Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापार घाटा छ खर्ब ३७ अर्बमा सीमित

व्यापार घाटा छ खर्ब ३७ अर्बमा सीमित


सुरेश राउत
काठमाडौं, फागुन ५
विगतको समयमा बढ्दै गएको व्यापार घाटामा संकुचन आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिनाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ को छ महिनासम्ममा कुल वस्तु व्यापार घाटा छ दशमलव एक प्रतिशतले संकुचन भई छ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँमा सीमित रहेको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा व्यापार घाटा ३२ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आवको छ महिनामा कुल वस्तु निर्यात २६ दशमलव एक प्रतिशतले बढेर ५७ अर्ब २८ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव आठ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ आठ दशमलव पाँच प्रतिशत र अन्य मुलुकतर्फ तीन दशमलव आठ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा भने पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाललगायतका वस्तुको निर्यात बढ्दा जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तारलगायतका वस्तुहरुको निर्यात घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको छ महिनामा कुल वस्तु आयात चार प्रतिशतले घटेर छ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० दशमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात नौ दशमलव एक प्रतिशतले घट्दा चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव एक र शून्य दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढ्दा एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

चालू आवको पछिल्लो छ महिनामा भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाहरुबाट गरिएको निर्यातमा भने कमी आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाहरुबाट भएको आयातमा कमी आएको राष्ट्र बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दशमलव दुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दशमलव तीन प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा : शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा मुलुकको शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको छ महिनासम्ममा ५५ करोड ९५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको छ ।

यसैगरी चालू आवको छ महिनामा मुलुकको चालू खाता घाटा ८४ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ५२ अर्ब १६ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको छ महिनासम्ममा एक अर्ब ३३ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ७४ करोड ३९ लाख रहेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ४६ करोड र प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब २० करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ३६ करोड रहेको थियो ।

रेमिट्यान्समा सामान्य सुधार, छ महिनामा भित्रियो चार खर्ब ४७ अर्ब २६ करोड रेमिट्यान्स
वैदेशिक रोजगारीबाट प्राप्त रकम रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाहमा सामान्यरुपमा सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा विप्रेषण आप्रवाह शून्य दशमलव नौ प्रतिशतले बढेर चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३० दशमलव दुई प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १७ दशमलव छ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिअन्तर्गत संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १७ दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७ दशमलव तीन प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा शून्य दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या चार दशमलव पाँच प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर आय शून्य दशमलव एक प्रतिशतले बढेर पाँच खर्ब छ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८ दशमलव सात प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया