Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाको ९ मध्ये ६ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक

दोलखाको ९ मध्ये ६ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक

कांग्रेस, एमाले २/२ र माओवादी, समाजवादी १/१ पालिका प्रमुखमा विजयी


दोलखा । जिल्लाको नौ स्थानीय तहमध्ये छवटाको मतपरिणाम सार्वजानिक भएको छ । छवटा स्थानीय तहको मतपरिणाम सार्वजानिक हुँदा कांग्रेस र एमालेले दुई/दुई र माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । भीमेश्वर नगरपालिका, शैलुङ र विगु गाउँपालिकामा भने मतगणना जारी छ ।

जिल्लाको वैतेश्वर गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका छवि लामा र उपप्रमुखमा कल्पना उप्रेती विजयी भएका हुन् । प्रमुखमा लामाले पाँच हजार दुई सय ९९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी एमालेका माधव प्रसाद घिमिरेले तीन हजार एक सय ७२ मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका लक्ष्मण खड्काले दुई हजार आठ सय ६३ मत प्राप्त गरेका छन् । लामा गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् । उनले आफूले सुरु गरेका केही अधुरा कामहरू बाँकी रहेकोले त्यसलाई पूरा गर्नका लागि दोस्रो पटक अध्यक्ष बनेको बताएका छन् । उनको कार्यकालमा गाउँपालिकाभित्र विकास निर्माणका धेरै आयोजनाहरू सुरु भएका थिए ।

त्यस्तै पालिकाको उपाध्यक्षमा उप्रेतीले पाँच हजार दुई सय ७३ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका कल्याण दाहालले दुई हजार सात सय १८ र एमालेका छविलाल मोक्तानले दुई हजार ६७ मत प्राप्त गरेका छन् । यहाँ सुरुमा सत्तागठबन्धनअनुसार नै प्रमुख र उपप्रमुखमा साझेदारी गरेर जाने निर्णय भए पनि अन्तिममा नेकपा माओवादी केन्द्रले विवाद झिकेपछि कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने गठबन्धन गरेका थिए । यस्तै नेकपा एमाले पनि एक्लै निर्वाचनमा होमिएको थियो । यसैगरी गाउँपालिकामा १, २, ३ र ६ गरी चार वडाको वडा अध्यक्षमा कांग्रेस विजयी भएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुई/दुई वडामा विजयी भएको छ । माओवादी केन्द्रले वडा नम्बर ५ र ७ तथा एमालेले वडा नम्बर ४ र ८ मा जित हात पारेको हो ।

तामाकोशीको प्रमुखमा समाजवादी र उपप्रमुखमा कांग्रेस
तामाकोशी गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीका जिल्लासचिव प्रोणप्रताप केसी र उपप्रमुखमा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि सिर्जना सुवेदी विजयी भएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले विजय हासिल गरेको यस पालिका अहिले गठबन्धनले खोसेको हो । गठबन्धनका साझा उम्मेदवार केसीले पाँच हजार चार सय ९० मत प्राप्त गरी विजयी हुँदा एमालेका अभिषेक सुवेदीले तीन हजार चार सय ६६ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा निर्वाचित भएकी सुवेदीले पाँच हजार चार सय ४१ मत ल्याउँदा एमालेकी पोखरेलले तीन हजार तीन सय ५१ मत मात्रै ल्याइन् । तामाकोशी गाउँपालिकामा वडा नम्बर ३, ४ र ६ गरी तीनवटा वडा कांग्रेसले जितेको छ भने एमालेले वडा नम्बर १ र ७ गरी दुईवटा र माओवादी केन्द्रले वडा नम्बर ५ मा जित हासिल गरेको छ । यस्तै वडा नम्बर २ मा भने नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका ईश्वर कार्कीले वडाध्यक्ष जितेका छन् ।

जिरी नगरपालिकामा एमाले विजयी
जिरी नगरपालिकामा नेकपा एमाले मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका मित्र जिरेलले मेयर र कृष्णमाया बुढाथोकी उपमेयरमा विजयी भएका हुन् । जिरीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिएनन् । जिरेलले नेपाली कांग्रेसका लाक्पा शेर्पा र माओेवादी केन्द्रका गेल्वु शेर्पालाई पराजित गर्दै दुई हजार तीन सय तीन मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार लाक्पाले दुई हजार पाँच सय ६५ र गेल्वुले १९ सय ६५ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा विजयी बुढाथोकीले तीन हजार दुर्ई सय १३ मत पाएका छिन् । नगरको वडामा भने माओवादी केन्द्रले बढी मात्रामा वडा अध्यक्षमा विजय हासिल गरेको छ । माओवादी केन्द्रले वडा नम्बर २, ३, ७ र ८ गरी चारवटा वडा जितेको छ । यस्तै नेपाली कांग्रेस र एमालेले दुई÷दुई वडा र एकीकृत समाजवादीले एउटा वडामा जित निकालेको छ । कांग्रसले १ र ५, एमालेले ४ र ९ र एकीकृत समाजवादीले ६ नम्बर वडामा जित हासिल गरेका हुन् ।

मेलुङमा पनि एमाले : दोलखाको मेलुङ गाउँपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको छ । नेकपा एमालेका उम्मेदवार हिरा थोकरले चार हजार चार सय ४२ मत प्राप्त गरी पालिका प्रमुखमा विजयी भएका छन् भने उपप्रमुखमा गायत्री आचार्यले चार हजार एक सय ४७ मत पाएर विजयी भइन् ।

थोकरका प्रतिस्पर्धी गठबन्धनकका तर्फबाट उम्मेदवार बनेका एकीकृत समावजादीका रवीन्द्र कार्कीले दुई हजार सात सय तीन मत प्राप्त गरे भने उपप्रमुखका प्रत्यासी नेपाली कांग्रेसका भक्त बहादुर तामाङले दुई हजार एक सय ७५ मत प्राप्त गरेका छन् । सातवटा वडा रहेको मेलुङ गाउँपालिकामा नेकपा एमालेले १, ३, ४ र ७ गरी चारवटा वडामा जितेको छ भने गठबन्धनले तीनवटामा जित हासिल गरेको छ । तीन वडामध्ये समावजादीले वडा नम्बर २, माओवादीले वडा नम्बर ५ र वडा नम्वर ६ मा कांग्रेस विजयी भएको हो ।

गौरीशंकरमा गठबन्धन : गौरीशंकर गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै गठबन्धन विजयी भएको छ । यस गाउँपालिकको प्रमुखमा नेकपा माओवादी केन्द्रका विश्वास कार्की र उपप्रमुखमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका हुन् ।

प्रमुखमा गठबन्धनका उम्मेदवार कार्कीले चार हजार सात सय ५१ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका जंग गुरुङले तीन हजार सात सय ५७ मात्रै मत पाए । यस्तै उपप्रमुखमा कांग्रेसका तामाङले चार हजार सात सय ४१ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी मुना शिवाकोटीले तीन हजार दुई सय ८१ मत ल्याइन् । यस्तै गौरीशंकरको अधिकांश वडामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रले वडा नम्बर १, २, ३, ७ र ८ गरी पाँचवटा वडामा जित हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले वडा नम्बर ४, ६ र ९ गरी तीनवटा वडा र नेकपा एमालले वडा नम्बर ५ मा जित हासिल गरेको छ ।

कालिञ्चोकको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी
दोलखाको कालिञ्चोक गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको साझा उम्मेदवार बनेका नेपाली कांग्रेस दोलखाका उपसभापति समेत रहेका अर्जुन शिवाकोटीले गाँउपालिका प्रमुख जितेका हुन् । यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक कुल बहादुर बुढाथोकी उपप्रमुखमा निर्वाचित भएका छन् । बुढाथोकी यसअघिको निर्वाचनमा प्रमुखमा नेकपा एमालेका विनकुमार थामीसँग पराजित भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया