Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग क्षेत्रको लगानीमा १६ प्रतिशतले कमी

उद्योग क्षेत्रको लगानीमा १६ प्रतिशतले कमी


प्रवीण राउत
काठमाडौं, फागुन ४
नेपालको उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुमार्फत गरिने लगानी स्वीकृतिमा १६ प्रतिशतले कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को पछिल्लो सात महिनाको अवधिमा गत आव (२०७५/०७६) को सोही अवधिको तुलनामा २१ अर्ब ७६ करोड ५० लाख रुपैयाँले लगानी प्रतिबद्धतामा कमी आएको हो ।

चालू आवको सात महिनामा अर्थात् साउनदेखि माघ मसान्तसम्ममा स्वदेशी तथा विदेशी उद्योगीहरुमार्फत मुलुकको उद्योग क्षेत्रमा एक खर्ब नौ अर्ब ७३ करोड ६५ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ । सो लगानी प्रतिबद्धता कुल दुई सय १२ वटा उद्योग स्थापना गर्नको लागि आएको हो ।

विभागका अनुसार गत आवको सोही समय अर्थात् साउनदेखि माघ मसान्तसम्ममा स्वदेशी र विदेशी लगानीकर्ताहरुमार्फत उद्योग क्षेत्रमा एक खर्ब ३१ अर्ब ५० करोड १७ लाख पाँच हजार लगानी प्रतिबद्धता आएको थियो । कुल दुई सय ९३ वटा उद्योग स्थापना गर्नको लागि सो लगानी प्रतिबद्धता आएको हो ।

विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले सो तथ्यांकमा पुँजी वृद्धि समावेश नभएको हुँदा लगानी प्रतिबद्धतामा कमी देखिएको बताउँदै समग्रमा मुलुकमा लगानी बढेको बताए । ‘प्रत्यक्ष विदेशी लगानी (एफडीआई) बढेको छ’, उनले भने, ‘साना तथा घरेलु उद्योग स्थानीय तहमा दर्ता हुने तथा छ अर्बमाथिका लगानी लगानी बोर्डमा जाँदा विभागको तथ्यांकमा केही मात्रामा लगानी कम देखिएको हो ।’

उनले पछिल्लो सात महिनाको अवधिमा करिब तीन अर्बजति मात्र लगानी प्रतिबद्धतामा कमी देखिएको बताए । ‘विभागमा उद्योग सञ्चालनका लागि पाइपलाइनमा रहेको हुँदा मुलुकको उद्योग क्षेत्रमा पुँजी अर्थात् लगानी बढेको छ’, उनले भने, ‘विभाग मात्र नभएर बोर्ड र स्थानीय तहलाई समेत हेर्ने हो भने उद्योग क्षेत्रमा लगानी गत वर्षको तुलनामा वृद्धि भएको छ ।’

विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २०७५ बमोजिम विभागले विदेशी लगानीकर्ताहरुको हकमा उद्योगमा गरिने लगानीमध्ये पाँच करोडदेखि छ अर्बसम्म लगानी स्वीकृति गर्ने गर्छ । चालू आवको सात महिनाको अवधिमा मुलुकको उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामूलक उद्योगमा आएको छ भने सबैभन्दा कम लगानी प्रतिबद्धता कृषिजन्य उद्योगमा आएको विभागले जनाएको छ ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले नेपालको ऊर्जा उद्योगमा ६७ अर्ब ६४ करोड ७४ लाख एक हजार लगानी प्रतिबद्धता जनाउँदा कृषिजन्य तथा वन पैदावरमा ७४ करोड १४ लाख तीन हजार लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले कृषिजन्यमा सातवटा तथा ऊर्जामा २९ वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी प्रतिबद्धता जनाएका हुन् ।

यस्तै लगानीकर्ताहरुले सूचना प्रसारण तथा सञ्चार प्रविधिमा दुई अर्ब ६० करोड ९० लाख, उत्पादनमा १४ अर्ब ४६ करोड ३९ लाख, सेवामा छ अर्ब ७४ करोड पाँच लाख र पर्यटनमा १७ अर्ब ५३ करोड ४२ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सूचना–प्रविधिमा १४ वटा, उत्पादनमा ४६ वटा, सेवामा ३७ वटा र पर्यटनमा ७९ वटा गरी कुल दुई सय १२ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

उद्योग स्थापना गर्ने प्रतिबद्धतासँगै लगानीकर्ताहरुले कृषिमा दुई सय ९२ जना, ऊर्जामा एक हजार एक सय २२ जना, सूचना प्रविधिमा एक हजार चार सय ५२ जना, उत्पादनमा तीन हजार चार सय ९७ जना, सेवामा तीन हजार दुई सय २५ जना र पर्यटनमा चार सय २५ जना गरी कुल १३ हजार छ सय १३ जनालाई रोजगारी दिने समेत विभागलाई जानकारी गराएका छन् ।

यस्तै गत आवको सोही समयमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले कृषि तथा वनजन्यमा एक अर्ब ३८ करोड २३ लाख, निर्माणमा एक अर्ब दुई करोड ४० लाख, ऊर्जामा ७९ अर्ब ६७ करोड नौ लाख, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ३७ करोड ५९ लाख, उत्पादनमा ३७ अर्ब १९ करोड २३ लाख, सेवामा चार अर्ब ९६ करोड ६० लाख र पर्यटनमा छ अर्ब ८७ करोड ७३ लाख लगानी प्रतिबद्धता जनाएका थिए । दुई सय ९३ वटा उद्योेग स्थापना तथा १५ हजार दुई सय ७० जनालाई रोजगारी दिने प्रतिबद्धतासहित लगानीकर्ताहरुले सो लगानी प्रतिबद्धता जनाएका थिए ।

नेपालको उद्योग क्षेत्रमा नेपालीसहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने बताउँदै आएका छन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप चालू आवमा नैैै नेपाली व्यवसायीहरुसहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरु उद्योग सञ्चालनका लागि विभागबाट लगानी स्वीकृत गराउँदै आएका छन् ।

यस्तै चालू आवको पछिल्लो छ महिना र माघ महिनामा आएको लगानी प्रतिबद्धतालाई हेर्दा भने एक महिनाको अवधिमा उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता १८ अर्ब ४२ करोड ७३ लाखले वृद्धि भएको छ । चालू आवको छ महिनाको अवधिमा उद्योग क्षेत्रमा ९१ अर्ब ३० करोड ८७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

नेपाली व्यवसायीसहित उद्योगमा लगानी गर्ने भन्दै रकम स्वीकृत गराउने मुलुकहरुमा भने छिमेकी मुलुक भारत र चीन रहेका छन् भने त्यसपछि क्रमशः अमेरिका, दक्षिण कोरिया, ब्रिटिस भर्जिन आइसल्याण्ड, सिंगापुरलगायतका मुलुक रहेका छन् । विशेषगरी नेपालको ऊर्जा, सिमेन्ट, सेवालगायतका उद्योगमा विदेशी लगानीकर्ताहरुले लगानीको लागि चासो दिएको पाइन्छ भने स्वदेशी लगानीकर्ताहरुले ऊर्जा, सिमेन्टका साथै पर्यटन, कृषि, सूचना प्रविधि, हस्तकलालगायतका उद्योगीहरुमा लगानी गरेको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया