Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले करोडौं ठगे

नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले करोडौं ठगे


काठमाडौं । मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काविरुद्ध ठगीको आरोपमा नेपाल प्रहरी अपराध महाशाखामा उजुरी परेको छ ।

म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले कम्पनीको फाइदा पाँच करोड ६० लाख रुपैयाँ अध्यक्ष खड्काले आफूहरुलाई विभिन्न बहाना बनाएर नदिएकाले उजुरीमा गएको बताएका छन् ।

सञ्चालकहरु भट्टराई र क्षेत्रीले दर्ता गरेको उजुरीमा ‘२०७५/११/०६ मा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता कायम भएको म्याक्रो टेक प्रालि रजिष्ट्रेसन नं. २०८८९७ कायम रहेको संस्थाको हामी संस्थापक सेयर सदस्य एवं सञ्चालक रहेको उल्लेख छ ।

यो कम्पनीले बायोमेडिकल सिष्टमसम्बन्धी कार्य गर्दछ । यो कम्पनीको कार्यालय का.म.न.पा.–३, महारजगञ्जमा रहेको छ । यस कम्पनीको बैंक खातामा बायो मेडिकल सिष्टम सर्भिस चार्जको रकम प्रतिमेडिकल १०० आरएम (रु. ३१६४।–) जम्मा हुने गर्दछ र सो रकमबाट प्रतिमेडिकल रु. १० कम्पनीले प्राप्त गर्दछ । यसप्रकार हालसम्म यो कम्पनीले करिब ६५ करोडबराबरको नगद कारोबार गरिसकेको छ । कम्पनीको आम्दानी करिब पाँच करोड ६० लाख जति हुन आउँछ । कोभिड–१९ को अवधिमा मेडिकलको काम बन्द भएको थियो भने हाल मलेसियाको बायोमेडिकल स्वास्थ्य परीक्षण सुरु भएसँगै प्रतिमेडिकल तीन हजार एक सय ६४ रुपैयाँ लिने कार्य पनि सुरु भइरहेको छ ।

यसप्रकार हामीले कार्य गर्दै जाँदा तत्कालीन वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका हाम्रो पार्टनर तथा नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष समेत भएका कैलाश खड्काले हामीलाई मलेसियाको विभिन्न बहाना देखाई हामीलाई हाम्रो लगानी र सेयरबापत पाउने रकम र कम्पनीले प्राप्त गरेको सम्पूर्ण नाफा रकम पूरै दिन्छु भनी म शालिकराम क्षेत्रीको ५० प्रतिशत सेयर पूरै र म मुकुन्द भट्टराईको ४५ प्रतिशत सेयर आफ्नो नाममा नामसारी गरे ।

हामीले सेयर नामसारी गर्दा कम्पनीको बैंक खातामा करिब ४५ करोड रुपैयाँ थियो । त्यसैले हाम्रो हस्ताक्षर नभई बैंकका रकम झिक्न निकाल्न मिल्दैन । त्यसैले हाम्रो अवधिमा हामीले कमाएको रकम सञ्चित मुनाफाको रुपमा बैंकमा नै सुरक्षित छ र कैलाश खड्का आफ्नो हस्पिटलको पार्टनर भएको र महासंघको अध्यक्ष समेत भएकोले हामीले पूरा विश्वास ग-यौँ ।

कोभिडपश्चात् कम्पनीको आर्थिक कारोबार सुरु भएपछि हामीले सेयरबापत पाउनुपर्ने रकम, बैंकमा भएको हाम्रो मुनाफा हामीले पटक–पटक माग गर्दा हामीलाई दिनुभएन । उल्टै हामीलाई नेता, पुलिस प्रशासनको डर–धम्की देखाई, गलत सुन्नै नसकिने शब्द प्रयोग गरेर गाली गर्ने, मैले ठूला नेता र पुलिस चिनेको छु, कर कार्यलयको हाकिम चिनेको छु, सम्बन्धित ठाउँमा घुस खुवाएर सबै कुरा मिलाउँछु भनी आजको दिनसम्म हामीले नियमसंगत रुपमा पाउनुपर्ने रकम दिनुभएको छैन ।

र, हामीले हामी सञ्चालक भएको समय खाता सञ्चालन गरेको बैंक मेगा बैंक कलंकी शाखा, खाता नं. ०७८००१००४४६४५ र सनराइज बैंक, गैरीधारा, काठमाडौं, खाता नं. ००२६५९४७२०७०१००१ मा गएर बुझ्दा कम्पनीको एक जना सञ्चालक समिति बनाई हाम्रो सहमतिविना हाम्रो हस्ताक्षर परिवर्तन गरी रकम झिकेको पाइयो ।

हाल पाँच प्रतिशत सेयर रहेको म मुकुन्द भट्टराईलाई हालसम्म कम्पनीको कुनै पनि कागजातमा सहीछाप नगराई, साधारणसभासम्बन्धी कुनै जानकारी नगराई एकल निर्णयबाट एक जनाको सञ्चालक समिति बनाई हामीले पाउनुपर्ने सेयर रकम र सञ्चित मुनाफा रकम समेत बैंकबाट झिकी रकम हिनामिना गरेकोले उक्त बैंकको खाता रोक्का गरी कम्पनीको यथार्थ लेखापरीक्षण गरी नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने रकम कट्टा गरी करिब पाँच करोड रकम असुलउपर गराई सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाही गराई पाऊँ भनी श्रीमान् समक्ष यो निवेदन पेश गरेका छौँ ।

साथै नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष समेत रहेका कैलाश खड्काले व्यवसायीबाट अवैध रुपमा रकम असुल गरी ठगी गरेको र अकुत सम्पत्ति आर्जन गरी राजस्व छली गरेको व्यवसायीलाई बाध्यतामा पारी अर्बौँ रकम ठगी गरेकोले आवश्यक अनुसन्धान गरी हामीजस्ता पीडित सबैलाई न्याय प्रदान गर्नुहुन विनम्र अनुरोध गर्दछौं” भनी उजुरी दर्ता गराएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया