Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध : स्वदेशी खाद्य उद्योग बन्द हुने अवस्थामा

भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध : स्वदेशी खाद्य उद्योग बन्द हुने अवस्थामा


विराटनगर । दुई दिनअगाडि मात्र भारत सरकारले निर्यात गर्दै आएको गहुँमा निर्यात प्रतिबन्ध लगाएपछि सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन रहेका बिस्कुट उद्योगदेखि चाउचाउ र नुडल्स उद्योगहरु नराम्रोसँग प्रभावित हुनथालेका छन् ।

भारत सरकारले भारतमा उत्पादन हुने गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि पछिल्लो समय विश्वव्यापीरूपमा नै गहुँको मूल्य ह्वात्तै बढेको जानकारी सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले गराएका छन । नेपालमा सञ्चालन हुँदै आएका बिस्कुट उद्योगदेखि चाउचाउ उद्योग र नुडल्स उद्योगले आफ्नो उद्योग सञ्चालनका लागि आवश्यक पर्ने गहुँको आयात भारतबाटै गर्दै आएको कुरा करिडोरका उद्योगीले बताएका छन् । तर पछिल्लो दुई दिनअगाडि भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेपछि अब उद्योग नै बन्द गर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

भारत सरकारको गहुँ निर्यातमा प्रतिबन्धको निर्णयसँगै अहिले नेपालमा गहुँको मूल्यमा एक्कासि उच्च वृद्धि आएपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको सुनसरी मोरङ औद्योगिक करिडोरमा चाउचाउ उद्योग सञ्चालन गर्दै आएका उद्योगी तथा उद्योग संगठन मोरङका कोषाध्यक्ष विपिन कावराले जानकारी दिए ।

सुनसरी मोरङ औद्योगिक करिडोर मात्रै नभएर पूरै देशमा सञ्चालन रहेका चाउचाउ उद्योगका लागि गहुँको आयात भारतमाथि नै निर्भर रहेको जानकारी पनि करिडोरका उद्योगीले गराएका छन् । तर भारत सरकारले गत साता आन्तरिक बजारमा मूल्य बढेको भन्दै अब भारतबाट गहुँको निर्यात रोक्ने निर्णय गरेको थियो । यति बेला भारतमा मात्रै नभएर विश्वबजारमा नै गहुँको मूल्य ६० प्रतिशतभन्दा बढीले उकालो लागेको अवस्था रहेको दाबी समेत करिडोरका उद्योगीले गर्न थालेका छन् । यसरी मूल्य वृद्धि हुँदा उत्पादित वस्तुको लागत मूल्य बढ्न जाने भएकाले महंगीको मारमा उपभोक्ता पर्ने निश्चित भएपछि उद्योगीले आफ्नो उत्पादन नै कटौती गर्ने अवस्था आएको जानकारी पनि करिडोरका उद्योगीले दिएका छन् ।

भारतलगायत नेपालमा गहुँको प्रयोग रोटी बनाउनेदेखि चाउचाउ, बिस्कुट र नुडल्स लगातका खाद्य वस्तु उत्पादन गर्दै आएका उद्योगहरुले अत्यधिक मात्रामा प्रयोग गर्ने गरेका छन् । निर्यात प्रतिबन्ध लगाउँदै भारतको केन्द्र सरकारले देशको खाद्य आवश्यकता पूर्ति गर्न निर्यात बन्द गरिएको बताए पनि भारतीय सरकारी अधिकारीहरूले यो प्रतिबन्ध स्थायी नभई अस्थायी मात्र भएको भन्दै गर्दा भविष्यमा भारत सरकारले गहुँको निर्यात खोल्छ कि भन्ने झिनो आशा मात्र नेपाली उद्योगीमा देखिएको छ ।

भारत सरकारले भारतको गहुँ निर्यात प्रतिबन्ध लगाउने निर्णय गरेसँगै जी सेभेनको सभामा समेत विश्व बजारका सबै मुलुकले आफ्नो आवश्यकता पूरा गर्न निर्यात बन्द गर्ने हो भने आगामी दिनमा अन्तर्राष्ट्रिय रुपमा नै नराम्रो स्थिति आउनसक्नेतर्फ अहिलेदेखि नै सचेत रहन सदस्यराष्ट्रहरुले आग्रह समेत गरेका छन् । खासगरी, रुस–युक्रेन युद्धका कारण यति बेला विश्वभर नै गहुँको आपूर्ति व्यवस्था खलबलिएको प्रति सचेत रहन पश्चिमा राष्ट्रहरुले आग्रह गरेका छन् । गहुँमा भएको मूल्यवृद्धिसँगै भारतले आन्तरिक माग पूरा गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि नेपाली पाम उद्योग नै बन्द हुने गरी इन्डोनेसियाले पाम तेलको निकासी पूर्णरुपमा रोकेको थियो । जसको कारण आन्तरिक बजारमा तेलको मूल्य एक्कासि बढेर गएको थियो । जुन अहिलेसम्म पनि देशमा अनियन्त्रित रुपमा तेलको मूल्यवृद्धि भइरहेको भन्दै करिडोरका उद्योगीले अब गहुँको प्रतिबन्धसँगै नेपाली चाउचाउ, बिस्कुट र नुडल्सको मूल्य पनि अनियन्त्रित बन्ने अवस्थामा पुगेको भन्दै उद्योगीले चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले सरकारले भारतसँग वार्ता गरी अविलम्ब गहुँ आयातको वातावरण बनाउन पनि आग्रह गरेका छन् । अन्यथा बजार अनियन्त्रित भई उपभोक्ता महंगीको चपेटामा पर्ने निश्चित छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया