Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयौन दुराचार अभियोगमा पक्राउ परेका सहकारीका प्रबन्धकको म्यादथप

यौन दुराचार अभियोगमा पक्राउ परेका सहकारीका प्रबन्धकको म्यादथप


काठमाडौं, फागुन २
आफ्नै कर्मचारीलाई यौन दुराचार गरेको अभियोगमा दूरदर्शन बचत तथा ऋण सहकारी संस्था डिल्लीबजारका सचिव एवं प्रबन्धक प्रमोदचन्द अधिकारीलाई महानगरीय प्रहरी वृत्त महिला सेल कालीमाटीले पक्राउ गरी म्यादथप गरेको छ । पीडितका अनुसार पक्राउ परेका अधिकारीलाई माघ २९ गते बुधबारबाट लागू हुने गरी पाँच दिनको लागि म्याद थप गरिएको हो ।

पीडितका अनुसार विगत छ वर्षदेखि उक्त सहकारीमा काम गर्दै आएकी एक युवतीलाई झण्डै एक वर्षदेखि बलात्कार गरी त्यसैलाई आधार बनाएर ब्ल्याकमेल गरी आर्थिक र शारीरिक शोषण गर्दै आएका अधिकारीका कारण पीडा भोग्न बाध्य ती युवतीले आफू बाध्य भएर प्रहरीकहाँ उजुरी गरेको बताएकी छिन् ।

पीडितका अनुसार सुरुका दिनमा संवेदनशील अंगहरु समाउने गरेपछि आफूले बाबु उमेरका मान्छेले के गरेको सर भनेर रिसाएपछि केही दिन रोके पनि पछि आफ्नो हर्कत देखाउन सुरु गरेका थिए । ‘पहिलो दिनको बलात्कारपछि यौनपीपासु अधिकारीले ब्ल्याकमेल गर्न सुरु गरेका थिए’, उनले भनिन् । श्रीमान् र बुबाको डरले अधिकारीका सबै प्रस्ताव स्वीकार्न बाध्य पीडित युवतीले उनले मागेको रकम ब्याजमा खोजेर समेत दिएकी थिइन् । कहीँ कतै घटनाबारे भनेमा सीसीटीभीको फुटेज लगेर श्रीमान् र बुबालाई देखाइदिने धम्की दिएपछि पीडित आफ्नो सर्वस्व गुमाउन बाध्य भएकी थिइन् । लाखौं रुपैयाँ लिइसकेपछि सहकारीमा हिसाब गोलमाल गरेको भन्दै एक करोडभन्दा माथिको कागज समेत अधिकारीले आफूलाई गराएको पीडित युवतीले बताएकी छिन् ।

ब्याजमा ल्याएको पैसा फिर्ता गर्न नसकेपछि साहुले श्रीमान् र बाबुलाई पैसा नदिएको बताएपछि बल्ल उनीहरु छांगाबाट खसेजस्तै भएको पीडितका बुबा बताउँछन् । कुन प्रयोजनका लागि यति ठूलो रकम लियौ भनेर छोरीलाई फकाएर सोध्दा घटनाबारे थाहा भएको बुबा र श्रीमान्को भनाइ छ । विदाको दिनमा समेत बोलाउने गरेका सहकारी सञ्चालक प्रमोदले विवाहको प्रस्ताव गर्दा नमानेपछि बलात्कार गरेको पीडितको आरोप छ । पीडितका श्रीमान्ले पैसा त गयो नै मेरो श्रीमतीलाई न्याय हुनुप-यो भन्दै न्यायको ढोका घच्घच्याइरहेका छन् । सहकारीमा कुनै हस्ताक्षर नचल्ने र दिनहुँ हिसाब बुझाउनुपर्ने साधारण कर्मचारीले कसरी करोड रुपैयाँ हिनामिना गरिन् भन्ने प्रश्न एकातर्फ छ भने अर्कोतर्फ अधिकारीले पहिला पनि अन्य कर्मचारीलाई यौनजन्य क्रियाकलाप गर्न थालेपछि थुप्रैले जागिर छाडेका थिए ।

जागिर छाड्नेमध्येकी एक कर्मचारीले अधिकारीको चरित्रबारे प्रहरीलाई बयान दिँदै आफूहरुलाई पनि प्रयास गर्न थालेकाले जागिर छाडेको बताएकी छिन् । पीडित युवतीले आफूलाई लामो समयसम्म शोषण गरेका अधिकारीले दिएको शारीरिक तथा मानसिक पीडा सहन नसकेर दुई पटक आत्महत्याको प्रयास गरेको पीडितको पारिवारिक स्रोतले बताएको छ । पीडितका अनुसार सहकारीका प्रबन्धक अधिकारीकै कारण परिवारले आर्थिक तथा मानसिक क्षति व्यहोरेको बताएका छन् । यो क्षति पीडकबाट भराई आफू र आफनो परिवारलाई न्याय दिन पनि पीडित युवतीले माग गरेकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया