Techie IT
×
गृहपृष्ठbreaking८ अर्ब बढी खर्च, झण्डै ६७ प्रतिशतद्वारा मतदान

८ अर्ब बढी खर्च, झण्डै ६७ प्रतिशतद्वारा मतदान


काठमाडौं । निर्वाचन आयोगले शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचन छिटफुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहजनक भएको बताएको छ । शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा करिब ६७ प्रतिशतले मतदान गरेको आयोगको प्रारम्भिक तथ्यांक रहेको छ ।

एक करोड ७७ लाख ३३ हजार सात सय ३३ जना मतदात रहेकोमा प्रारम्भिक तथ्यांकअनुरुप एक करोड १८ लाख ८१ हजार पाँच सय जनाले मतदान गरेका छन् । शनिबारसम्म संकलन भएको प्रारम्भिक तथ्यांकअनुरुप सो संख्यामा मतदातले मतदान गरेको पाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आर्थिक दैनिकलाई बताए । प्रदेशगतको हकमा भने प्रारम्भिक तथ्यांकअनुरुप कर्णालीमा मतदात सहभागिताको संख्या उच्च छ भने बाँकी प्रदेशहरुमा ६५/६६ प्रतिशत मतदाताले मतदान गरेका छन् । कर्णालीमा ७० प्रतिशतले मतदान गरेका छन् भने बाँकी प्रदेशहरुमा ६५/६६ प्रतिशतले मतदान गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

२०७४ मा भएको स्थानीय तह निर्वाचनको तुलनामा यस वर्ष ३६ लाख ५९ हजार तीन सय नौ जना मतदाता संख्या बढेर सो संख्यामा मतदाता पुगेका हुन् । शुक्रबार भएको निर्वाचननका लागि महिलाभन्दा धेरै पुरुष मतदाता रहेका थिए । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदानकेन्द्रमा मतदान स्थगित भएको छ । उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएबाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगको तयारी छ ।

यसैबीच स्थानीय तह निर्वाचनका लागि हालसम्म प्रारम्भिक तथ्यांकअनुरुप आठ अर्ब ११ करोड रुपैयाँ खर्च भएको प्रवक्ता पौडेलले बताए । ‘खर्चको आकार बढ्ने निश्चित छ तर पूर्ण रुपमा स्थानीय तह निर्वाचनको लागत, मतदान, मतगणना लगायतका पूर्ण विवरण नआइसकेको अवस्थामा सो खर्च देखिएको हो’, उनले भने । आयोगले यसपालिको निर्वाचनको लागि आठ अर्ब ९५ करोड रुपैयाँ अर्थ मन्त्रालयसमक्ष माग गरेको थियो भने मन्त्रालयले आठ अर्ब ११ करोड रुपैयाँ मात्र सुनिश्चितता गरेको थियो ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनका लागि १० हजार सात सय ५६ मतदान स्थलमा २१ हजार नौ सय ५५ वटा मतदान केन्द्र राखिएको थियो । सबैभन्दा धेरै मतदात क्रमशः बाग्मती, प्रदेश नम्बर १, मधेश, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका थिए भने मतदान केन्द्र सबैभन्दा धेरै क्रमशः मधेश, बाग्मती, प्रदेश नम्बर १, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका थियो ।

निर्वाचन सम्पन्न भएका अधिकांश स्थानमा शुक्रबार साँझ र शनिबार बिहानैदेखि मतगणना कार्य भने जारी राखेको र निर्वाचन परिणाम समेत सार्वजनिक भइरहेको छ । मतगणना कार्य करिब तीन दिनसम्म जारी रहने बताइएको छ ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया