Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको कुल निक्षेप ४९ खर्ब ४९ अर्ब पुग्यो

बैंकिङ क्षेत्रको कुल निक्षेप ४९ खर्ब ४९ अर्ब पुग्यो

लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव नौ प्रतिशत कर्जा घरजग्गाको धितोमा


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ४९ खर्ब ४९ अर्ब रुपैयाँ पुुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित कुल ६१ वटा संस्थाहरुले चालू आर्थिक वर्षको यही वैशाखको तेस्रो सातासम्ममा उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् ।

उक्त निक्षेपमध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप ४३ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप पाँच खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र कर्जा ४१ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम पाँच खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेप भने पाँच दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेप १२ दशमलव तीन प्रतिशतले बढेको छ ।

२०७८ चैत मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव सात प्रतिशत, २८ दशमलव सात प्रतिशत र ५६ दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३५ दशमलव एक प्रतिशत र ४८ दशमलव एक प्रतिशत रहेको थियो । २०७८ चैत मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८ दशमलव छ प्रतिशत रहेको छ । २०७७ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४१ दशमलव सात प्रतिशत रहेको थियो ।

राष्ट्र बैैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने १३ दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७ दशमलव आठ प्रतिशतले बढेको छ । यसैगरी चालू आवको पछिल्लो नौ महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३ दशमलव एक प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ दशमलव आठ प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह २७ दशमलव तीन प्रतिशतले बढेको छ ।

२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव नौ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव नौ प्रतिशत र १२ दशमलव तीन प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६ दशमलव नौ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौ दशमलव सात प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा सात दशमलव आठ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७ दशमलव छ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २२ दशमलव दुई प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १७ दशमलव तीन प्रतिशतले, रियलस्टेट कर्जा ११ दशमलव नौ प्रतिशतले बढेको छ । यो कर्जामा व्यक्तिगत आवासीय घरकर्जा समेत समेटिएको राष्ट्र बैैंकको भनाइ छ ।

हायर पर्चेज कर्जा भने पछिल्लो अवधिमा चार दशमलव छ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ४९ दशमलव नौ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले घटेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया