Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभौतिक उपस्थितिविना नै श्रम स्वीकृति

भौतिक उपस्थितिविना नै श्रम स्वीकृति


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको लागि आवश्यक पर्ने श्रम स्वीकृति अबदेखि प्रविधिमैत्री हुने बताएको छ । नयाँ व्यक्तिगत श्रम स्वीकृति अनलाइनमार्फत दिने तयारीसँगै श्रम स्वीकृति प्रविधिमैत्री अर्थात् भौतिक उपस्थितिविना हुने भएको हो । आगामी जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको वैदेशिक रोजगार कार्यालय, तहाचलका प्रमुख रमेश अर्यालले जानकारी गराए ।

कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट गरेको थियो । सोसँगै कार्यालयमा दैनिक हुने हजारौँको भीड हटेको थियो । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरुपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।

वैधानिकीकरणमार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जाने कामदारसरह श्रम स्वीकृति दिने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएकोले अब वैधानिकीकरणमार्फत श्रम स्वीकृति नहुने तर सो प्रकृतिका काम नयाँ व्यक्तिगत श्रम स्वीकृतिबाट हुने कार्यालयले जनाएको छ ।

नयाँ व्यक्तिगत श्रम स्वीकृतिको लागि अनलाइनमा अपलोड गर्नुपर्ने कागजातहरु भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, अनलाइनबाटै म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण रहेका छन् । श्रम स्वीकृति नलिई घरेलु कामदारको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सिफारिसपत्र पनि अपलोड गर्नुपर्छ ।

वैदेशिक रोजगारको नाममा भिजिट भिसामा गएका एवम् व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरु अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति बढेकोले सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा कडाइ गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका, २०६९ को प्रक्रियाबमोजिम सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण गरी ल्याउने देश साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स रहेकोमा २०७९ वैशाखदेखि सरकारले क्रोयसिया, पोल्याण्ड, रोमानिया, हंगेरी, बेलारुस, माल्दोभा, अल्वानिया र स्लोभाकियालाई थप गरेको छ ।

प्रमाणीकरणका लागि नेपाली राजदूतावासमा रोजगारदाता कम्पनी वा स्पोन्सरले पेश गर्नुपर्ने कागजातहरु राहदानीको प्रतिलिपि, भिसाको प्रतिलिपि, करार वा सम्झौतापत्रको प्रतिलिपिलगायतका विवरण रहेका छन् । यी कागजात सम्बन्धित व्यक्ति र वैदेशिक रोजगार कार्यालयको इमेलमा आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले इमेलमा प्राप्त कागजात आफैँले प्रिन्ट गरी अनलाइनमा अपलोड गर्नुपर्छ ।

कार्यालयले रोजगारीको लागि विदेश जाँदा पहिले श्रम स्वीकृति लिएर मात्र हवाइ टिकटको व्यवस्था गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । केही सेवाग्राहीले श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन गरेकै दिन विदेश जाने गरी टिकट लिएको पाइएकोले यस्तो आग्रह गरिएको कार्यालय प्रमुख रमेश अर्यालले बताए ।

पूर्ण रुपमा अनलाइनबाट श्रम स्वीकृतिको काम गर्दा आवेदनको क्रमसंख्याअनुसार श्रम स्वीकृतिको काम हुने भएकोले पछाडिको आवेदनलाई अगाडि ल्याउन सकिँदैन । अधिकांश सेवाग्राहीको अनलाइन आवेदन गरेको दिनमा नै श्रम स्वीकृति हुने गरी काम भए पनि केही सेवाग्राहीको कागजात अपुग हुने, अस्पष्ट हुने लगायतका कारणले आवेदन अस्वीकृत गर्नुपर्ने हुन्छ । यस्ता आवेदनमा म्यासेज पठाएर विवरण प्राप्त गर्दा समय लाग्ने तथा कहिलेकाहीँ सर्भरलगायत प्राविधिक कारणले समस्या हुनसक्ने भएकोले तीन कार्य दिनअगाडि अनलाइन फाराम भर्न कार्यालय प्रमुख अर्यालले जानकारी गराए ।

श्रम स्वीकृतिको लागि अनलाइनमा आवेदन सकभर आफैँले वा आफन्तमार्फत भर्न र घरमा नभई अन्यत्र अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी नठगिन कार्यालयले सबै सेवाग्राहीलाई आग्रह गरेको छ । श्रम स्वीकृति गर्दा म्यादी जीवन बीमाको शुल्क उमेरअनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि एक हजार पाँच सय रुपैयाँ शुल्क लाग्ने कार्यालयले जनाएको छ । जीवन बीमा र कल्याणकारी कोष समेत गरी ३५ वर्षसम्मका लागि पाँच हजार दुई सय आठ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि छ हजार चार सय ३१ रुपैयाँ र ५१ वर्षदेखि माथिका लागि १० हजार नौ सय ६३ रुपैयाँ मात्र शुल्क लाग्छ । अनावश्यक व्यक्तिले सजिलै हुने र हुँदै नहुने काम मिलाइदिन्छु भन्दै रकम मागेमा ठाडै इन्कार गर्न र सम्बन्धित नियामक निकाय वा श्रम कल सेन्टर वा वैदेशिक रोजगार विभाग र कार्यालयमा सोको जानकारी गराउन पनि कार्यालय प्रमुख अर्यालले आग्रह गरे ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको इमेलमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल प्रयोग गर्न कार्यालयले भनेको छ ।

यसैबीच, वैदेशिक रोजगारी पछिल्लो समय भने सामान्य अवस्थामा फर्किएको बताइएको छ । जसका कारण श्रम स्वीकृति लिने युवाहरुको संख्या वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीको लागि एक लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकोमा चालू आर्थिक वर्षको १० महिनामा पाँच लाख बढीको श्रम स्वीकृति भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया