Techie IT
×
गृहपृष्ठbreakingरूपान्तरणकारी आयोजनाको खर्च बढ्दै

रूपान्तरणकारी आयोजनाको खर्च बढ्दै

३ आर्थिक वर्षका लागि झण्डै ३ खर्ब आवश्यक


काठमाडौं । रुपान्तरणकारी आयोजनाका लागि लागत बढ्ने निश्चित भएको छ । राष्ट्रिय योजना आयोगले रुपान्तरणकारी आयोजनाका लागि अघिल्लो वर्षहरुमा लागेको लागतभन्दा झण्डै दोब्बरले लागत बढ्ने आकलन गरेको छ ।

रुपान्तरणकारी आयोजना निर्माणका लागि तीन आर्थिक वर्ष (२०७८/०७९ देखि २०८०/०८१) सम्ममा दुई खर्ब ८९ अर्ब ६८ करोड लाग्ने आयोगको प्रक्षेपण रहेको छ । रुपान्तरणकारी आयोजनाभित्र कुल १६ वटा परियोजनाहरु रहेका छन् । समय बढ्दै जाँदा लागतमा समेत वृद्धि भएको आयोगका अधिकारीहरुको भनाइ छ ।

आर्थिक वर्ष २०७६/०७७ मा रुपान्तरणकारी आयोजनाको सञ्चालनका लागि २८ अर्ब ६१ करोड ५४ लाख खर्च लागेकोमा अब सो लागत रकमले आयोजना अघि बढ्न सम्भव नहुने आयागले दाबी गरेको छ । रुपान्तरणकारी आयोजना निर्माण गर्नका लागि आर्थिक वर्ष २०७७/०७८ मा २२ अर्ब ७४ करोड ६८ लाख (संशोधित अनुमान), आर्थिक वर्ष २०७८/०७९ मा ७१ अर्ब ४० करोड ८८ लाख, आर्थिक वर्ष २०७९/०८० मा एक खर्ब चार अर्ब दुई करोड र आर्थिक वर्ष २०८०/०८१ मा एक खर्ब ४२ अर्ब ५५ करोड लागत लाग्ने अनुमान गरिएको छ । आयोजना सञ्चालनका लागि यसअघि अर्बमा सीमित रकमले पुग्नमा आगामी दिनमा खर्ब बढी रकम आवश्यक पर्ने देखिन्छ । रुपान्तरणकारी आयोजनाभित्र आधारभूत आवश्यकताका साथै विकास निर्माण, औद्योगिक विकास, व्यवस्थित सहर लगायतका क्षेत्रहरु समेटिएको पाइन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, समृद्धिका लागि वन, जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम, औद्योगिक पूर्वाधार विकास कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम, राष्ट्रपति महिला सशक्तीकरण परियोजना, गल्छी–त्रिशूली– मैलुङ– स्याफ्रुबेसी– रसुवागढी सडक आयोजना, पूर्वपश्चिम राजमार्ग स्तरोन्नति आयोजना, सासेक राजमार्ग सुधार आयोजना, क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजना, काँकडभिट्टा इनरुवा पथलैया नारायणघाट खण्ड, नयाँ सहर अयोजना, सहरी करिडोर आयोजना, प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम, १३२ के.भी तथा अन्य प्रसारणलाइन विस्तार, अपर अरुण जलविद्यत् आयोजना कम्पनी लिमिटेड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग आयोजनाहरु रुपान्तरणकारी आयोजनाहरु हुन् ।

आगामी आर्थिक वर्षका लागि कृषि, वन, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक, भूमि व्यवस्थापन, महिला सशक्तीकरण, राजमार्ग, व्यापारिक क्षेत्र, सहर, राष्ट्रिय परिचयपत्रलगायतका अत्यन्त आवश्यकदेखि नागरिक र मुलुकको समृद्धिका लागि रुपान्तरणकारी आयोजनामा लगानी बढाएको देखिन्छ ।

यसैबीच कुल गार्हस्थ्य उत्पादनमा योगदान, विषयगत क्षेत्रगत उपलब्धिमा योगदान, रोजगारी सिर्जना, बृहत् लाभान्वित जनसंख्या एवं विषय क्षेत्रगत र प्रादेशिक सन्तुलन कायम गर्ने आधारमा स्थानीय तहदेखि नै सबल अर्थतन्त्रको आधार सिर्जना गर्न र प्रादेशिक सन्तुलन कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्न बृहत् प्रभावी र विशिष्ट प्रकृतिका आयोजनालाई रुपान्तरणकारी आयोजनाको रुपमा छनोट गरी १५औँ योजनामा उल्लेख गरिएको छ । जसलाई अघि बढाउने काममा सरकार निरन्तर लागिरहेको छ । सरकारी ढिलासुस्तीकै कारण रुपान्तरणकारी आयोजनाले निश्चित अवधिमा सम्पन्न भने हुनसकेको छैन । आयोजनाहरु सम्पन्न भएको खण्डमा भने नागरिक र राज्यले नै समृद्धिको आभास गर्ने थिए ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया