Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्न आग्रह

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्न आग्रह


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणकार्य यही वर्षबाट सुरु गर्न आग्रह गरेका छन् । संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जलासययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना चालू आबबाट नै सुरुआत गर्नेगरी कार्य अगाडि बढाउन अनुरोध गरेका हुन् ।

यस्तै उनले उक्त आयोजनामा गण्डकी प्रदेश सरकारको पनि लगानी साझेदारी हुने वातावरण बनाउन माग गरेका छन् । कम लागतमा उच्च प्रतिफल दिने, गण्डकी प्रदेशको साथै राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने उत्तरगंगा जलासययुक्त जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन पनि उनले आग्रह गरे । प्रदेश सरकारको समेत लगानी साझेदारी हुनेगरी संघीय सरकारले आव २०७९/८० बाट यो योजना कार्यान्वयनमा लैजान मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । यस्तै उनले गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमार्फत समुन्नत राष्ट्र निर्माणका लागि महत्वपूर्ण योगदान पु-याउन तथा अन्तरप्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि संघको बजेटमा समेट्नै पर्ने गण्डकीका योजनाको सूची प्रधानमन्त्रीलाई बुझाएका छन् । पोखरेलले बुझाएको ध्यानाकर्षणपत्रमा राष्ट्रिय विकास तथा अन्तरप्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तरप्रदेश विकासमा समेत महत्वपूर्ण हुनसक्ने आयोजनाहरूमा संघ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने, आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरुरी रहेको उल्लेख छ ।

राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजना सञ्चालित क्षेत्रमा निर्बाधरूपमा आयोजना सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आवश्यक कानुन तथा मापदण्ड विकासको गरी निर्बाधरूपमा त्यस्ता आयोजना सञ्चालन हुने अवस्था विकास हुनुपर्ने उनले माग गरेका छन् । यस्तै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय प्रवद्र्धन गर्न दुवै प्रदेशको समन्वय र लगानीमा, संघ सरकारको समेत साझेदारीमा मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माणको योजना समेट्ने मुख्यमन्त्री पोखरेलले माग गरेका छन् । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने र पोखराको मुख्य आकर्षक फेवातालको संरक्षण र विकासको लागि फेवाताल संरक्षण र विकास गुरूयोजना कार्यान्वयनको लागि लगानी सुनिश्चित हुनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । गण्डकी प्रदेशसँग जोडिएका तीनवटा अन्तर्राष्ट्रिय नाकाहरू मुस्ताङको कोरला, नवलपरासीको त्रिवेणी र गोरखाको लार्के सीमा नाकामा भन्सार पूर्वाधार विकास गरी नेपाल चीन दुईदेशीय व्यापार तथा वाणिज्य प्रवद्र्धन गर्नुपर्ने मुख्यमन्त्रीले आग्रह गरेका छन् ।

यसैगरी गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माणको लागि लगानी गर्नुपर्ने, धार्मिक पर्यटकीय क्षेत्र देवघाटको प्रवद्र्धन गर्न गण्डकी प्रदेशको तनहुँ र नवलपुर तथा बागमती प्रदेशको चितवन जोड्ने गरी त्रिकोणात्मक मोटरेबल पुल निर्माणका लागि उनले माग गरेका छन् । पर्यटकीय राजधानी पोखरा र नेपालको राजधानी काठमाडौं जोड्ने द्रुतमार्ग विकासका साथै वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रे गर्न मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन गर्न साझेदारीमा लगानी सुनिश्चित हुने वातावरण विकासका लागि समेत मुख्यमन्त्रीले पोखरेलले आग्रह गरे । धार्मिक महत्व बोकेको पवित्र नदी कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र यसको बहुपक्षीय विकासको लागि लगानी गर्नुपर्ने, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनका लागि मासिकरूपमा रकम सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउन आगामी बजेटमा व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

मनाङको नार्पाभूमि गाउँपालिका अहिलेसम्म सडक सञ्जालसँग नजोडिएको र विकट भएकाले प्रदेश सरकारको क्षमता नपुग्ने हुँदा केन्द्रीय योजनामा समावेश गर्न ध्यानाकर्षण पत्रमार्फत अनुरोध गरिएको छ । नवलपुरको गैंडाकोटमा वीपी अन्तर्राष्ट्रिय खेलग्राम र नवलपुरमै ट्रमा सेन्टर स्थापनाका लागि पनि केन्द्र सरकारले बजेट विनियोजना गरिदिन उनले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय तहको समृद्धिमा नै समग्र मुलुकको समृद्धि निर्भर रहेको भन्दै गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने बताए । उनले उक्त ध्यानाकर्षणपत्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने र सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्रीसँगै प्रदेशका कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापा पनि सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया