Techie IT
×
गृहपृष्ठbreakingचिनियाँ लगानीकर्ताको रोजाइमा नेपाली उद्योग क्षेत्र

चिनियाँ लगानीकर्ताको रोजाइमा नेपाली उद्योग क्षेत्र

नेपाल र चीनबीच विविध सञ्जालमार्फत ‘कनेक्टिभिटी’ बढ्दै जानुले लगानी चासो वृद्धि भएको हो : महानिर्देशक तिवारी


काठमाडौं । नेपालको उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी गर्नेमा चिनियाँ लगानीकर्ताहरु छन् । पछिल्ला वर्षहरुमा चिनियाँ लगानीकर्ताहरु नेपालको उद्योग क्षेत्रमा आकर्षित हुनथालेका हुन् । उनीहरु भारतीय लगानीकर्तालाई पछि पार्दै सबैभन्दा बढी लगानी गर्ने लगानीकर्ता बन्न सफल भएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले आर्थिक दैनिकलाई बताए । नेपालको उद्योग क्षेत्रमा भारत, अमेरिका, सिंगापुरलगायतका मुलुकका लगानीकर्ताहरुले धेरै लगानी प्रतिबद्धता व्यक्त गर्दै आएकोमा पछिल्ला वर्षमा भने चिनियाँ लगानीकर्ताहरु आकर्षित भएको उनको भनाइ छ ।

यसैबीच, चालू आर्थिक वर्षको सोमबारसम्ममा चीन, स्पेन, अमेरिकासहित १७ वटा मुलुकमार्फत नेपाली उद्योग क्षेत्रमा ३८ अर्ब ५५ करोड ३० लाख लगानी प्रतिबद्धता आएको छ । सो लगानी प्रतिबद्धता एक सय ६३ वटा उद्योग स्थापना तथा नौ हजार सात सय ४८ जनालाई रोजगारीसहितको प्रतिबद्धता हो ।

चालू आर्थिक वर्षको सोमबार सम्ममा २४ अर्ब ८२ करोड लगानी गर्ने प्रतिबद्धता चिनियाँ लगानीकर्ताहरुले व्यक्त गरेका छन् । एक सय २३ वटा उद्योग स्थापना तथा सात हजार छ सय १७ जनालाई रोजगारी दिने प्रतिबद्धतासहित उनीहरुले सो लगानी प्रतिबद्धता गरेका हुन् । चीनपछि स्पेन, संयुक्त राज्य अमेरिकी, भारत, सिंगापुर, अष्ट्रेलिया, इटाली, बेलायत, ताइवान, नेदरल्यान्ड्सका लगानीकर्ताहरुले सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाएका छन् ।

चालू आर्थिक वर्षको सोमबारसम्ममा स्पेनले चार अर्ब ८५ करोड, अमेरिकाले तीन अर्ब ५९ करोड ८९ लाख, भारतले दुई अर्ब ८९ करोड ३८ लाख, सिंगापुरले एक अर्ब, अष्ट्रेलियाले ४२ करोड, इटलीले २१ करोड, बेलायतले १६ करोड २५ लाख, ताइवान १२ करोड, नेदरल्यान्ड्सले १० करोड ६२ लाख उद्योग क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले १० वटा र अष्ट्रेलिया र इटलीले क्रमशः तीन//तीन वटा र स्पेन, अमेरिका, सिंगापुर, बेलायत, ताइवान, नेदरल्यान्ड्सले क्रमशः एउटा उद्योगका लागि सो लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग स्थापनासँगै रोजगारीको प्रतिबद्धता गरेका ती मुलुकहरुमध्ये भारतले छ सय सात जना, अमेरिकाले पाँच सय ७३ जना, सिंगापुरले एक सय ५७ जना, इटलीले एक सय ४२ जना, अष्ट्रेलियाले एक सय १२ जना, बेलायतले ९६ जना, ताइवानले ७७ जना, नेदरल्यान्ड्सले ५३ जना र स्पेनले २९ जनालाई रोजगारी दिने बताएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा पनि चीन, सिंगापुर, अमेरिका, भारत, बेलायत लगायतका मुलुकबाट उद्योग स्थापनाका लागि लागानी प्रतिबद्धता आएका थिए । कोभिड–१९ कारण अवस्था सामान्य बन्न नसक्दा उक्त अवधिमा कम लगानी आएको महानिर्देशक तिवारीले बताए । गत आर्थिक वर्षको सोही अवधिमा उनीहरुले ३६ अर्ब ३८ करोड ६५ लाख लगानी प्रतिबद्धता जनाएका थिए । सो लगानी प्रतिबद्धता एक सय ५३ वटा उद्योग तथा चार हजार सात सय नौ जनालाई रोजगारी दिने उद्देश्यसहितको प्रतिबद्धता हो ।

गत आर्थिक वर्षको सोही अवधिमा क्रमशः चीन १८ अर्ब ९९ करोड ५० लाख, सिंगापुर १० अर्ब ४३ करोड ७४ लाख, अमेरिका एक अर्ब ८८ करोड, भारत ८२ करोड, बेलायत २५ करोड र ताइवानका लगानीकर्ताहरुले पनि २५ करोड उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता व्यक्त गरेका थिए । इटली, स्पेन, अष्ट्रेलिया र नेदरल्यान्ड्सका लगानीकर्ताले भने लगानी प्रतिबद्धता जनाएका थिएनन् । विदेशी तथा स्वदेशी लगानीकर्ताको हकमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग विभागमा दर्ता हुन्छन् भने विदेशी लगानीकर्ताको हकमा लगानी गर्दा पुँजीको न्यूनतम सीमा पाँच करोड रुपैयाँ कायम गरिएको छ भने माथिल्लो सीमा भने तोकिएको छैन ।

भारतीय, अमेरिकन, सिंगापुरका लगानीकर्तालाई पछि पार्दै चिनियाँ लगानीकर्ताहरुले बढी लगानी चासो देखाउनुमा भने नेपाल–चीनबीच सडक, हवाइलगायतका सञ्जालहरु जोडिनु रहेको महानिर्देशक तिवारीले बताए । ‘नेपाल–चीनबीच विविध सञ्जालमार्फत ‘कनेक्टिभिटी’ बढ्दै जानुले गर्दा लगानी गर्ने चासो बढेको हो’, महानिर्देशक तिवारीले आर्थिक दैनिकसँग भने, ‘अर्कोतर्फ नेपालमा चिनियाँ लगानीको परियोजनाहरु बढ्दै गएको पाइन्छ । जसले गर्दा उनीहरुले नेपाललाई थप नजिकबाट अध्ययन गर्न पाएका छन् । त्यसैले गर्दा चिनियाँ लगानी बढ्नु स्वाभाविक मान्न सकिन्छ ।’ यसैबीच, उनीहरुमार्फत ठूला उद्योगका लागि भन्दा साना र मझौला उद्योगहरुको स्थापनाका लागि प्रतिबद्धता आएको पाइन्छ । ‘ठूला उद्योगहरुमा चिनियाँ लगानी नआएको भने होइन तर तुलनात्मक रुपमा साना तथा मझौला उद्योग तथा व्यवसायका लागि लगानी आएका छन्’, उनले भने, ‘यसलाई वृद्धि गर्न तथा ठूला उद्योगका लागि लगानी ल्याई उद्योग सञ्चालन गर्ने वातावरण बनाउनु आवश्यक छ ।’


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया