Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह


काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।

नेपालका लागि मलेसियाका चार्ज डी अफेयर्स मोद फजले विन अवु हसनसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा सोमबार भेटवार्ता गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरूले पहल गर्ने बताए । अध्यक्ष मल्लले भने, ‘नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ । रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ । झण्डै चार लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन् । श्रम सहकार्यसँगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौँ ।’

नेपाल र मेलेसियाबीच लगानी सम्बन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने अध्यक्ष मल्लले बताए । नेपालमा खासगरी पर्यटन, जलविद्युत, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । मलेसियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट आफूहरूले पनि पहल गर्ने अध्यक्ष मल्लले प्रतिबद्धता जनाए ।

मलेसियाका चार्च डी अफेयर्स हसनले लगानीका लागि आफूहरू तयार रहे पनि प्रतिफलको सुनिश्चिततासम्बन्धी कानुन स्पष्ट हुन नसकेको बताए । उनले भने, ‘मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ । हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन । तर प्रतिफलसम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौँ ।’ मेलेसियाले अहिले पनि लाखौँ नेपाली युवाहरूलाई रोजगारी दिएको स्मरण गराउँदै हसनले आगामी दिनमा यो संख्या थप बढ्न सक्ने बताए ।

जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको हसनको भनाइ छ । नेपाल र मलेसियाबीच निजी क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक रहेकोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जोड दिए । खासगरी अन्तर्राष्ट्रियस्तरको मेलामा एक अर्काको मुलुकका व्यावसायिक क्षेत्रलाई पनि प्रतिनिधित्व गराउन सकिए आर्थिक सम्बन्ध थप मजवुत हुने अध्यक्ष मल्लको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया