Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखानी तथा भूगर्भ विभागद्वारा झण्डै तीन अर्ब राजस्व संकलन

खानी तथा भूगर्भ विभागद्वारा झण्डै तीन अर्ब राजस्व संकलन


प्रवीण राउत
काठमाडौं, फागुन २
खानी तथा भूगर्भ विभागले झण्डै तीन अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले पछिल्लो नौ आर्थिक वर्षमा दुई अर्ब ८१ करोड एक लाख ५५ हजार दुई सय रुपैयाँ राजस्व उठाएको जानकारी दिएको हो । विभागका सहसचिव रामप्रसाद घिमिरेले पछिल्लो नौ आर्थिक वर्ष अर्थात् आव २०६७/६८ देखि २०७५/७६ सम्ममा दुई अर्ब ८१ करोड एक लाख, ५५ हजार दुई सय राजस्व उठाएको बताए ।

विभागले छवटा शीर्षक अन्तर्गत उक्त राजस्व संकलन गरेको जनाएको छ । विभागले खानीका लागि इजाजतपत्र तथा नवीकरण दिने, सरकारी विक्ती, अन्य प्रशासनिक सेवा, प्रशासनिक शूल्क दण्ड जरिवानालगायतको शीर्षकमा सो रकम संकलन गरेको बताए ।

‘खानीबाट कच्चा पदार्थ लगायतका सामग्री उत्खनन गर्दा, नक्सा विक्ती, कानुन मिचेको अवस्थालगायतका विषयमा हामीले राजस्व संकलन गर्ने अधिकार छ’, उनले भने, ‘पछिल्ला वर्षहरुमा भने राजस्व संकलनमा केही वृद्धि भएको छ । खानी तथा खनिज पदार्थ नियमावली, २०५६ मा रहेर राजस्व संकलन गर्ने गरेका छौँ ।’

विशेषगरी सिमेन्टलाई आवश्यक कच्चा पदार्थ चुनढुङ्गालगायतका सामग्री उत्खननबाट राजस्व संकलनमा वृद्धि भएको विभागले जनाएको छ । विभागले सबैभन्दा बढी आव २०७४/७५ र सबैभन्दा कम आव २०६७/६८ मा राजस्व संकलन गरेको जनाएको छ । आव ०७४/७५ मा एक अर्ब १३ करोड ९३ लाख ३८ हजार छ सय र आव ०६७/६८ मा जम्मा दुई करोड ४० लाख ३० हजार आठ सय राजस्व संकलन भएको छ । यस्तै आव २०७५/०७६ मा ७७ करोड तीन लाख २३ हजार सात सय, २०७३/७४ मा ४१ करोड ५ लाख ११ हजार, आव २०७२/७३ मा २६ करोड ३० लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको विभागले जनाएको छ ।

विभागले आव २०७१/७२ मा पाँच करोड ८० लाख ४१ हजार पाँच सय, आव २०७०/७१ मा छ करोड ४७ लाख नौ हजार, आव २०६९/७० मा चार करोड ८० लाख एक सय, आव २०६८/६९ मा तीन करोड २० लाख ९८ हजार छ सय राजस्व संकलन गरेको जनाएको छ । राजस्व संकलनमा आव २०७४/७५ को तुलनामा आव ७५/७६ मा ३२ दशमलव ३८ प्रतिशतले कमी आएको विभागले जनाएको छ भने आव ७३/७४ को तुलनामा आव २०७४/७५ मा एक सय ७७ दशमलव ५४ प्रतिशतले बढेको, आव २०७२/७३ को तुलनामा आव २०७३/७४ मा ५६ दशमलव सात प्रतिशतले बढेको, आव २०७१/७२ को तुलनामा आव २०७२/७३ मा तीन सय ५३ दशमलव १८ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको विभागले जनाएको छ । यस्तै आव २०७०/७१ को तुलनामा आव २०७१/७२ मा १० दशमलव ४० प्रतिशतले कमी आएको छ भने आव २०६९/७० को तुलनामा आव २०७०/७१ मा ३४ दशमलव ९६ प्रतिशतले वृद्धि, २०६८/६९ को तुलनामा आव २०६९/७० मा ४९ दशमलव ५४ प्रतिशतले राजस्व संकलन बढेको छ भने आव २०६८/६९ मा भने झण्डै साढे तीन करोड राजस्व संकलन भएको थियो ।

‘गत आवमा दुई करोड ४० लाख ३० हजार आठ सय राजस्व संकलन भएको थियो’, उनले भने । उनले गत आव २०६७/६८ को तुलनामा २०६८/६९ मा ३३ दशमलव ५७ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको बताए । खानी रोयल्टीबापत नौ वर्षको अवधिमा दुई अर्ब ७९ करोड ६६ लाख ५५ हजार आठ सय, सरकारी विक्तीबाट एक करोड तीन लाख २० हजार, अन्य प्रशासनिक सेवा शुल्कबापत छ लाख ८७ हजार आठ सय, प्रशासनिक शुल्क दण्ड जरिवानाबापत १७ लाख १८ हजार नौ सय, अन्य शीर्षकबापत दुई लाख आठ हजार नौ सय र बेरुजुमार्फत प्राप्त पाँच लाख ६३ हजार छ सय गैरकर राजस्व शीर्षक प्राप्त गरेको विभागले जनाएको छ ।

खानी रोयल्टीबापत नौ वर्षमा सबैभन्दा बढी आव ०७४/७५ मा सबैभन्दा बढी राजस्व संकलन भएको छ । सो आवमा खानी रोयल्टबापत एक अर्ब १३ करोड ६२ लाख ३२ हजार एक सय संकलन भएको छ । यस्तै सरकारी विक्तीबाट प्राप्त रकम शीर्षकमा सबैभन्दा बढी आव ०७४/७५ मा ३० लाख १७ हजार छ सय राजस्व संकलन भएको छ भने अन्य प्रशासनिक सेवा शुल्कबापत सबैभन्दा बढी आव ०६८/६९ मा चार लाख आठ हजार संकलन भएको छ । यता नौ वर्षको अवधिमा प्रशासनिक शुल्क दण्ड जरिवाना शीर्षकमा सबैभन्दा बढी आव २०७२/७३ मा आठ लाख ७१ हजार एक सय संकलन तथा अन्य शीर्षकमा सबैभन्दा बढी राजस्व संकलन आव ०७५/७६ मा एक लाख १७ हजार सात सय भएको छ । विभागले पछिल्ला वर्षहरुमा हजारौं उद्योगहरुलाई खनिज खोजतलास तथा उत्खननका लागि अनुमति र नवीकरण प्रदान गरेको जनाएको छ ।

सो नियमावलीअनुसार सुन, चाँदी, तामा, फलाम, चुनढुंगा, माटोलगायतका वस्तुलाई विभिन्न मूल्य राखिएको छ भने खनिज पदार्थलाई अति साना स्तर, साना स्तर, मझौला स्तर र ठूला स्तर भनी वर्गीकरण गरिएको छ । सुन प्रतिग्राम (धातु) सात, चाँदी प्रति किलोग्राम (धातु) एक सय, तामा प्रतिकेजी एक, फलाम प्रतिटन आठ, चुनढुंगा तथा क्यालसाइट प्रतिटन १२ कायम गरेको छ भने पदार्थअनुरुप मूल्य फरक–फरक रहेको छ । यस्तै खनिज पदार्थ उत्खननका लागि अनुभवी व्यक्ति हुनुपर्ने समेत व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया