Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउत्साहपूर्वक उद्योगी व्यवसायीहरुले गरे मतदान

उत्साहपूर्वक उद्योगी व्यवसायीहरुले गरे मतदान


काठमाडौं । स्थानीय तहको निर्वाचनमा उद्योगी व्यवसायीहरुले पनि उत्साहपूर्ण रुपमा सहभागिता जनाएका छन् । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा आफनो मतदान केन्द्रमा गई अधिकांश उद्योगी–व्यवसायीहरुले मतदान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाडौँको सितापाइला स्कुलबाट मतदान गरेका छन् । मतदानपछि ट्वीटरमा गोल्छाले लेखेका छन्, ‘मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।’

त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौँको थापाथलीको गुह्येश्वरी माविबाट मतदान गरेका छन् । उनले मतदान पछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘भोट हालियो, आशा गरौँ हाम्रो एक एक भोटले काठमाडौँको मुहार फेरिने छ ।’

उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका छन् ।

अर्का उद्योगी तथा व्यवसायी हाउस अफ राज खेतानका अध्यक्ष राजेन्द्र खेतानले ललितपुरको सानेपास्थित टीका विद्यालयबाट मतदान गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले काठमाडौँ महानगरपालिका–१ नारायणी हिटी दरबार मतदान केन्द्रबाट मतदान गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले भोट गरेँ, के तपाईंले गर्नुभयो ? यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।’

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघसहित उद्योगी व्यवसायीहरुको टोलीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न मतदान केन्द्रको निर्वाचन पर्यवेक्षण समेत गरेका थिए । निर्वाचनमा सक्रिय सहभागिता जनाउनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग प्रतिष्ठानमा बिदा नै दिएको थियो । यस्तै, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको थियो ।

संविधान घोषणापछि दोस्रो पटक हुनलागेको निर्वाचनमा सक्रिय सहभागिता जनाउनु र सहभागिता जनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै व्यावसायिक संघसंस्थाले सार्वजनिक रुपमा नै आह्वान गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया