Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : प्रम मोदी

नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : प्रम मोदी


लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन् । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उनले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताएका छन् । वक्तव्यमा उनले ‘मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो’ भनेका छन् ।

प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आइतबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै छन् । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत छन् ।

प्रधानमन्त्री मोदीलाई अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालयनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा. आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ । आजै दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया