Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा कम्पनीहरूले पाए मर्जरको लागि सैद्धान्तिक सहमति

बीमा कम्पनीहरूले पाए मर्जरको लागि सैद्धान्तिक सहमति


प्रवीण काठमाडौँ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले थप तीनवटा जीवन बीमा कम्पनीहरुलाई मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलका अनुसार जेठ ३ गते अर्थात् मंगलबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई मर्जर अर्थात् एकआपसमा गाभ्न र गाभिनको लागि सैद्धान्तिक सहमति प्रदान गरिएको हो ।

पछिल्लो पटक थप भएका समेत गरी मर्जरको लागि सैद्धान्तिक अनुमति पाउने बीमा कम्पनीहरुको संख्या आधा दर्जन पुगेको छ । प्रवक्ता पौडेलका अनुसार यसअघि अर्थात् यही वैशाख २३ गते पनि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरिएको थियो । ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम ती सबै कम्पनीहरुलाई मर्जरको लागि सैद्धान्तिक सहमती प्रदान गरिएको समितिले जानकारी दिएको छ ।

समितिले साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न पनिे निर्देशन दिएको छ । ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा सैद्धान्तिक सहमति प्रदान गरेको हो । समितिले २०७८ चैत १० गते बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै न्यूनतम चुक्ता पुँजी वृद्धिसम्बन्धी व्यवस्था कार्यान्वयनका ल्याएको थियो । उक्त व्यवस्थाअनुसार जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुले दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्नुपर्नेछ । यसको लागि समितिले सोही दिन अर्थात् २०७८ चैत १० गतेकै मितिबाट एक महिनाभित्र न्यूनतम चुक्ता पुँजीवृद्धिको योजना पेस गरिसक्न निर्देशन दिएको थियो ।

तोकिएको समयमा न्यूनतम चुक्ता पुँजीवृद्धि गर्न र उक्त समयमा न्यूनतम चुक्ता पुँजी कायम गर्न नसक्ने कम्पनीहरुको हकमा भने समितिले मर्जरलाई बाध्यकारीजस्तै बनाएको थियो । अहिले नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र दुईवटा पुनर्बीमा समितिका ४१ बीमा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । सम्झौताअनुसार तीनवटा जीवन बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार गरेको खण्डमा कुल जीवन बीमा कम्पनीहरुको संख्या १७ वटा कायम हुने भने कुल बीमा कम्पनीहरुको संख्या घटेर ३९ वटामा सीमित हुनेछ । यसैगरी दुईवटा निर्जीवन बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार गरेको खण्डमा बीमा कम्पनीहरुको संख्या घटेर ३८ मा झर्ने्छ भने निर्जीवन बीमा कम्पनीहरुको संख्या १९ वटामा सीमित हुनेछ ।

तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का
तीनवटा बीमा कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार मर्जरसम्बन्धी प्रक्रियाको लागि प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको यही जेठ ३ गतेको निर्णयअनुसार सेयर कारोबार रोक्का भएको छ । नेप्सेका अनुसार तीनवटा कम्पनीहरुले यही वैशाख २९ गते मर्जरको लागि औपचारिरुपमा सम्झौता गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया