Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि वैदेशिक लगानीलाई स्वीकृति

दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि वैदेशिक लगानीलाई स्वीकृति


काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण हुनलागेको दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारणलाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ ।

भारत सरकारले प्रसारणलाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारणलाइन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति दिएको छ । न्यू बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्न विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेशन अफ इन्डियाको ५०÷५० प्रतिशत सेयर स्वामित्व (इक्विटी) रहने गरी संयुक्त कम्पनी स्थापना हुने छ । नेपालतर्फको प्रसारणलाइन भने प्राधिकरण आफैँले गर्नेछ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ स्थिति न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारणलाइनको लम्बाइ करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ । कम्पनीको ५० प्रतिशत इक्विटीको हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो । कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरणको बराबर नै लगानी रहने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको जानकारी दिए । ‘कम्पनी संस्थापनाका लागि प्रबन्धपत्र र नियमावली तयारी अवस्थामा छन्, अब प्राधिकरणले भारतबाट वैदेशिक लगानीको स्वीकृति पाएसँगै कम्पनी संस्थापनाको प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।

नेपाल–भारत ऊर्जासचिव तथा सहसचिवस्तरीय संयन्त्रको २७–२८ असोज २०७६ मा भएको सातौँ बैठकले प्रसारणलाइन निर्माणको लगानी स्वरुपलाई टुङ्गो लगाएको थियो । अनुमानित लागत करिब ४ अर्ब ६२ करोड भारु (७ अर्ब ३९ करोड रुपैयाँ) रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइनेछ । कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रसारणलाइन निर्माणका लागि ठेकेदार छनोटका लागि बोलपत्र डकुमेन्ट बनाउने काम भइरहेको छ, तीन वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अगाडि बढाएका छौँ ।’ प्राधिकरण र पावर ग्रिडबीच भदौ २०७८ मा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो ।

मन्त्रिपरिषद्को १९ साउन २०७८ को बैठकले बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारणलाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । नेपाल खण्डको प्रसारणलाइन नेपाल आफैँले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०÷५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्नेछन् । करिब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने क्षमताको प्रसारणलाइन निर्माण गर्न लागिएको हो । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तर्देशीय ४०० केभी प्रसारणलाइनभन्दा बुटवल–गोरखपुर प्रसारणलाइनले झण्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया