूला र शक्तिशाली व्यक्तिसँग तस्बिर खिचाउने र सोही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने अनि सर्वसाधारणलाई रवाफ देखाएर ठग्ने व्यक्ति नै एक प्रतिष्ठित संस्थाको अध्यक्ष बनेका छन् । त्यस्ता व्यक्ति हुन् भेष बहादुर थापा । गुल्मीको साबिक दुविचौर गाविस हाल रेसुङ्गा नगरपालिकामा उनको स्थायी ठेगाना । सामाजिक सञ्जालमा भेष ‘बीडीआर’ थापा राखेका छन् । उनले फेसबुकमा नियाल्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, ऊर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगैका तस्बिर देखिन्छ ।

सामाजिक सञ्जालमा ठूला मान्छेसँगको तस्बिर देखाउने र सोही तस्बिरका आधारमा आफू ठूलो र शक्तिशाली मान्छेको छत्रछायाँकै हुँ भन्दै सर्वसाधारणबाट असुली धन्दा चलाउनेदेखि होसियार बन्नुपर्ने भएको छ । राजधानीमा विद्युतीय सवारीसाधन चलाउने भन्दै ठूला र शक्तिशाली व्यक्तिसँग फोटो खिचाउँदै फेसबुकमा पोस्ट गर्ने थापा ठगी मुद्दामा जेल बसेर आएका व्यक्ति हुन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ‘मान्छे हुँ’ भन्दै दर्जनौँ युवाहरुलाई मन्त्रीका स्वकीय सचिव खेम ज्ञवालीलाई भेट गराउने त्यसपछि अमेरिका पठाइदिन्छु भन्दै असुली धन्दा चलाउने गरेको पाइएको छ ।

सुन्दर यातायात प्रालिका अध्यक्ष समेत रहेका थापाले सात महिनाअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै अमेरिका पठाइदिन्छु र उतै लुकाइदिने भन्दै चितवनका आकाश थापा र नारायण थापाबाट आठ लाख रुपैयाँ लिएको खुलासा भएको छ । स्थायी घर गुल्मी रहेका थापाले सोही जिल्लाका सांसद समेत रहेका मन्त्री ज्ञवालीको रवाफमा ठगीधन्दा चलाउने गरेको स्रोतको दाबी छ । चितवनको खैरहनी नगरपालिका–३ घर भएका नारायण थापा र आकाश थापालाई अमेरिका लैजान्छु भन्दै जनही १२/१२ लाख माग गरेका थिए ।

मन्त्रालयमा सेटिङ मिलाउन र प्रारम्भिक खर्चको लागि भन्दै थापाले आकाश र नारायणसँग ४–४ लाख रुपैयाँको माग गरेका थिए । अमेरिका जान पाउने भएपछि दुवै जनाले थापालाई पैसा जम्मा गरिदिए । काठमाडौँमा भएका थापाले फोनमार्फत सो रकम आफ्नो बैँक खातामा जम्मा गर्न लगाए र सोहीअनुसार आकाश र नारायणले गरे ।

आर्थिक दैनिकलाई प्राप्त भौचरअनुसार गत पुस १७ गते प्रभु बैंकको टाँडी शाखाबाट भेष बहादुर थापाको खाता नम्बर १३३१०७०१५४२८०००००१ मा २ लाख जम्मा भएको देखिन्छ । सोही खाता नम्बरमा गत साउन १७ गते थप २ लाख जम्मा भएको देखिन्छ । तर, रकम जम्मा भएको लामो समयसम्म अमेरिका जान नपाएपछि पीडित युवाहरुले आफू ठगिएको चाल पाएका थिए । ‘आफूहरु ठगिएको र ठगीको विषयमा सञ्चारमाध्यममा गएर सार्वजनिक गरिदिने धम्की दिएपछि पीडित युवाहरुलाई केही दिनअघि चार लाखको चेक दिएर पठाएका थिए । पीडित युवाहरु चेक लिएर प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालय पुगेका थिए । तर, चेकमा सही नै गलत भएको भन्दै बैंकले फिर्ता पठाएको थियो । तर, पुनः युवाहरुले घटना सार्वजनिक गर्ने धम्की दिएपछि रकम फिर्ता गर्न उनी आफैँ आएका थिए ।

आफूलाई प्रहरी, पत्रकार र सरकारी मान्छेको रुपमा चिनाउँदै लाखौँ ठगी गर्ने गरेका थापाले विभिन्न मुद्दामामिला, हत्या, चोरी, ठगीलगायतका मुद्दाहरु पनि आफूले सजिलै मिलाउन सक्ने भन्दै धेरै मानिसहरुबाट रकम लिने गरेका छन् । सात महिनाअघि मात्र उज्वल उप्रेतीको मुद्दा मिलाइदिन्छु भन्दै डेढ लाख लिएका थिए । उनले तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको बताउँदै मानिसहरुलाई ठगी गर्ने गरेका समेत भेटिएको छ । ज्यान मार्ने मुद्दा मिलाइदिन्छु भन्दै कुमार थापाबाट समेत उनले ४० हजार लिएका स्रोतको दाबी छ ।

अदालती मिलाउनका लागि भन्दै बासु सेढाईंसँग ८० हजार लिएको स्रोत बताउँछ । पर्यटनमन्त्रीको पीएसँग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै विमानस्थलको सटरको ठेक्का समेत आफूले मिलाउने बताएका थिए । त्यसका लागि दिपक थापासँग पर्यटनमन्त्रीको पीएलाई दिनुपर्छ भन्दै ५० हजार लिएका हुन् । तर, मन्त्रीका पीएलाई भने यस्तो कुरा जानकारी नै नभएको स्रोत बताउँछ ।

आफूले चढेको कार समेत अर्का व्यक्तिबाट कब्जामा लिएको पाइएको छ । चितवन घर भएका कुमार थापाको बा.१०च ६५१० नम्बरको फोर्ड फिगो गाडी कब्जा गरी आफूले चढ्दै आएका थिए । मञ्जुश्री फाइनान्समा ऋण लिएर थापाले उक्त गाडी खरिद गरेका थिए । यता, फाइनान्सले भने कुमारको नाममा ३५ दिने सूचना समेत प्रकाशन गरिसकेको छ । एक अनलाइनले गाडी समेत ठगेर चढेको भन्दै समाचार छापेपछि उनले गाडी भने फिर्ता गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया